इतिहासमा मानिसहरू जन्मिन्छन । मानव सभ्यताको थालनीदेखि २१ औं शताब्दीको यो दुनियाँमा अर्बौ मानिसहरू जन्मिए ।तर, मानव सभ्यताको विकासक्रममा इतिहास बनाउनेहरू भने वीरलै जन्मिन्छन्। त्यस्ता इतिहास बनाउन उदाएका एक पात्र हुन्, गगन थापा।
कांग्रेसको भातृसंगठन नेविसंघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका गगन नेपाली राजनीतिका आइकन हुन्। जवाफदेही, पारदर्शी र विचारका सम्वाहक गगनको काँधले अब कांग्रेस र देश बोक्नुपर्नेछ। यो अत्यन्तै चुनौति र कठिन छ। तर, इतिहासको अभिभारा उनले बोक्नैपर्छ ।इतिहास बनाउने कुरा आफैमा निर्मम जटिल हुन्छ।यो दूध भात खाए जस्तो सजिलो छैन र हुन्न पनि ।
हजारौं विचार र विमतिहरूको समिश्रण हो,नेपाली समाज ।तर,यही विविध विचार र विमतिको बीचमा सतिसाल झै उभिएर संयम, धैर्यता,विवेक र विचार निर्देशित कठिन यात्रा शुरू गर्नुपर्ने छ। पार्टीको महामन्त्री हुनु र पार्टीको नीति र विधि विधान बदलेर पार्टीसंगै देश हाँक्नु सजिलो कत्ति पनि छैन। तर,यो ऐतिहासिक कार्यभार उनले मात्रै पूरा गर्न सक्छन् भन्नेमा लाखौं कांग्रेसी मात्रै होईन, त्यत्तिकै स्तरमा गैर कांग्रेसीहरूले विश्वास र भरोसा गरेका छन् ।
२०१४ सालमा पार्टीलाई गतिशील बनाउन विपीले जुन जोखिमपूर्ण कदम उठाएका थिए,त्यही स्तरको कदम गगनले उठाएका हुन्। २०१४ साल जेठ १० गते उद्घाटन भएको विशेष महाधिवेशनमा तत्कालीन पार्टी सभापति सुवर्ण शमशेरले महाधिवेशन हलमै राजिनामा दिएर सशर्त विपीलाई पार्टी सभापति बनाउन प्रस्ताव गरेका थिए। २०१४ सालको विशेष महाधिवेशन पछि बनेको कांग्रेसले २०१५ सालको चुनावमा दुई तिहाइ बहुमत ल्याएको थियोे । वीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए । समय काल र परिस्थिति धेरै बदलिए ।बागमतीमा धेरै पानी बग्यो। कांग्रेसमा नेता आए गए ।
त्यसपछिका नेतामा विद्रोहको चेत र ज्ञान भएको व्यक्ति हुन् गगन थापा। जेनजी विद्रोहपछिको एकमात्र भरोसायोग्य र आशालाग्दो नेताको रूपमा उनी देखिएका छन् ।
प्रजातान्त्रिक विधि,पद्धति मूल्य र मान्यतामा विश्वास राख्ने गगनका अघिको यो ऐतिहासिक अवसर,जिम्मेवारी र नयाँ इतिहास बनाउने सुखद क्षण हो, भने यो समय उनका लागि अत्यन्तै कठिन,जोखिम र अप्ठ्यारो स्थिति पनि हो।
हुन त नेता त्यतिकै बनिदैन र बन्न सकिन्न पनि । जोखिम नमोलि बनेको नेता , त्यो ता नै होइन। उनी अवसर र चुनौतिलाई संगसंगै लिएर अघि बढेका छन् । उनको यो कदम मामुली होइन। देउवासहित सात भाइको परिवारवाद,अवसरवाद र फरियावादको जालो तोड्न र विधि विधानले कांग्रेस हाँक्न हो। उनको कदमलाई कांग्रेसको परिवर्तन चाहाने लाखौं युवाहरूले साथ र समर्थन मात्रै होईन, गैर कांग्रेसीहरूले पनि उत्तिकै शुभेच्छा प्रकट गरिरहेका छन् ।
लामो इतिहास बोकेका पार्टीहरू हुन्,कांग्रेस,एमाले र नेकपा। एमाले र नेकपामा परिवर्तनको लागि कुनै पनि युवाले हिम्मत र साहस गरेनन्। ओली र प्रचण्डको आरती गरेर उर्जाशील र उर्वर उमेर खेर फालिरहेका छन् । एमालेमा ओ ली बोल्न दिदैनन्।उनको स्वेच्छाचारी र एकमनावादको प्रतिवाद गर्ने कसैको पनि दरिलो मुटु छैन।नेकपामा प्रचण्डले सधैं आ फूलाई फस्टमै राखिरहेछ। ओ ली भन्दा उनी उदार र नरम भएपनि नेतृत्वमा युवालाई अवसर दिनेवाला छैनन् ।
गगनका समकालीन पात्रहरू हुन्,रामकुमारी झाँक्री ,ठाकुर गैरे,लेखनाथ न्यौपाने र हिमाल शर्मा आदि । तर,जेनजी विद्रोहपछि तीन बुढा नेताको एकछत्र शासन भत्काउन अरूले आँटगरेनन् । गगन बाहेक सबैले टेस्टेड बुढा नेताको फेरो समाइरहे। तर, गगन राजनीतिक भविष्यलाई दाउँमा राखेर तरबारमुनि उभिएका छन् । उनको नेतृत्व र नीति परिवर्तनको यो चुनौतिपूर्ण घडीमा
विश्व,प्रदीप, अजयबाबु र मनोजमणिसहित करिब १५ सय महाधिवेशन प्रतिनिधि नेता कार्यकर्ताले भृकुटीमण्डपमा आएर दरिलो भौतिक तथा नैतिक साथ दिएका छन् ।
३० वर्षको राजनीतिक जीवनमा गगनले यीनै नेता कार्यकर्ताको भौतिक र भावनात्मक साथ पाएका हुन्। । विधानको धारा १७ को २ अनुसार बोलाइएको यो विशेष महाधिवेशनको राजनीतिक तथा कानुनी वैधताको प्रश्न पनि उत्तिकै छ।तर, यो विधानतः भएकोले राजनीतिक र कानुनी मान्यतामा कुनै सन्देह नभएको बताउँछन् ,संविधानविद् डाक्टर विपीन अधिकारी । हो, विशेष परिस्थितिमा भएको विशेष महाधिवेशनको विषयमा राजनीति र कानुनी वैधताको प्रश्न उठाउनु राजनीति र कानुन नबुझेको या विषयान्तर गर्न खोजेको हुन सक्छ।
तर,पूर्व पदाधिकारी च्यापेर देउवाले विशेष रोक्न खोजेपनि पूर्व उपसभापति गोपालमान श्रेष्ठले देउवाले पार्टीमा तानाशाही प्रवृत्ति देखाएको भन्दै विशेषको पक्षमा उभिएको बताएका छन् ।डाक्टर मिनेन्द्र रिजाल , डाक्टर चन्द्र भण्डारी र डाक्टर सुनिल शर्मा सुजाता कोइरला लगायतका पाका नेताहरू पनि धमाधम गगनको पक्षमा खुल्दै गएपछि संस्थापन पक्ष यतिबेला इन्तु न चिन्तुमा परेको छ।
पुस २८ को विशेष महाधिवेशनको उद्घाटन सत्रमा देउवा पार्टी सभापतिको हैसियतको कारण भृकुटीमण्डपमा उपस्थिति भए भने उनी दोश्रो किसुनजी बन्नेछन् ।यदि त्यो विवेक पुराउन नसकेमा देउवा दोश्रो मात्रिका जस्तै गद्दार बन्नेछन् । देउवाका लागि समेत नैतिकता कसीमा उभिएको यो अग्निपरीक्षा हो। पद र पत्नीप्रति लम्पट देउवाले इतिहास सच्याउने या अझै कुरूप बनाउने यो एक ऐतिहासिक अवसर पनि हो।
अझै पनि धुपौरेहरूको आरती र स्तुति गान सुनेर बसीबियाँलो देउवाले गरे भने ,उनीमाथि लागेको कलंकको टीका अझै बाक्लिने छ। देउवालाई इतिहासले धिकार्नेछ, भने जेनजी शहिदहरूको रगत निकै पोल्नेछ ,सराप्नेछ। अझै पनि ओ ली प्रधानमन्त्रीको ललीपमा मुख मिठाएर नेतातन्त्र जोगाउन खोज्ने हो भने भदौ २४ को सांघातिक हमला भन्दा अझ ठूलो आक्रमण भएपनि उनलाई सहानुभूति दिने कोही नहुन सक्छन् ।
यसर्थ इतिहासको कुरूप चेहेरा अब सच्याउने या अझै कुरूप बनाउने त्यो सबै कुराको विवेकपूर्ण फैसला गर्ने सार्वभौम अधिकार र अवसर उनै देउवामा छ।उनको परिवर्तन पक्षमा विवेकपूर्ण फैसला भयो भने कांग्रेस त मुलुक सशक्त शक्ति हुन्छ नै , संघीय लोकतान्त्रिक गणतन्त्र अझै परिस्कृत अवस्य हुनेछ ।
जयनेपाल








