घोराही–तुलसीपुर फोरलेन सडकको फेरि ठेक्का लागेको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले दिवा÷बन्दन भगवती जेभी काठमाडौंसँग मंगलबार खरिद सम्झौता गरेको हो ।
दिवा बन्दन भगवती जेभीसँगै रौताहा÷खानी जेभी प्रालि त्रियुगा उदयपुर, लामा कन्स्ट्रक्सन महाराजगञ्ज काठमाडौं र आशीष निर्माण सेवा प्रालि भरतपुर चितवन अन्तिम प्रतिस्पर्धामा थिए । पौने चार अर्बको ठेक्कामा २३ प्रतिशत घटेर प्रस्ताव पेश गरेको दिवा÷बन्दन भगवती जेभी काठमाडौंले ठेक्का पाएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सूचना अधिकारी प्रकाश मगरले जानकारी दिए। निर्देशनालयका अनुसार दुई अर्ब ५२ करोड ३७ लाख दुई हजार तीन सय ६१ रुपैयाँमा निर्माण कम्पनीसँग खरिद सम्झौता भएको छ ।
ठेक्का प्रक्रियाको र खरिद सम्झौतासम्मको काम निर्देशनालयबाट भए पनि कार्यान्वयनको काम सडक डिभिजन दाङले गर्नेछ । ३६ महिनामा सम्पन्न गर्ने गरी निर्देशनालयले ठेक्का लगाएको हो ।केही समयअघि नै ठेक्का लाग्ने भनिए पनि एकजना निर्माण व्यवसायीले आफू पनि यस ठेक्का प्रक्रियामा सहभागी हुन पाउने भन्दै सार्वजनिक खरिद समितिमा निवेदन दिएका कारण ठेक्का सम्झौतामा केही ढिलाइ भएको हो ।
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार घोराही–तुलसीपुर सडकखण्डको करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रमा घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मै फोरलेन बनाउने गरी ठेक्का लागेको छ । बबईदेखि तुलसीपुरसम्मको फोरलेन सडकको लागि लमही–घोराही–तुलसीपुर योजनाको नाममा २०७५ माघ १४ गते ठेक्का सम्झौता भए पनि काम नभएर अलपत्र परेको थियो । कामै नभएपछि ठेकेदार कम्पनीसँग २०७९ चैत २६ गते ठेक्का तोडिएको थियो । भारतको एक्सपोर्ट इम्पोर्ट ९एक्जिम० बैंकको ऋण सहयोगमा सडक निर्माणको ठेक्का पाएको भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिलाई एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलरमा सम्पन्न गर्ने गरी लगाएको ठेक्का तोडिएको अढाई वर्षपछि फेरि नेपाल सरकारले बनाउने गरी ठेक्का सम्झौता भएको हो ।
सडक सुधार तथा विकास आयोजना निर्देशनालयले एक्जिम बैंकको ऋण सहयोगमा बनाउने गरी प्रक्रिया थाले पनि उताबाट कुनै प्रतिक्रिया नआएपछि नेपाल सरकारले नै नयाँ ठेक्का लगाएर काम गर्न थालेको हो । भारतीय सहयोगको बारेमा कुनै प्रतिक्रिया नआएपछि नेपाल सरकारले बहुवर्षे परियोजनाअन्तर्गत काम गर्ने भनेर विभागीय निर्णय गरेको थियो । नेपाल सरकारले नै सडक बनाउन मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्कालगायतको व्यवस्थापन गर्ने र कार्यान्वयन सडक डिभिजन दाङले गर्ने गरी काम हुन थालेको सडक डिभिजन दाङका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए।
यसअघि लमही–घोराही–तुलसीपुर योजनाको नाममा ठेक्का गरिएको सडकको शुरुको सम्झौतामा २०७८ जेठ ६ गते सडक निर्माण गरिसक्नुपर्ने थियो । त्यो अवधिमा सात प्रतिशतमात्रै काम भएपछि २०७८ साउन २७ सम्म सक्ने गरी पुनः म्याद थप गरियो । फेरि २०७८ पुस २८ गतेसम्मका लागि अर्को म्याद थप गरियो । दुईपटक थप गरेको म्याद गुजारेको निर्माण कम्पनीलाई फेरि २०७९ वैशाख २९ गतेसम्म काम सक्ने गरी म्याद थप्दा पनि काम नभएर सडक अलपत्र भएको थियो । फोरलेन ठेक्का कतै टु लेन त कतै फोरलेनको रुपमा थियो । बबईदेखि तुलसीपुरसम्मको सडकखण्डमा २८।१९ किमी सडक बबईदेखि घोराही र घोराहीदेखि तुलसीपुर गरी दुई खण्डमा निर्माण गर्ने ठेक्का सम्झौता गरिएको थियो ।
यस पटक भने घोराहीदेखि तुलसीपुर एकै खण्डमा सबै फोरलेन गराउने गरी सम्झौता भएको निर्देशनालयले जनाएको छ । फोरलेन सडककै लागि पुल पनि फोर लेन बनाउने गरी केही खोलामा ठेक्का पनि लगाइ सकिएको छ । कालाखोलामा ९० मिटर लम्बाइ भएको फोरलेनको, ग्वारखोलामा दुई सय २० मिटर लम्बाई भएको दुई लेनको, हापुर खोलामा एक सय ५० मिटर लम्बाई भएको फोरलेन र निर्माणाधीन रहेको सेवारखोलामा ७० मिटर लम्बाई भएको फोरलेनको पुल निर्माणका लागि ठेक्का सम्झौता भएर डिजाइन पनि सम्पन्न भइसकेको सडक विभागअन्तर्गतको पुल सेक्टर कार्यालय नेपालगञ्जले जनाएको छ ।








