२९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026

बाल संरक्षण भत्ता वितरणको अनियमितता मुद्दामा तीनजनाविरुद्ध मुद्दा दायर


८ श्रावण २०८३, शुक्रबार  


अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)ले महोत्तरीको साबिक भरतपुर गाविसमा आर्थिक वर्ष ०६८/६९ को बाल संरक्षण भत्ता वितरणमा भएको अनियमिततासम्बन्धी मुद्दामा तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अनुसन्धानका क्रममा बाल संरक्षण भत्ताका लागि निकासा भएको तीन लाख सात हजार दुई सय रुपैयाँ सम्बन्धित लाभग्राहीलाई वितरण नगरी नक्कली भर्पाई तयार गरी हिनामिना गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

मुद्दा दायर हुनेमा तत्कालीन गाविससचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति महोत्तरीका सहायक लेखापाल सुरुज साह रहेका छन्। अख्तियारले तीनैजनाविरुद्ध तीन लाख सात हजार दुई सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो असुलको मागदाबी गरेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ३ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित