बिहीबार बिहान करिब ६ बजेर ४५ मिनेटको समय हुँदो हो, त्यत्तिबेला भक्तपुरको बोडे सिन्टीटारस्थित एक घरमा दुई बहिनीको रहस्यमय मृत्यु भएको खबर बाहिरियो । स्थायी घर सुर्खेत भइ हाल भारतको मुम्बइमा बाआमासंगै रहेका उनीहरु हराएका थिए।
भारतमा बाआमाबाट खोजि भइरहेका १३ वर्षीय सिर्जना कँडेल र १६ वर्षीय मेनुका कँडेल मृत्य अवस्थामा भेटिएका हुन्। मध्यपुरको ठिमी नगरपालिका वडा नम्बर ८ बोडे सिन्टीटारस्थित एक घरमा मेनुका र सिर्जना मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिएका यी दिदीबहिनीहरु भारतबाट हराएको यस अघि खुलेको थियो। करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएका उनीहरु शंकास्पद अवस्थामा भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् । बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोरी दिदीबहिनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक तथा तथा प्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।
प्रवक्ता न्यौपानेका अनुसार बिहीबार बिहान करिब ६ः४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका हुन् । उनीहरुको स्थायी ठेगाना सुर्खेत पञ्चपुरी नगरपालिका ८ हो । उनीहअरु एकाघरकै दिदी बहिनी हुन्। उनीहरुलाई कोठामा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीले उनीहरूको शव उठाएको छैन । आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि शप नउठाइएको हो । उनीहरुका बाआमा आजै विमानमार्फत काठमाडौं आउने तयारीमा रहेको प्रहरीले बताएको छ ।
उनीहरूको मृत्यु शंकास्पद देखिएको छ । मृतक किशोरीका बाबुआमाले भने अनुसार आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएका देखिन्छ । मृत्युको खबर पाउनु अघि नै उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए । सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बुबा बासुदेव कँडेल र आमा उमा कँडेलले सीसी क्यामरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए ।
उनीहरूले यो कुरा तीन दिन पहिला अर्थात यही साउन साउन ५ गतेका दिनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाटै खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा भक्तपुरमा मृत भेटिएको खबर सार्वजनिक भएको हो ।होटलमा काम गर्ने हो या होइन त्यो पनि यकिन नभएकोले अहिले सबै विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार मृत भेटिएका ती किशोरीहरु गएको दुई हप्तादेखि यसघरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताइएको छ। अहिले घटनास्थल सुरक्षित पारेर राखिएको छ ।
भारतीय टेलभिजनमा किशोरीका बाबु वासुदेवले बताएअनुसार उनीहरु ३० वर्षभन्दा पहिलादेखि भारतमा बस्दै आएका छन्। कान्छी छोरी सिर्जनालाई जन्मेको एक वर्षपछि आफूसँगै लगेका थिए । मृत भेटिएकी दिदी मेनुका भने सुर्खेतमै जन्मेकी थिइन् ।उनी श्रीमती र छोराछोरीसहित वासुवेद मुम्बईमा लामो समयदेखि बस्दै आएका छन् । मेनुकाले पनि बाबुआमासँगै भारत जाने, घुम्ने बस्ने इच्छा देखाएपछि उनलाई पनि सँगै लगिएको थियो ।
भर्खर भारत गएकी मेनुकालाई हिन्दी आउँदैनथ्यो । छोरीहरूलाई भारतमा बासुदेवले सिलाइबुनाइ र कम्प्युटरको क्लास भर्ना गराइदिएका थिए । तर, करिब तीन साताअघि कम्प्युटर क्लास जान्छु भनेर गएका छोरीहरू घर फर्किएनन् । त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन । आमा उमाले मेसेन्जरमा मेसेज पठाएकी थिईन्। कान्छी छोरीको भ्वाइस म्यासेज आयो, ‘ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।’त्यसपछि उमा झस्किइन् । श्रीमान् वासुदेवलाई फोन गरेर घटनाबारे जानकारी गराइन् । कामबाट फर्किएर घर आइन् । श्रीमान् पनि कोठामा आइपुगे ।
हेर्दा छोरीहरूका कपडा छैनन् । पैसा छैन । एटीएम, आधार कार्ड छैन । आफन्तकोमा पनि छैनन् । कम्प्युटर क्लास जान्छु भनेर हिँडेका छोरीहरू बेपत्ता भएपछि उनीहरू प्रहरीदेखि सामाजिक संस्थालाई जानकारी गराउँदै खोजी तीव्र पारे ।तर, त्यसको केही समयपछि दुईवटी छोरीको रहस्यमय मृत्युको खबरले स्तब्ध भए। कलकलाउँदा छोरीहरुको रहस्यमय मृत्युले विछिप्त भएका बासुदेव र उमाले शव बुझेपछि प्रहरीले अनुसन्धान अघि बढाउनेछ, उनीहरुको रहस्यमय मृत्युको वास्तविकता अवस्य बाहिर आउनेछ। ००००








