३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

स्थानीयलाई रोजगारी दिनेगरी पाथिभरा केबलकार निर्माण गरिने अध्यक्ष ढकालको प्रतिवद्धता


२७ माघ २०८१, आइतबार  



पाथीभरामा केबलकार निर्माणले पर्यटन प्रवर्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।पाथीभरामा केवलकार बनाउने कम्पनी पाथीभरा देवी केबलकार प्रालि हो । यस कम्पनीका अध्यक्ष चन्द्र ढकालले शनिबार आयोजित एक पत्रकार सम्मेलनमा भने केबलकार परियोजनाले धार्मिक पर्यटनलाई प्रवर्धन गर्दै स्थानीय रोजगारी सिर्जना गर्छ र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउँछ ।’


केबलकार निर्माणलाई लिएर विभिन्न रुपमा बहस र विवाद भइरहेको बताउँदै अध्यक्ष ढकालले वातावरणमैत्री पूर्वाधार बनाउने जानकारी दिए । उनका अनुसार केबलकार विद्युतीय यातायात भएकाले प्रदूषण हुँदैन । उनले निर्माणका क्रममा एउटा रुख काटे त्यसको स्थानमा नयाँ २५ रूख रोप्ने प्रतिबद्धता पनि जनाए ।


ढकालका अनुसार परियोजनाले ३ सय भन्दा धेरै जनालाई प्रत्यक्ष रोजगारी दिनेछ । कुल रोजगारीमा प्राविधिक बाहेक ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने छ । उनले अहिले पाथीभरा क्षेत्रमा भरियाका रूपमा काम गरिरहेका सर्वसाधारणलाई वैकल्पिक रोजगारी उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । उनका अनुसार परियोजनाबाट आर्जन हुने नाफाको केही हिस्सा स्थानीयरुपमा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा लगानी गरिने छ ।


निर्माण कम्पनीका अनुसार पाथीभरामा बन्ने केवलकार २.७५ किलोमिटर लामो हुनेछ । यो लाइनमा ३६ यात्रुवाहक र २ सामान बोक्ने गोन्डोला बनाइने छन् । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न १० मिनेट ३१ सेकेन्ड लाग्नेछ ।


अहिले केबलकार निर्माणलाई लिएर स्थानीयस्तरमा विवाद भइरहेको छ । यो विवाद केन्द्रसम्म आएकाले यो समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच वार्ता टोली गठन भएको छ ।वार्तापछि केबल निर्माणको लागि सहज वातावरण बन्नेमा हामी विश्वस्त छौ, ‘अध्यक्ष ढकालले भने ।
अध्यक्ष ढकालले पाथीभरामा केवलकार बनाउन सरकारले सर्तसहित अनुमति दिएको जानकारी दिंदै सरकारले राखेको सर्त अनुसार नै काम अघि बढाउने बताए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : १८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित