२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

खतरनाक पपुलारिजम ! ‘मुख्य दलको बाइप्रडक्ट,जेलेन्स्कीको सिन्टोम’


२७ पुस २०८२, आइतबार  


राजनीति लहड होइन,यो जड पनि होईन । गतिशील संगठनको अमूर्त बिम्ब हो। राजनीति भाग्य र भविष्य बनाउने मैदान हो। विजयको फूलमाला पहिरिन जति रोमाञ्चकारी र सुखद छ । त्यति पराजयको चूक पिउन सक्ने कठोर यात्राको अनिवार्यता छ ।यश यात्रामा हिड्न जो कसैले सक्दैन ।

त्यसले हिड्न सक्छ।जसले हजारौं घुम्ती पार गर्न र झेल्न अदम्य साहस र आँट गर्दछ ।
कालोपाटीमा राजनीतिको कखरा सिकेको पुस्तादेखि आइफोनमा दुनियाँ देखेको र बुझेको पुस्ता छ,अहिले । इतिहासलाई दुत्कारेर लोकपृयतालाई पुकारेर कुनै पनि राजनीति र समाज बन्न र बदलिन सम्भव छैन। यसको अर्थ इतिहासका गाथा गाएर भविष्य खोज्नु पनि बुद्धिमता होइन। इतिहासको संश्लेषण ,वर्तमानको विश्लेषण र भविष्यको आँकन गर्न सक्ने राजनीति हुनुपर्छ ।
इतिहासको लामो जंघार पार गरेर आएका हुन्, ओली, देउवा र प्रचण्ड । उनीहरू सञ्जालबाट उदाएका नयाँ भेरियन्तट होइनन्। उनीहरु संघर्षका भीषण र कठोर लडाइँ लडेर आएका हुन्। यसकारण उनीहरूसंग राजनीतिक अनुभव र अध्ययन थियोे र छ पनि । दुर्भाग्य, उनीहरूकै अगुवाइमा ल्याइएको गणतन्त्रमा जनताले विद्रोह गर्ने स्थिति बन्यो ।

यस्तो किन भयो ? यसको सिधा सिधा जवाफ छ, मुख्य नेतृत्वको मूल्यहिन राजनीति अपारदर्शीता र गैरजिम्मेवारीपना । जसको परिणामतः भ्रष्टाचार,विकृति र विसंगतिको ऐजेरू पलायो, गणतान्त्रिक शासन सत्तामा । जनताको बलिदानको गर्भमा जन्मिएको गणतन्त्रमै विस्फोट भयो,गएको भदौ २३ र २४ मा । विद्रोहको जग नै गणतान्त्रिक नेपालमा तीन बृद्धहरूको भ्रष्ट शासकीय शैली परिवर्तनको चाहनाको विरू्द्धमा थियोे ।


ऐतिहासिक कमजोरीलाई सच्याउन र स्विकार्न अझै पनि तयार छैनन् ,बुढ्यौली नेता । हिजोको भ्रष्टाचारका काला कर्तुतलाई छिपाउन र जनताको प्रश्नलाई दबाउने कुचेष्टामै छन् । अबको फागुन २१ को निर्वाचन भ्रष्टहरूले जितेमा ठगहरू जेल जाने र ठगहरूले जिते भ्रष्टहरू जेलको हावा खाने स्थिति पक्कै हुनेछ ।


लोकपृयतावादको सिद्धान्तहिन समूह जो छ,यसको कुनै वैचारिकी र दार्शनिक धरातलै छैन । नयाँ शक्ति भनिएको रास्वपा र कुलमान समूहहरु राजनीतिमा आला काँचै छन् । रास्वपा उपसभापति डाक्टर स्वर्णिम वाग्ले बाहेक सबै हवल्दार शैलीका हुन् । रवि भीड उछाल्न सक्छन् ।

बालेन फेसबुक तताउन सक्छन् । बालेन पब्लिक फेस गर्ने र जनताको कुरा सुन्न इन्कार्छन् । जनताको प्रश्नसंग डराउने व्यक्ति कहिल्यै नेता बन्न सक्दैन । फेसबुसको फलोअर्सले जनताको मन र मत जितिन्न। विपरीत ध्रुवका यी पात्रको सहयात्राको आयू पनि त्यति लामो हुनेछैन ।

विचारले मान्छेलाई संगठनमा जोड्छ। रास्वपा लगायतका शक्ति विचारले भन्दा पनि लोकपृयताको हुरीले जुटेका शक्ति हुन्।अझ भनौ, सञ्जालमा अलिक कृत्रिम कुरा गरेर उदाएका समूह हुन् ।युट्युबरले हुर्काएकाहरूलाई नेता मान्ने र उसलाई प्रधानमन्त्रीसम्मको प्रस्ताव गर्ने चेत भएको छ, नेपाली समाज ।

गालीमा विद्यावारिधि गरेका कक्षा ८ अनुत्तीर्ण दुर्गा प्रसाईं होउन् या ज्ञानबहादुर शाही या रवि लामिछाने या बालेन साह पोलिटिक्स हिरोईज्म हुन् । हिरोइजम् अर्थात् नायकहरू यस्तै हुन्छन् ।जसलाई भीडले भगवान मान्छ । भीडले भगवानको रूपमा देख्छ । यीनीहरूको राजनीतिक संघर्ष,सिद्धान्त,विचार,दृष्टिकोण र योजना केही हुन्न ।तर, भीडले यीनीहरूको कृत्रिम कुरामा विश्वास गर्छ। यही हो, लोकपृयतमावाद भनेको । युक्रेनका जेलेन्स्की पनि पपुलारिजमबाट राजनीतिमा उदाएका मानिस हुन् ।


इतिहास ,संघर्ष संगठन र वैचारिकी नभएका सिद्धान्तहिनहरूले आफूलाई चर्चामा मात्रै राख्दैनन् । देशको कार्यकारी प्रधानमन्त्री ताक्छन्,अनि भन्छन् साउथ इण्डियन फिल्म शैलीमा देश बदल्छु।यीनीहरूको आत्ममुग्धताकापछि एउटा भीड कुदिरहन्छ। युट्युबर बटुलेर यीनीहरू सपनाको व्यापार गर्छन्।यीनीहरूको मेनपुलेसनको व्यापारको जग बनाउने रचनाकार भने ओली,देउवा र प्रचण्डहरूको कुशासन र भ्रष्टाचार हो।


यी बृद्धहरू राजनीतिमा जबसम्म सक्रिय भइरहन्छन् । तबसम्म हिरोइजमहरू जनतालाई मेनुपुलेसन गरिरहनेछन्। यी तीन नेता जुन दिन सर्लक्कै नेतृत्वबाट पन्छिन त्यसदिनदेखि पपुलिष्टहरुको राजनीतिक दोकान चक्रक्कै सुक्नेवाला छ। जति धेरै यिननै ती बृद्ध पार्टी सत्ताको सिहाँसनमा विराजमान हुन्छन् ।त्यतिन्जेलसम्म पपुलिष्टहरूले राजनीतिमा बाजि मारिरहनेछन्।यसर्थ यीनीहरूलाई बोक्न होइन, फ्याँक्नतिर राजनीतिक चेत भएको वर्ग अहिल्यैदेखि नै व्युउँझिन जरुरी छैन र ? ००००००

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : ३० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित