१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मधेशमा अमृत वर्षा, सुक्खाग्रस्त मधेशलाई राहात, रोपाइँमा किसान व्यस्त


२० श्रावण २०८२, सोमबार  


लामो खडेरीले आक्रान्त मधेशले राहत पाएको छ। गएको शनिबार र आइतबार वर्षा भएपछि राहत मिलेको हो। पानी परेपछि किसानलाई धान रोपाइँ गर्न भ्याइनभ्याई छ।


अधिकाँश खेत आकाशे पानी मा निर्भर छन् ।अहिलेसम्म मधेशमा आधा क्षेत्रफल मात्रै धान रोपाइँ भएको छ। मधेशमा ५७.२७ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । नहर, कुलोपैनी, स्यालो टयुवेल, डिप बोरिङ र छिटफुट वर्षाले धान रोपाइँ गरिएको हो ।

शनिबारदेखि हिलाम्मे हुने गरी पानी परेकाले किसानहरु धान रोपाइँ कार्यमा व्यस्त भएका छन् । अन्य सबै काम छोडेर धानको ब्याडमा बिउ उखेल्न, खेतलाई हिलाम्मे पार्न किसानहरु आइतबार बिहानैदेखि लागिपरेको देखिन्छ। सुक्खा अवस्थामा पानी पर्ने आश र भरोसा गरेर जेनतेन ब्याडलाई जोगाइ राखेकाले अहिले रोपाइँमा त्यही बीउ काम लाग्ने भएको किसानले बताएका छन् ।

धान रोपाइँका लागि आवश्यक जति पानी परेकोले तत्काल धान रोप्न कुनै समस्या नरहेको जनकपुरका किसान सन्जय यादवले बताए । उनले ब्याडमा बिउ छिप्पिए पनि रोपाइँ गर्न सकिने बताएका हुन् ।

मधेशमा रोपाइँको अवस्था

मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा कम सप्तरी, सिराहा, महोत्तरी र धनुषा गरी चार जिल्लामा रोपाइँ भएको छ । महोत्तरीमा ४२ हजार पाँच सय हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामध्ये १५ हजार ८९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । अर्थात् ३९।७३ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत सरोज चौधरीले जानकारी दिए । सप्तरीमा ४० र धनुषामा ४० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको उनले बताए। । सिराहामा पनि ५० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । पर्सामा ८५, बारामा ८३, रौतहटमा ७३ र सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

वर्षाको अवस्था

मधेशमा पछिल्लो गएको २४ घण्टामा विभिन्न केन्द्रहरूमा मध्यमदेखि धेरै भारी वर्षा नापिएको छ । जल तथा मौसमविज्ञान विभागले सिराहाको सिराहा हाइड्रो केन्द्रमा २४ घण्टामा १०१.६ मिलिमिटर वर्षा मापन गरेको जनाएको छ, जुन २० घण्टाभन्दा बढीमा १०० मिलिमिटरमाथिको वर्षालाई “धेरै भारी वर्षा’’ मानिन्छ । सिराहाकै लहान केन्द्रमा ७७.२ मिलिमिटर, गोलबजारमा ५२.८ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी सप्तरीको बरमझिया केन्द्रमा ९३ मिलिमिटर, रुपनी बजारमा ८२ मिलिमिटर, कल्याणपुरमा ४९.४ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, तुलसीमा ४७.८ मिलिमिटर, महोत्तरीको गौशालामा ५८ मिलिमिटर र सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा परेको छ । बाँकी तीन स्थानहरुमा पनि यस्तै आसपासको वर्षा भएको विभागले जनाएको छ ।

यता वर्षाले केही राहत त दिएको भए पनि पानी जम्ने, नदी किनारमा जलमग्नता र जोखिमलाई विचार गर्दै सतर्क रहन स्थानीयस्तरमा सचेतना अपनाउन आग्रह गरिएको छ ।

अहिलेको वर्षाले रोपाइँ गर्न बाँकी रहेको करिब ४३ प्रतिशत हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामा पूर्ण रोपाइँ सम्भव नरहे पनि धेरै हदसम्म रोपाइँ गर्न सकिन्छ, कृषिविज्ञ अनुपलाल साहले बताए । रोपिएको धानका लागि अमृत, जमिनको रिचार्जमा सहयोगको साथै खानेपानीको सङ्कट, जमिनमुनि पानी सतह कायम गर्न ठूलो राहत पुगेको उनी बताउँछन्।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेशमा पाँच लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य छ । जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल जग्गमा धान रोपाइँ हुने गरेको छ । अहिलेसम्म दुई लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  ६ : १२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित