इतिहासमा धेरै मानिसहरूको जन्म अनि मृत्यु हुन्छ,प्रकृतिको यो शाश्वत सत्य नियम स्वभाविक परिघटना पनि हो,मानव चोलामा। तर,इतिहासमा त्यस्ता असाधारण मानिसहरू जन्मिन्छन् ।जसले असाधारण इतिहासको अकल्पनीय वास्तविक कथाकाे रचना गर्दछन्।
हो, ठ्याक्कै आज नेपालको राजनीतिक इतिहासको घुम्तीमा एउटा त्यस्तो पात्रको उदय भएको छ।जसले छोटो राजनीतिक यात्रामा असाधारण अवसर र चुनाति प्राप्त गरेको छ। इतिहासको यो संगीन घडीमा असाधारण अवसर र चुनौति प्राप्त गर्ने ती व्यक्ति हुन्, बालेन्द्र साह ।
२०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा काठमाडौ महानगरको मेयरबाट राजनीतिको रथयात्रा शुभारम्भ गरेका उनी १३ चैतमा इतिहासकै शक्तिशाली युवा प्रधानमन्त्री भए । ३५ वर्षको पहिलो जननिर्वाचित युवा प्रधानमन्त्री बालेन्द्र साहले इतिहासको ब्रेक मात्रै गरेनन् भविष्यको नुतन सपना र याेजनाहरू पनि बाकेर ल्याए।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा उनलाई चिन्ने जति थिए, त्योभन्दा व्यापक स्तरको लोकप्रियताको उचाइ र भविष्यको गहिरो विश्वासको रूपमा उनी प्रकट भएका छन् । उनको प्रधानमन्त्रीत्वकालमा देशले उन्नति गर्नेछ भन्ने आशालाग्दा नजर उनीमाथि छन् । देशैभरिको निर्वाचनमा उनको नाममा जसरी जनमतको लहर ओइरियाे। त्यसैगरी आज उनलाई मुलुकको प्रधानमन्त्री जस्तो कार्यकारी तहको गरिमामय स्थानमा पुर्याएको छ
यसो हुनुमा रविको सक्रियता र बालेनको लोकपृयताले ठूलो अर्थ बोकेको छ । जहाँ तीन वर्षमा रास्वपाले पनि आफ्नै इतिहास भत्काएको छ। ३५ वर्षदेखिको असफल कुशासन कलाले आजित जनताले रास्वपाले मागेकै मत दिएका छन् ।त्यसका लागि रास्वपा सभापति रवि लामिछानेले समयको वेग र मागलाई मात्रै बुझेनन् । राजकीय पद त्यागको सस्कारलाई पनि अक्षरस व्यवहारमा देखाए । जसको परिणाम रास्वपा करिब ५२ लाख मतसहित दुई तिहाइ नजिक पुग्यो।
रवि आफैं प्रधानमन्त्री पनि बन्न सक्थे ।तर,उनी सहजै र पार्टी भित्र सर्वसम्मत संसदीय दलको नेतामा बालेनलाई निर्वाचित गरेर त्यागले प्रमाणित गरिदिए। उनी र बालेनविरू्द्ध उत्रिएका केही मिडिया प्रोक्सीहरूलाई कडा जवाफ मात्रै दिएनन् , राजनीतिमा त्याग सबैभन्दा ठूलो हो भन्ने प्रमाणित गरिदिए । जुन कुरा सुवर्ण शमशेर ,गणेशमान र किशुनजीहरूले गरेका थिए। नेपालको राजनीतिक इतिहासमा यदाकदा मात्रै अनुभव र अध्ययन गरिएका यस्ता अनुपम दृश्यहरू यश पटक रविले देखाए । जुन वास्तविक त्यागका यथार्थ कथाहरू थिए र हुन् पनि ।
टाउको सफा भए, पाउ पनि शुद्ध रहन्छ, भने झै पार्टी सभापतिले दोस्रो व्यक्तिलाई प्रधानमन्त्रीमा अघि सारेर रास्वपाका लागि अथाह मत बटुले । जनताले विश्वास गरे भने तीन वर्षमै कुनै दललाई झन्डै दुईतिहाइको बहुमत दिएर पनि संसद् पठाउन सक्दा रहिछन् भन्ने कुराको नयाँ मानक बनाए । यो संगै देशको बागडोर सम्हाल्न इमान र जमान भएमा केस फुलाउनु पर्दैन भन्ने अर्को मानक पनि बन्यो। केस नफुलेपनि ३५ वर्षको युवालाई मुलुकको सर्वोच्च स्थानमा जनताले पुराइदिदा रहिछन् भन्ने प्रमाणित भयो ।
भ्रष्टाचार र कुशासनले आजित मुलुकको लोकतान्त्रिक राजनीतिक इतिहासमा पछिल्लो पटक जेजस्ता ऐतिहासिक परिवर्तनका संकेतहरू देखिँदै छन्। ती क्षितिजमा उदाएका नवकिरण हुन्।जसले मुलुकको ३५ वर्षको अध्याँरो रात च्यातेर बिहानीको पारिलो घाम ल्याउँदै छ। यो उज्यालोको पर्दामा जेनजी पुस्ताको रगतले लेखिएको छ। जो इतिहासमा अमर मात्रै हुनेछैन । खुनी शासनबाट जनतालाई मुक्ति दिलाउने एक बलिदानपूर्ण सन्दर्भ हुनेछ ।
रक्तरञ्जित इतिहासको आलोकमा उभिएर तलको भुँइ मान्छे र सुदूरको दूर मान्छेको नांगो शरीर,भोको पेट र चुहिने छानोमाथि अर्जुनदृष्टि बालेन सरकारको हुनुपर्ने छ। जनअपेक्षा पनि यही हो। पानी जहाज ,रेल र घर घरमा ग्यास पाइपको फत्तुर मिथ्या र हावादारी सपनाको वितरण होइन । नेपालीले पौरख गरेर स्वतन्त्रतापूर्क जिउने वातावरण खोजेको हो।विदेशका गल्लीमा होइन । गाउँका टोलटोलमा उद्यम र रोजगार हो,खोजेको। चिल्ला कारमा कुद्ने शासक होइन, गरिबहरूको दर्द बुझ्ने शासक हो ,चाहिएको । अग्लो घर भएको नेता होइन, अग्लो विचार र संस्कार भएको सरकार हो,जनताले खोजेको ।
यहि उत्सुकता र अपेक्षासहित जनताले रास्वपालाई भारीमतले विश्वास गरे। आमनागरिकको नवीनतम उपलब्धिप्रतिको आकांक्षासंग परिवर्तन जनताले गरिदिए । जनअपेक्षा अनुसार शासकहरू कामयवी नभएसम्म दशकको चरणमा यहाँ परिवर्तनको शंखघोष हुने गरेको छ।जबसम्म जनताले सोचेको र अपेक्षा गरेको परिणाम देखिन्न ।तबसम्म जनता परिवर्तनको पक्षमा उभिन्छन्। यो सत्य कुरा बालेन सरकारको हकमा पनि उत्तिकै लागू हुन्छ । जुन निर्मम र कठोर पनि छ र हो पनि ।
गएको भदौसम्म यो मुलुकको राजनीतिबारे निराशाबाहेक केही सुनिँदैनथ्यो। यहाँको राजनीतिप्रतिको गुनासो पनि उत्तिकै रहेको हो। आमनागरिकले राजनीतिप्रति चासो देखाउनै छाडेको अनुभव पनि नभएको होइन। अहिले आएर मुलुकका कुनाकन्दराबाट देशमा निर्वाचनपछि आइरहेको यो नवीन समयको प्रतीक्षा भइरहेको छ। कुनै पनि लोकतान्त्रिक शासन त्यतिबेला मात्र लोकमान्य हुन्छ, जतिबेला लोकलाई ध्यानमा राखेर शासकहरूद्वारा शासन गरिन्छ।
लोकतन्त्रमा नागरिकले आफ्नो शासक चुनेको होइन, सेवकको छनोट गरेको हो। सरकारले आमनागरिकका आकांक्षालाई ध्यानमा राखेर फुकीफुकी कदम चाल्न थालेको खण्डमा सफलता अवश्यम्भावी छ। यो मुलुकले वयोवृद्ध व्यक्तिहरूलाई असम्मान गर्दैन । तर कतिपय अवस्थामा तिनका अक्षमता र नालायकीपनले बाध्य भएर देशलाई परिवर्तन खोज्छ र खोजेको हो पनि । तिनै जनताले ३६ वर्षदेखि राज्यसत्तामा थुप्रिएको कचेडा फाल्न ३६ वर्षको युवालाई देशको जिम्मेवारी दिएका छन् । उनीमाथि आमनागरिकले यतिबेला ठूलो भरोसा पनि उत्तिकै गरेका छन्।
हो, यही भरोसा नै भोलिको सरकारको सफलता हो। यो सरकारले काम गरेको हेर्ने चाहना आमरूपमा देखिन्छ । यसलाई काम गर्न दिनुपर्छ भन्ने छ। संसारका कैयन् मुलुकले यतिबेला विकासको फड्को मारिसकेका छन्। हामी भने आधारभूत पक्षमै पनि संघर्ष गरिरहेका छौं। शिक्षा, स्वास्थ्यजस्ता जीवनका दैनिक अत्यावश्यक पक्षसँग पनि संघर्ष गर्नुपर्ने यो दुर्दान्त नियतिको अन्त्य अबको सरकारले निशर्त गर्नुपर्नेछ ।
बदलिँदो परिवेश र युवा आकाँक्षा अनुसार हामीलाई विश्वस्तरमा जानु छ। विदेश भ्रमण गर्दा हेपिएको हाम्रो स्वाभिमानको गरिमा बढाउनुपर्ने छ। प्राकृतिक स्रोतसाधनले सम्पन्न हुँदाहुँदै पनि हामी धेरै पछि परेका छौं । त्यसका लागि देशभित्र उद्योगधन्दा वा अन्य उद्यम चाहिएको छ।
देश भ्रष्टाचारको धुइरोमा छ। भ्रष्ट कर्मचारी संयन्त्र छ।देशमा सुशासनको सर्वथा अभाव छ। देशमा न्यायको घाँटी रेटिएको छ । न्यायिक धरोहरका कंक्रिकप्रति जनविश्वास गुमेको छ। राज्यका हरेक तहमा योग्य होइन, द्रव्यवालाहरूको चकाचक छ।देशभर दलका नाममा करिब चार लाख मानिस विना र उद्मम विना राष्ट्रको ढुकुटी दोहन गरिरहेको छ। विना श्रम उच्चस्तरको जीवन जिइरहेको छ।
लोकतन्त्र भनेको र दलभित्र पनि एउटा माफियाले मात्र लाभान्वित हुने भनेको होइन। मुलुकलाई समृद्धि चाहिएको हो ।तर केही व्यक्तिको परिवारलाई मात्र यो चाहिएको होइन । यी यावत् चुनौतीबिच बालेन्द्रले मुलुकको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी लिएका छन्। विगतका धुमिल अनुहारहरू भन्दा फरक इतिहास रचून् ,नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले ।
राष्ट्र सम्हाल्न जनताले गएको २१ फागुनमा अभूतपूर्व मत दिएका छन् । जुन मतप्रति जनता पछुताउने छैनन् ।किन कि प्रधानमन्त्री बालेन्द्र साह भाषणमा होइन परिणाममा विश्वास गर्छन् । जनताको ठूलो पंक्तिले दिएको मतको कदर मात्रै होेईन, कशासन र भ्रष्टाचारले बिरामी देशको उपचार पनि अवस्य गरून् । हाम्रो पनि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई सफल प्रधानमन्त्रीको भव्य शुभकामना ।








