स्थानीय सीपले स्थानीय सरकार घरदैलोको सरकार हो । यही भुइँ तहको सरकारले वास्तवमा जनताको दुःख,सुख र उनीहरुको समस्यालाई बुझेको हुन्छ । जनताको धेरै अपेक्षा र विश्वासपनि स्थानीय सरकारसंग भएको पाइन्छ । त्यस्तै एउटा स्थानीय सरकार हो, राप्ती गाउँपालिका ।
दाङ देउखुरीमा पर्ने राप्ती गाउँपालिकाले उद्यमको माध्यमबाट स्थानीयहरुको सीप, जाँगरलाई उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउने गरेको छ ।

यद्यपि पालिकामा धेरै नमुनायोग्य कामहरु नभएका भने होइनन् । ती मध्ये एक हो, महिला सहकारीको माध्यमबाट स्थानीय महिलाहरुलाई उद्यममा संलग्न गराएको एक नमुनायोग्य कार्यक्रम । पालिकाभित्र नमुना उद्यमी बनेका महिलाहरुको एउट सहकारी समूह छ । त्यो हो, राप्ती महिला श्रमिक सहकारी संस्था ।
यही सहकारी संस्थाको माध्यमबाट पालिकाको साथ र सहयोगले उद्यमी स्थानीय महिलाहरु बनेका हुन् । यहाँ उनीहरुले हाते कपडा उद्योग संचालन गरेका छन् । कुनै सीप नभएका महिलाहरुले अहिले आफ्नै हातबाट उद्योग चलाएको र आफूहरु रोजगार भएको बताउँछिन्, उद्यमी सुति बुढामगर ।
राप्ती गाउँपालिकाले यहाँका २१ जना महिलाहरुलाई तालिम दिएको थियो । जस मध्ये यतिबेला १८ जना प्रत्यक्ष रोजगारीमा संलग्न भएका छन् । पालिकाले १० वटा कपडा बुन्ने हाते मेशिन अनुदानमा दिएको छ । पालिकाले हालसम्म १३ लाख बढी अनुदानको मेशीन तथा तालिम दिएको छ । हातेकपडा उद्योग संचालन गरिरहेका उनीहरुलाई पछिल्लो समय झोला बुन्नका लागि मेशिन दिएका हो ।

पालिकाको अनुदान र तालिप प्राप्त गरेपछि यहाँका सहकारीमा आवद्ध महिलाहरु पालिकाको वडा नम्बर १को राप्ती महिला श्रमिक सहकारी संस्थाद्वारा सञ्चालित हाते कपडा उद्योग संचालनमा व्यस्त भएका हुन्छन् । आफूहरुले उत्पादन गरेका सल र साडीको माग पनि उत्तिकै भएको उद्यमी चमीदेवी पुनमगर बताउँछिन् ।
ग्रामीण महिलाहरुलाई उद्यमी बनाउनका लागि पालिका सरकारले हालसम्म १३ लाख बराबरको खर्च गरेको छ । जसबाट प्रत्यक्षरुपमा १८ जनाले रोजगारी पाएका छन् , भने सल साडी मात्रै बुन्दै आएका उनीहरुलाई पालिकाले झोला बुन्ने मेशीन पनि उपलब्ध गराएपछि थप उनीहरु उत्साहित भएका छन् । २०८१ जेठमा सहकारी दर्ता गरी हाल सहकारीमा आवद्ध महिलाहरुलाई रोजगारी दिइएको छ । पालिकाको सहयोगमा उद्योग सञ्चालन गरे गरेर आफूहरुले आयआर्जन गर्न सकिएको सहकारीकी अध्यक्ष विस्पुरा घर्तीमगर बताउँछिन् ।
हाल यी महिलाहरुले हातबाट कपडा उत्पादन गरिरहेका छन् । यसलाई निरन्तरता दिन अटोमेटिक मेशीन उपलब्ध भएमा थप उत्पादन र रोजगारी वृद्धि गर्न सकिनेमा उनीहरु आशावादी छन् । थुप्रै बेरोजार महिला, युवा सबैलाई रोजगारी दिन सकिनेमा उनीहरु ढुक्क छन् ।

राप्ती पालिकाको उद्यम विकास कार्यक्रम अन्तरगत उनीहरुले यो अवसर पाएका हुन् । पालिकाको साथ र सहयोग अनि महिलाहरुको जागँरका कारण यहाँको महिला उद्यम कार्यक्रम सफल भएको देखिन्छ । त्यस्तै पालिकाले यहाँका महिलाहरुलाई दूना टपरीको पनि तालिम दिएको छ । जसबाट महिलाहरु उद्यमी बन्ने मात्रै होइन, आर्थिक उपार्जन पनि गर्ने गरेका छन् ।०००








