३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

१६ लाख विदेशी पर्यटक आउलान् ?


६ असार २०८१, बिहिबार  


सरकारले बजेटमा भन्यो, “आउँदो आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याइन्छ,पर्यटन क्षेत्रमा नयाँ रोजगारी सिर्जना गरिन्छ।” बजेटमा फ्याट्ट बोलेको सरकारले विदेशी पाहुना ल्याउने सकिने सामथ्र्यको बारेमा भने बोलेन। यो बजेटको प्रवृत्ति, कमजोरी या स्वभाविक प्रक्रिया हो या होइन, त्यो फरक बहस गरौला।तर, विदेशी पाहुना सरकारले यति बोलिदिना वित्तिकै आइहाल्छन् त? पक्कै पनि आउँदैनन्। किनकी पर्यटनमैत्री वातावरण महत्वपूर्ण हुन्छ, मानवीय रुचि र जाँगर जगाउँने वातावरण, नीति कार्यक्रम र योजना नभइ पाहुना ह्वारह्रवार्ती पक्कै आउँदेनन्। अहिलेसम्म सरकारले भनेकै भरमा विदेशी पर्यटक आएको तथ्यांक र अनुभव कतै भेटिन्न पनि ।

सरकारले आर्थिक वर्ष २०८१८२ मा १६ लाख पर्यटक भित्र्याउने उदघोष गरेपछि यस विषयमा हामीले पर्यटन विज्ञ शरद प्रधानलाई सोधेका थियौ, यस विषयमा पर्यटन विज्ञ प्रधान भन्छन,“यद्यपि सरकारले पूर्वाधार र वातावरण बनाउन सरकारले सक्ने हो, भने २० लाख पर्यटकलाई सहजै थेग्न सक्ने होटेल होमस्टेको क्षमता छ।” लामो समय नेपाल पर्यटन बोर्डमा मिडिया विभागमा बसेर अनुभव गरेका प्रधानले भने जस्तै गुणस्तरीय बासस्थान दिन सक्ने क्षमता निजी क्षेत्रसंग भएकोले १६ लाख पर्यटकलाई बसाउन कठिन नहोला ।तर, मुल विषय पूर्वाधारको अवस्था भने निकै दयनीय छ।

तर,ताप्के नताति बीँड मात्रै तातिएर त सम्भव छैन र हुन्न। यद्यपि सरकारी बजेट होस्, या पर्यटनका महाअभियानमा पनि सरकारले यस्ता लाख लाख पर्यटक ल्याउने सपना देख्न र बाँड्न भने छोडेको छैन। पर्यटनको इतिहास १९५३ मे २९ देखि भएपनि पर्यटनमा प्रगति खासै देखिन्न हाम्रो। सूचना प्रविधिको विकास, मानवीय रुची, सोचाइ, जिज्ञासा र प्रवृत्तिहरुमा धेरै बदलाव आइसक्यो। सन साठीको दशकको तस्विर हेरेर हामी अझै विदेशी पर्यटक ल्याउँछौ भनिरहेको छ, सरकारले । यस्ता सार्वजनिक खपतका वितरित सरकारी सपनाहरु भने नयाँ र नौला होइनन्, रहेनन् पनि ।

सन १९५९ मा पहिलो पटक पर्यटन सम्बन्धी नीति प्रारम्भ गरेको यो राज्यले झण्डै चालिस वर्षपछि अर्थात सन १९९८ मा पहिलो पटक भ्रमण वर्ष आयोजना ग¥यो। ७ लाख पर्यटक ल्याउने भनेको थियो, त्यत्तिबेला सरकारले। जतिबेला मुलुकमा प्रजातन्त्रको पुर्नस्थापना भइ खुला विश्व समाजमा प्रवेश गरेको थियो नेपाल। त्यसको १३ वर्षपछि फेरि सरकारले भन्यो, “ हामी १० लाख विदेशी पाहुना भित्र्याउँछौ, करिब दैनिक १३ दिन बसाल्छौ, औसतमा ६० अमेरिकी डलर खर्च गराउँदछौ।” सरकारको सपना पनि ठिकै थियो।तर, ७ लाखको आसपासमा आए विदेशी पर्यटक, करिब ५० डलर खर्च गरेर ९ दिन बसेका थिए।

त्यसको फेरी ९ वर्षपछि सरकारले एउटा महा अभियान छेड्यो, जसलाई भ्रमण वर्ष २०२० भनियो। भ्रमण वर्ष २० मा २० लाख पर्यटक ल्याउने संकल्प गरेपनि त्यसैपछि कोरोना महामारीले पर्यटन उठ्नै नसक्ने गरी ढल्यो। सरकारी लगानी र सपनाहरु सबै सबै छिन्नभिन्न भए। पर्याप्त तयारी भने सरकारको त्यत्तिबेला पनि थिएन, यद्यपि निजी क्षेत्रले भने राम्रै तयारी गरेको थियो। २० लाख पर्यटकलाई आवासको बन्दोबस्त गर्न सकिनेमा निजी क्षेत्र ढुक्क थियो। पर्यटक ल्याउन निजी क्षेत्र तयार भएर मात्रै पनि सम्भव छैन र हुन्न। त्यसको लागि सरकारले समयसापेक्ष नीति तथा कार्यक्रम बनाउनुपर्छ। अहिलेसम्म ३६ वर्ष बनेको पर्यटन ऐन २०३५ कार्यान्वयनमै छ। बागमतीमा धेरै पानी बग्यो। विश्व समाज, सूचना प्रविधि र रुचीहरुमो धेरै बदलाव आएपनि हामी उही पुरानै ऐन हेरेर पर्यटन प्रवद्र्धन गरिरहेका छौ, पर्यटन रणनीति २०६५ पनि छ। पर्यटन भिजन २०२० होस् या राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६ २०२५ पनि कार्यान्वयनमा छ। यीनै नीति र ऐनहरुका पाना पल्टाएर १६ लाख विदेशी पाहुना ल्याउने सरकारले सपना देखेको छ। तर,संसदमा विचाराधीन संघीय पर्यटन ऐन अलपत्र छ।

पूर्वाधारमा विशेष लगानी बढाउनुपर्दछ। सरकारले लगानी पनि गयो, पोखरा र गौतमबुद्ध अन्तराष्टिय विमानस्थल पनि बनायो। विमानस्थल थपिएपनि हवाइ रुट बृद्धि गर्न नसकेपछि ऋण काढेर बनाइएका विमानस्थलमा कमिला हिड्न थालेका छन् भन्छन् नाटाका पूर्व अध्यक्ष भोलाविक्रम थापा। अवस्य पनि उड्डयन क्षेत्रको यो सबै भन्दा तीतो र वैरागलाग्दो यथार्थता हो । यतिमात्रै होइन युरोपियन युनियनले समेत नेपाललाई अझै कालोसूचीबाट हटाएको छैन।

सन १९९० पूर्व एशियाली उड्डयन बजारमा बलियो प्रभाव जमाएको सरकारकै विमान कम्पनी नेपाल वायु सेवा निगम विरामी छ, गतिलो एयर बस छैन, वाइडबडी घोटाला जस्ता काण्डले विसन्चो छ। उता निजी क्षेत्रका उड्डयन कम्पनीहरु नाफामा गएपनि त्यत्ति व्यवसायीक छैनन्। पर्यटन क्षेत्रको मुख्य पाटो हो, उड्डयन क्षेत्र । यसको सुधार नगरी विदेशी पर्यटक यति ल्याउँछु उति ल्याउँछु भन्नु हावादारी सपना हो।

यसै विषयमा हामीले नाटाका पूर्व अध्यक्ष भोलाविक्रम थापासंग जिज्ञासा राखेका थियौ, उनीसंग हामीले के सरकारले भने जस्तै १६ लाख पर्यटक आउँछन् त ? हाम्रो जिज्ञासामा नाटा पूर्व अध्यक्ष थापा भन्छन्, “पर्यटकलाई सहज कर भन्दा जसरी हुन्छ, शुल्क थोपरेर बोझ बनाइदिएको छ। जहाँ उनीहरुले नेपाल गर्ने वातावरण नै छैन। सेवा प्रवाह गतिलो छैन, यातायात क्षेत्र भद्रगोल छ। पर्यटन व्यवसायीलाई काम गर्ने वातावरण छैन, पर्यटन बोर्ड बनायौ, राजनीति घुसाएर ध्वस्त बनाइयो। जसले गर्दा देशमा केही गरेर खाने वातावरण छैन, बरु देश छोड्नुपर्ने स्थिति छ। यस्तो अवस्थामा कसरी आउँछन् १६ लाख पर्यटक ?”
पक्कै पनि नाटा पूर्व अध्यक्ष भोलाविक्रम थापाले भने जस्तै छ, यो देशभित्रको बेथिति र विकृति । जबसम्म मुलुकभित्रको गन्जागोल अवस्थासंगै पूर्वाधार र सेवा क्षेत्रमा सुधार नगरी विदेशी पाहुना सरकार बोलेकै भरमा आउदैनन्। कोरनो काल भन्दा अघिका केही वर्षमा पर्यटन क्षेत्रमा सुधार आएको थियो।

सन २०१८ मा हालसम्मकै बढी पर्यटक भित्रिएका थिए, जतिबेला करिब १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको थिए। सम्भवतः नेपालको पर्यटन इतिहासमा सबै भन्दा संख्यात्मकरुपमा बढी पर्यटक नेपाल घुमेका थिए । जसले पर्यटन क्षेत्रमा नयाँ आशाको दियो सल्काएको थियो । तर, सन २०२० को प्रारम्भमै कोरोना महामारीले विश्व जगत कुँजिएपछि नेपालको पर्यटन क्षेत्र करिब तीन वर्ष नराम्ररी थलियो। पछिल्लो समय पर्यटक आगमन औसतमा मासिक ८० हजारको हाराहारीमा भित्रिएको देखिन्छ। यही दरमै पर्यटक आगमनले सरकारले भने जस्तो १६ लाख विदेशी पर्यटक आउने कुरा हावादारी जस्तै हुन सक्छ की ?

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ८ : ०५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित