२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

विधि र विवेक गुमाउँदा पार्टीभित्रै देउवा अस्वीकृत, अहंकारले राजनीतिक अवशान !


२८ पुस २०८२, सोमबार  


लोकतन्त्र विधिले चल्छ । विचारले बाँच्छ । विधि र विचारको समिश्रणबाट लोकतन्त्रको संस्थागत विकास र सृदृढिकरण हुन्छ । कांग्रेस आफै लोकतन्त्रको सम्वाहक पनि हो

। तर,कांग्रेसलाई जब देउवाले परिक्रमावादीहरुको उक्साहमा प्राइभेटाइेजनतर्फ बदल्न थाले । तबदेखि कांग्रेस नेतृत्वमा रहेका देउवाले जनविश्वास मात्रै गुमाएनन् । आफ्नै हजारौ कार्यकर्ताबाट पनि अस्वीकृत भए । विधि र विधानसम्मत ढंगले उनी पार्टीभित्र अयोग्य ठहरिए ।


विधि र विधानले अस्वीकृत देउवा !


गगन –विश्वको पहलमा भएको विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले देउवालाई राजनीतिक र नैतिक हिसाबले पार्टी सभापतिमा रहन अस्विकार गरे । देउवाको स्वेच्छारी कदम विरुद्धको यो जनमत बलद्वारा गरिएको होइन, विधि र विधान अनुसार भएको हो । लोकतन्त्र व्यक्ति र बलले चल्ने शासन व्यवस्था पनि होइन । विधिले चल्छ । विधानले अघि बढ्छ भन्ने कुरा स्वयं देउवालाई पनि राम्रोसंग थाहा छ नै । तर, पद र पत्नीव्रत देउवामा पछिल्लो समय उनका अनुयायीहरुले यतिधेरै नेत्रविहीन बनाइदिएकी , उनीमा विधि र विधान भन्दा पनि पद र पावरमा पार्टी चलाउँछु भन्ने अहंकारी मनोविज्ञान र प्रवृत्ति ऐजेरु झै झाँगिदै गयो ।


ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन र भागबण्डाको च्याँखे थाप्नमै देउवा !


गएको दश वर्षमा कांग्रेसको नेतृत्व गरेका देउवाले कांग्रेसलाई जिउँदो त राखे ।तर, संस्थागत विकास र जनताको मन जित्ने बनाउनै सकेनन् । उनले ओली र प्रचण्डलाई पालैपालो प्रधानमन्त्री बनाउन र राजकीय पदमा भागबण्डा थाप्न बाहेक त्यस्तो कुनै उल्लेख्य काम गरेको कतै देखिन्न र भेटिन्न । कांग्रेस मुलुकको सबै भन्दा बलियो र पुरानो शक्ति हो । जसको जरा नगर र गाउँका टोल–टोलमा पुगेको छ । तर, सिंहदरबारमा बसेर देउवाले स्वर्थका लागि जनविरोधी कुकार्य गरिरहे । तल्लो तहको कार्यकर्ता उनको स्वार्थको पक्षमा बोल्न सक्ने स्थिति थिएन र भएनपनि । तल्लो तहका कांग्रेसी कार्यकर्ताहरु शीर ठाडो पारेर कांग्रेसको नीति र उदेश्यको विषयमा जनतालाई बुझाउन सक्ने स्थितिमा थिएनन् र छैनन् पनि ।

कांग्रेस नेतृत्वकै कारण जनतामा चरम असन्तुष्टि थियो । त्यो असन्तुष्टि गएको भदौ २३ र २४ गते महाविस्फोट भयो । त्यसको प्रत्यक्ष शिकार स्वयं देउवा दम्पत्ती नै परे । जेनजीहरुले उनीमाथि भौतिक हमला गरेपछि बाल– बाल बचेका देउवामा चेत फर्किएको देखिएन । फेरि ओलीको प्रधानमन्त्रीको ललिपपमा मक्ख पर्दै कांग्रेसलाई थप बदनाम बनाउँदै थिए । नेतृत्वको यो तहको घिणलाग्दो सत्ता बार्गेनिङ र गठबन्धनप्रति जनता मात्रै होइन, आम कांग्रेसी कार्यकर्ता असन्तुस्ट थिए र छन् । त्यसैको बिम्ब हो,भृकुटीमण्डवको विशाल उपस्थितिको ऐतिहासिक ।

यो केवल दृष्य मात्रै थिएन, नयाँ दृष्टिकोण पनि थियो ।कांग्रेसमा लोकतन्त्रको चीरहरण मात्रै भएको होइन । समग्र व्यवस्था र प्रणाली जोखिमा थियो र छ । व्यवस्था र प्रणाली बचाउन पनि कांग्रेसकै जिम्मेवारी हो । किनकी लोकतन्त्रको प्राप्तिको लागि विपीदेखि हालका लाखौ कांग्रेसी नेता कार्यकर्ताको रगत र पसिना धेरै बगेको छ ।लोकतन्त्रका लागि लडेको पार्टीभित्रको अलोकतान्त्रिक र नेतातन्त्रले गाँजेको बेला गगन– विश्वले जुन आँट हिम्मत र साहस गरे । यसले विधि र पद्धतिबाट बाहिर जान लागेको कांग्रेसलाई लीकमा ल्याउने कोशीस गरेका छन् ।


पहलकदमी गुमाएका अवसरवादी नेता डाक्टर शेखर कोइराला !


राजनीतिक परिपक्वता र पाका नेताको हिसाबले डाक्टर शेखर कोइरालाले पार्टी भित्रको यो विवादलाई सल्टाउने ऐतिहासिक अवसर पाएका थिए । तर, पार्टीभित्र भागबण्डाको च्याँखे थाप्ने डाक्टर शेखर कोइरालाले परिवर्तनको यो प्रवाहलाई चिन्न र बोध गर्न सकेनन् । मध्यमार्गी लाइनमा उभिएर पार्टीभिको विवाद मिलाउन भनिएपनि उनी संस्थापन पक्ष देउवालाई सेवा र चाकडीमै समय खर्चिए । देउवाका क्रियाकलाप्रति विमति राख्दै आएका उनको पछिल्लो भूमिका चरम अवसरवादीको रुपमा देखियो । जसको कारण उनले ऐतिहासिक पहल लिन सकेनन्।

उनी सफल नेतृत्व बन्ने अवसर गुमाउन पुगे ।करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधि देउवाको विपक्षमा स– शरीर उपस्थित भएर विशेष महाधिेवेशनमा भाग लिँदासम्म पनि शेखर देउवाकै सेवामा तल्लीन भए। जसको परिणाम उनले अब नेतृत्वमा आउने अवसर र नैतिकता गुमाए । कांग्रेसलाई कोइराला परिवारको विरासतमा फर्काउने उनको कुचेष्टाले हावा खायो ।


महाभारतकालीन धृष्टराष्ट्रको नयाँ संस्करण देउवा !

कांग्रेसभित्र देखिएको आन्तरिक द्वन्द्व विचारभन्दा पनि पद, सिद्धान्तभन्दा पनि समूह, अनुशासनभन्दा अहंकार प्रधान भएपछि आज देउवाको यो हविगत भयो ।करिब दुईतिहाइकार्यकर्ता उनको अहंकारको मलामी गए । देउवासंगसंगै शेखर पनि सति गएको कांग्रेसी चेतनशील कार्यकर्ताले बुझेका छन् ।कांग्रेसको संस्थापन खेमाको नाममा भएको बलमिच्याईले अन्ततः देउवालाई झोली तुम्बा बोकेर सानेपाबाट निस्किन नैतिक र राजनीतिक दबाब दिएको छ ।

पाण्डवहरुले पाँच गाउँ माग्दा पाँच मुठ्ठी माटो पनि दिन्नौ भनेपछि महाभारतको युद्ध भएको थियो । देउवाको अहंकारले गर्दा आज महाभारतमा कौरवहरुको जे हालत भएको थियो । त्यही हालत आज देउवा र उनको वरिपरि परिक्रमा गरेर जीवन धानेकाहरुको हालत त्यस्तै भएको छ । विशेष महाधिवेशनकोे आयोजना गरेर गगन विश्वले निकै चुनौति मोले । जिते हस्तिनापुर हारे चपरमुनिको बास भन्ने जोखिम थियो ।

तर, महाधिवेशन प्रतिनिधिहरुको अत्यधिक उपस्थितिले गगन विश्व समूह निकै बलियो देखिएको छ । विशेष महाधिवेशन नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय गरेमा देउवाले सहर्ष स्वीकारे भने उनीमाथि लागेको दागमा कमी केही आउनेछ । जीवनको उत्तार्धमा उनले पूण्य कमाउन सकिने देखिन्छ । तर, निर्वाचन आयोग र अदालत देखाएर ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको मतलाई कुल्चिने खोजेमा उनी चाउचेस्कु झै कांग्रेस भित्रै सिद्धिनेछन् । ०००००

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित