२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

रास्वपालाई दुईतिहाइको ब्रम्हास्त्र ! भ्रष्टमाथि बम्बार्ड गर्ने ऐतिहासिक जनमत !


२५ फाल्गुन २०८२, सोमबार  


निर्वाचन प्रणालीलाई दोष दिएर गठबन्धनको फोहोरी संस्कारले जनता वाक्क दिक्क थिए। तर,यही भाष्य बनाएर सत्तादोहन गर्दै जनता झुक्याउनेहरूलाई यश पटक जनताले चमत्कारिक ढंगले झुक्याइदिए। उनीहरूको राष्ट्र लुटको धन्दाका सबै शटर जनताले २१ फागुनमा झ्यापझुप बन्द गराइदिए।

रास्वपा जस्तो नयाँ शक्तिलाई १८६ बढी सीट जिताइदिएर एमाले, कांग्रेस र नेकपाको गठबन्धनको व्यापार खुल्न नसक्ने गरि जनताले बन्द गराइदिएका हुन्। उनीहरू आफ्नै विकृत सत्ता राजनीतिको घृणित चरित्रले सिर्जित परिणाम स्विकार्न यतिबेला विवश छन् र बाध्य छन् ।

यद्यपि सत्ता अहंकार र दम्भले विनाशको आर्यघाटमा पुग्नै लागेका उनीहरू आउँदा दिनमा बौरिन्छन् या बिलाउँछन्,त्यो अबका दिनका राजनीतिक कर्म अनुसार समयले बताउला नै। तर,यश पटक जनताले कठोर निर्णय गरेर कडा सजाय भने अवस्य दिएका हुन्। वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा जस्तो नयाँ शक्तिलाई जनताले अभूतपूर्व विश्वास गरेका छन् । २०१५ सालमा विपी जति ऐतिहासिक जीत हासिल गरेका थिए, त्यस्तै यतिबेला रवि बालेनले जनमत प्राप्त गरेका छन् ।यो विश्वसासको कडी अविछिन्न राख्न रास्वपालाई त्यत्ति सजिलो भने छैन ।तथापि निर्शत जनमतको कार्यान्वयन गर्नैपर्छ ।


भ्रष्टाचार विरोधी भावनाको धरातलमा उदाएको रास्वपाको मुख्य एजेन्डा नै भ्रष्टहरूलाई झ्यालखाना पुराउने हो। कानुनी राज्यमा कानुन माथिको अत्याचारको पहाड भत्काउनु हो।
दशकौंदेखि सत्ता र शक्तिमा रहेका कांग्रेस, एमाले र नेकपा अर्थात तत्कालीन माओवादीका राजनीतिक व्यभिचारमा निर्माण भएको अहंकार भ्रष्टाचार र नरसंहारको जग भत्काउन मात्र होइन, क्षेत्रीय दलहरूको राजनीतिक व्यवसायलाई पनि मतदाताले बन्द गरिदिएपछि उनीहरूको सत्तालिप्साको खेल पनि बन्द गराउनुपर्ने छ।

त्यसैले यो केवल राजनीतिक परिवर्तनको शुभ संकेत मात्र होइन, जनअपेक्षाको विशाल भारी बोकाउने जनादेश पनि हो । अब कम्तीमा पनि पाँच वर्ष निर्धक्क, निष्ठापूर्वक र योजनाबद्ध रूपमा अघि बढ्ने ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा आएको छ ।

वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन, जोड र कोण मिलाउँदा सरकारले ‘डेलिभरी’ दिन सकेन र सक्दैन भन्ने एउटा थोत्रो र मक्किएको कुरूप भाष्यलाई पनि यो निर्वाचनले भत्काइदिएको छ । हिजो सरकार प्रमुखहरूले आफ्ना योग्यता र इमानका कमजोरीलाई ढाकछोप गर्न संविधानलाई दोष दिँदै आएका थिए । अब उनीहरूको कृत्रिम दोषको पर्दा पनि २१ फागुनले धुजा धुजा पारिदिएको छ।रास्वपाले जति ठूलो जनादेश पाएको छ। उति तौल र अग्लाइको जिम्मेवारी पाएको छ।

संसारभरि मतदातामा सत्ताविरोधी मनोविज्ञान हुन्छ, नेपालमा पनि त्यही मनोविज्ञान प्रकट भएको देखिन्छ । तर, यसपालि प्रकट भएको जनमत सत्ताविरोधी भावना मात्र होइन, नयाँ भविष्यको खोज र खोजको जनअभिमत पनि हो ।

निर्वाचन २०८२ मा मतपेटिकाबाट निस्किएको सन्देश केवल चुनावी परिणाम र अंक होइन। यो त परिवर्तनको आकांक्षी नेपाली समाजको घोषणापत्र हो । वर्षौंदेखि एउटै राजनीतिक वृत्तमा घुमिरहेको राजनीतिक पटकथालाई जबर्जस्त पथान्तर गर्दै नयाँ दल, नयाँ नेतृत्वसँग नेपाली समाजले नयाँ यात्राको शुभारम्भ पनि हो ।

तीन वर्षअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मतदाताले देखाएको यो विश्वास केवल नयाँ संसद् र नयाँ सरकारका लागि मात्र होइन, यो त नयाँ सोच, चिन्तन, नयाँ संयन्त्र, नयाँ गति र प्रगतिका लागि पनि हो ।

एउटै दललाई प्राप्त दुईतिहाइ वरिपरिको जनादेशमा पनि करिब साढे तीन दशकमा नेपालले अपेक्षित प्रगति गर्न सकेन भन्ने जनगुनासो मात्र होइन, जुन प्रश्न मात्रै थियो हिजो । तर,आज त्यही प्रश्नको जगले जवाफ दिने ठाउँमा पुराएको छ। अब कुनै कमा,फुलस्टप शर्त, र सम्झौता होइन। निशर्त, निर्भीक र निडरका साथ परम्परागत ढाँचाकाँचामा आमूल परिवर्तन गर्ने अधिकारको हस्तान्तरण पनि भएको हो । निःसन्देह यो निर्वाचनपछि नेपाल उस्तो रहनेछैन भन्ने प्रत्याभूत गर्नु नयाँ नेतृत्वको सबैभन्दा ठूलो र ऐतिहासिक जिम्मेवारीसंगै चुनौति पनि खडा भएको छ।

यहाँ चुनौतिसंगै अभूतपूर्व सम्भावना पनि संगसंग देखा परेका छन् । अभूतपूर्व जनताद्वारा प्रकट भएको यो विश्वास र अभिमतलाई अक्षुण राख्न रवि बालेनलाई कुनै पनि छुटको सुविधा छैन । जनताले विश्वास गरेर दुई तिहाइ जनमत दिएका छन् । त्यसै गरि भाषणको साटो परिणाम देखाएर विश्वासलाई थप सुदृढ बनाउन जरुरी छ। रवि बालेन वचन र व्यवहारमा कत्तिपनि विचलित र प्रभावित नभइ क्यालेन्डर बनाएर युद्धस्तरमा काम गर्नुको विकल्प अरू के होला र? हैन र ?

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ८ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित