१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

भगवान पशुपतिनाथको जन्म कहिले भयो होला ?


१४ फाल्गुन २०८१, बुधबार  


आर्य सभ्यता र दर्शनमा भगवान श्री पशुपतिनाथको निकै महिमा र गाथा गाईन्छ।वैदिक धर्म, सनातन संस्कृतिमा पशुपतिनाथको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परेको छ ।

पशुपतिनाथलाई शिवरूपमा पूज्ने, आत्मा रुपमा चिन्तन गर्ने, ईश्वर संझेर उपासना गर्ने परम्परा आदि अनादिकालदेखि भएको पाईन्छ ।

पशुपतिले बागमती , कैलाश, मृगस्थली, घाट र धामहरू निकै महत्त्व मानिन्छन् ।जहाँ जहाँ भगवान शिव अर्थात पशुपति पुगेका छन् ।ती क्षेत्रमा मूर्तिको स्थापना र मन्दिर निर्माण हुन पुग्यो । कहिले पुरिँदै, कहिले डुब्दै, कहिले उत्रँदै, कहिले मन्दिर र मूर्तिसहितका अनेक अवस्था पार गरेको इतिहास छ ।

पशुपतिको कृपाले शिवपुरीमा उत्पत्ति भई बागमती बग्न थालिन्, अनेकौँ देवीदेवता दर्शनार्थ आए, ६४ शिवलिङ्गले बास गरे अनि नेपाल शैव क्षेत्र भयो भनेर भनिन्छ ।

पशुपतिको ज्योतिरूप कहिले प्रकट भयो, पहिलो मूर्ति कसले, कुन मितिमा निर्माण गरे एकीन प्रमाणहरू भेटिँदैनन् । नागदहले उपत्यका डुबाउँदा पशुपतिको ज्योतिर्लिड्ड डुबेको वर्णन पशुपतिपुराण, हिमवत्खण्ड, विभिन्न वंशावलीहरूमा पाइन्छन् ।

वेदको संकलन, तन्त्रको प्रयोग, पुराण लेखनपूर्व यहाँ पशुपति थियो । गोपालवंशावलीमा नेप नाम गरेका गोपाल राजाको समयमा पशुपतिको ज्योति प्रकट भए पनि तिथिमिति एकीन छैन ।

पशुपतिलाई साकार वा निराकार रूपमा वैदिकालदेखि चिन्तन गरिन्थ्यो भन्ने प्रमाण वेदका मन्त्रहरूबाट पुष्टि हुन्छन् । पुराणहरुले ब्रह्मा, विष्णु र इन्द्रद्वारा पशुपतिको मूर्ति स्थापना गरेका बताउँछन् । पहिलो पटक राजा सुपुष्पदेवले पशुपतिको मन्दिर निर्माण गराए पनि तिथिमिति प्रष्ट छैन । त्रेतायुगमा दशरथ तथा भगवान् राम पशुपति दर्शन गर्न आएको चर्चा पनि छ ।

महाभारत अनुसार वनवासका क्रममा अर्जुन पाशुपतक्षेत्रमा आएका थिए । गणितीय हिसाबले अर्जुन आजभन्दा करिब पाँच हजार वर्ष पहिले पशुपतिमा आएको देखिन्छ । भारतमा रहेका १२ ज्योतिर्लिंगको मूलआधार नेपालमा रहेका पशुति नै महाज्योर्तिलिड्ड अर्थात् पूर्णज्योर्तिलिड्ड हो भनिन्छ ।ज्योतिर्लिड्डकै उत्पत्ति भएको मिति छैन भने महाज्योतिर्लिंग (पशुपति)को जन्म मिति कसरी नाप्ने ?

सर्वसाधारणले महाज्योतिर्लिड्डको दर्शन गर्न सकूँन् भनी ब्रम्हाजीले शिला (ढुड्डा)को शिवलिड्ड बनाई पाशुपतक्षेत्रमा रहेको महाज्योतिर्लिड्डलाई ढाकिदिनुभयो । विष्णुले त्यसमाथि इन्द्रनीलमणिको पञ्चमुखाकृति शिवलिड्ड स्थापना गरे । यसकारण पशुपतिको पञ्चमुखाकृति लिंगलाई ब्रम्हाविष्णुशिवात्मक लिंग भनिन्छ । ऋषि, देवीदेवता, साधुसन्त, महापुरुषले आर्यावर्तका अनेकौँ स्थानमा शिवलिंग स्थापना गरेका थिए ।

सृष्टिकर्ता, जगत्पालक र स्वर्गका राजाले स्थापना गरेको ब्रम्हाण्डमा पशुपतिबाहेक अन्य मन्दिर छैन । यसैले पशुपतिलाई महाज्योतिर्लिड्ड भनियो । प्राचीन शिवलिंग अहिले पशुपतिमा उपलब्ध नभए पनि वर्तमान विग्रह त्यही अनुरूपकै थियो भन्न सकिन्छ ।


नेपालमाहात्म्यका अनुसार पवित्रतम पाशुपतक्षेत्रमा श्लेष्मान्तक नाम गरेका नागराजले पशुपतिको हजार वर्षसम्म कठोर तपस्या गरे । श्लेष्मान्तकको तपस्याबाट भगवान शंकर प्रसन्न भई वरदान दिन पार्वतीका साथमा प्रकट भए । भोलेनाथले श्लेष्मान्तकलाई वरदान दिँदै ‘तिम्रै नामबाट यो वन प्रसिद्ध हुनेछ भनिदिए। उनैको नामबाट यस वनको नाम श्लेष्मान्तक रहेको हो । श्लेष्मान्तक ऋषिले सत्ययुगमा तपस्यास्थल बनाएका हुनाले पशुपतिको उत्पत्ति आदिम भएको देखिन्छ ।

सत्ययुगमा भोलेनाथले पाशुपतक्षेत्रलाई क्रीडास्थल, भ्रमणस्थल, निबासस्थल बनाए।उनले मार्गकृष्ण चतुर्दशी (बालाचतुर्दशी)का दिन एक सिंगे मृग भई विहार गर्न थाले । पार्वती बागमती नदी किनारमा गुह्वेश्वरीका रूपमा रहिन् । पार्वतीसहित महादेव कैलाशमा लामो समयसम्म नहुँदा सबैतिर शून्य हुन थाल्यो । उनीहरूलाई खोज्दै देवताहरू श्लेष्मान्तक वनमा आइपुगे । बागमती नदी किनारमा तपस्यारत एक कन्या माता पार्वती हो भनी चिनेपछि उनीहरूले “शङ्गर कहाँ हुनुहुन्छ रु” भनी ब्रम्हा, विष्णु र इन्द्रले सोधे ।

पार्वतीले “बागमती नदीको नैर्ऋत्य दिशामा अनेक फूलले शोभायमान वनमा एक सिड्डे मृग भई विहार गरिरहेको ” जानकारी दिइन्।मृगस्थलीमा देवताहरूले खोज्दै जाँदा मृगरूपी महादेवलाई देखे । देवताहरूसहित ब्रम्हा, विष्णु र इन्द्रले उनलाई खुसी पार्न स्तुति गरे । अनेकौँ प्रयास गर्दा पनि शंकरले मृगरूप नछोडेपछि ब्रम्हादि देवताहरूले आपसी सल्लाह गरी समात्ने कोशिस गरे ।

दैवसंयोग पक्रनेबित्तिकै मृगरूपी शंकरको सिड्ड भाँचिएर तीन टुक्रा भयो । इन्द्रको हातमा सिड्डको टुप्पो, ब्रम्हाको हातमा सिड्डको बीच भाग तथा विष्णुको हातमा सिड्डको फेद पर्‍यो । अब उनीहरूलाई झन् समस्या आइलाग्यो । कसो गर्ने भनी महादेवको स्तुति गर्न थाले । स्तुतिबाट प्रसन्न भोलेबाबाले भने-

“हे ब्रम्हाजी – तपाईंका हातमा भएको सिड्ड बागमती नदी किनार (गोकर्ण)मा राख्नुहोस् । हे विष्णु – तपाईंसँग भएको सिङ रसातलमा सुरक्षाका साथ राख्नुहोस् । हे इन्द्र – तपाईंसँग भएको सिङ स्वर्गमा लगेर स्थापना गर्नुहोस् ।” उनीहरूले महादेवको आज्ञाअनुसार सिङ तत्तत् स्थानमा राखे । यही समयमा महादेवले आफ्नो मृगको शरीरले मूर्ति बन्ने र त्यो चार मुखे मूर्ति चाँपको फेदमा रहने भविष्यवाणी गरे । यो घटना सत्ययुगमा भएको वर्णन छ । कुन कल्पको सत्ययुगमा भएको हो अनुमान गर्न गाह्रो छ ।यद्यपि पशुपतिको अस्तित्व प्राचीनतम भएकोमा कुनै द्विविधा नहोला ।

शिवपुराण ९रुद्रसंहिता अध्याय नौ०मा पशु, पशुपतिका बारेमा व्यापक चर्चा छ । त्रिपुर शहरलाई नष्ट गर्न शङ्गरको नेतृत्वमा देवसेना सफल भएका थिए । सबै देवतालाई पशुभावमा राखेर शिव नै पशुपति भएको चर्चा यहाँ छ । यही समयदेखि उनलाई पशुपति भन्न थालिएको हो । परमात्मा शिवको उत्पत्तिको तिथिमिति आजको समयबाट गन्न र भन्न सकिँदैन । पशुपतिपछि कालको उत्पत्ति हुनाले ठोस मिति वा प्रमाण छैन । विक्रम सम्वत्, शालिवाहिनी शाके, सन्, नेपाल सम्वत जस्ता संवतहरूको प्रयोग निकै पछाडि भएको हुनाले भगवान शिवको जन्मलाई नाप्न मिल्दैन ।

हिमवत्खण्ड ९७७.२६–२७० मा माटाले पुरिनुका साथै त्यहाँ घाँस आदि उम्रियो । त्यस ठाउँमा हजारौँ वर्षसम्म कामधेनु गाईले नित्य बागमती नदीमा स्नान गरी दूध चढाउँथिन् ।” कुनै एक दिन कसैले गाईले दूध चढाएको देख्यो र जिज्ञासा लागेर खन्दा अत्यन्त तेजोमय ज्योतिर्लिड्ड प्रकट भयो । यस लिंगको तेजलाई सहन नसकेर म्लेच्छहरू त्यसैमा लीन भए ।

रत्नाकरले रामनामद्वारा वाल्मीकिमा रुपान्तरण गरे, कालीदासले देवीको कृपाबाट संस्कृतभाषाका आदिकवि बनेजस्तै म्लेच्छहरु खरानी बनेका होइनन् ज्योतिको दर्शनबाट ज्ञानी भएका हुन् ।

देवमालावंशावलीका अनुसार यो घटना द्वापरयुग ८४३ बाँकी रहँदा भएको थियो अर्थात् झण्डै पाँच हजार नौ सय वर्ष पहिले भएको थियो । पशुपतिपुराणका अनुसार आजभन्दा झण्डै पाँच हजारवर्ष पहिले पशुपतिलाई महाज्योतिर्लिड्ड स्वरूपमा ग्वालाले दर्शन गरेको प्रष्ट छ ।

श्रीकृष्णको जन्म द्वापरयुगको अन्ततिर भाद्रकृष्ण अष्टमीमा भएको थियो । उनका छोरा प्रद्युम्नले इन्द्रदमन राक्षसलाई मारेर नागदहको पानी खोलेपछि काठमाडौँउपत्यका बस्तीयोग्य भयो । विष्णुले लक्ष्मीलाई पत्नी रूपमा पाऊँ भनी पशुपतिको तपस्या गरेको वर्णन हिमवत्खण्डमा छ । यसबाट पशुपति महाज्योतिर्लिड्डको पूजा, उपासना धेरै पहिलेदेखि हुँदै आएको प्रष्ट हुन्छ ।

देवता, दानव, मानवहरूले आफ्नो इष्ट सिद्धिका लागि आदिमकालदेखि पशुपतिको साकार र निराकार, पार्थिव एवं ज्योतिस्वरूपमा पूजाआजा एवं चिन्तन गरे । डा.जगदीशचन्द्र रेग्मीज्यूले पशुपतिको मूर्ति स्थापना सन् ५३३ भन्दा पहिले भइसकेको बताएका छन् । राष्ट्रियस्तरमा वृहत्तररूपले अनुसन्धान नहुनु, अनुसन्धानकर्ता एवं धर्मावलम्बीले यसको उत्कर्ष नचाहनु, पुराणहरूले युगको वर्णन गरी मिति नतोक्नु जस्ता कारणले पशुपति उत्पत्तिको निश्चित तिथि, मिति भन्न सकिँदैन ।

पशुपतिको ज्योतिस्वरूपको उत्पत्तिलाई तिथिमितिमा मापन गर्न सकिँदैन । मूर्ति निर्माणका सम्बन्ध आधिकारिक खोज गर्न वैदिक शास्त्र, तन्त्रशास्त्र, इतिहास, विभिन्न वंशावली, स्थानीय आख्यान, पुरातत्व आदिको सहयोग लिन आवश्यक छ । मन्दिर निर्माण गोपालकालदेखि हुँदै आए पनि पशुपतित्वको उपासना, पूजन, चिन्तन वैदिककालदेखि थियो । देवीदेवता र ऋषिमुनिहरुसमेतले दर्शन तथा साधना गरेका हुँदा आदिम कालदेखि शिवस्वरुप पशुपति रहेको प्रष्ट हुन्छ ।

किरातकालमा मात्रै होइन लिच्छविकालका प्रसिद्ध राजाहरू मानदेव, अंशुवर्माको पालामा पशुपतिको महिमा उत्तिकै पाइन्छ । लिच्छविकालिक शिलालेखहरूको शिरोभागमा साँढे (नन्दी) बनाउने चलनले यहाँ शैव संस्कृतिको प्रभाव रहेको पुष्टि हुन्छ । जब मानिसको साधना र ब्रम्हचिन्तनप्रति मन जान छोड्यो त्यसपछि विभिन्न तीर्थस्थलमा मूर्ति निर्माण गर्ने होड चल्यो ।

यही परम्पराअनुसार वर्तमान पशुपतिको मूर्तिनिर्माण कलियुग प्रारम्भसँगै भएको बुझिन्छ । पशुपतिको सत्यतथ्य उत्पत्तिका बारेमा कि त मौन बहने पवित्रतम बागमती नदीलाई थाहा छ, कि त शान्त र सौम्य भएर कैयौँ समयदेखि पशुपतिलाई दर्शन गर्दै बसेका कैलाश र मृगस्थली पर्वतलाई ज्ञान छ, कि त मुक्ति र शक्ति दिने घाटहरुलाई अवगत छ, कि त अनादिदेव पशुपतिलाई नै जानकारी हुन सक्छ ।


आखिर जे होस् ,भगवान पशुपतिनाथ अनादिकालका देवताका पनि देवता हुन्। उनको महिमा र महत्त्व अहिलेको विज्ञानको युगमा पनि उत्तिकै छ।त्यस कारण यसको थप अध्ययन र अनुसन्धान हुन पनि जरुरी छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : १० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित