पोखरा महानगरपालिका– २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ सार्वजनिक जग्गा कब्जा गरेको पाइएको भेटिएको छ ।
पोखरा महानगरपालिकाले ३५ दिनभित्र सार्वजनिक पर्ती ऐलानी आ दि स्थानमा अनधिकृत रूपका बस्ती हटाउन एक सूचना जारी गरेको थियो ।
यो सूचना जारी भएपछि वडाध्यक्ष गुरूङले नै सार्वजनिक जग्गा कब्जा गरी निजी र घर मन्टेश्वरी स्कुल संचालन गरेको पाइएको हो ।
वडाध्यक्ष गुरुङले विगत ३६ वर्षदेखि पोखरा– २९ भण्डारढिकस्थित साढे दुई रोपनी सार्वजनिक जग्गा अर्थात चौर कब्जा गरी बस्दै आएको भेटिएको हो । एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले आफू साढे दुई रोपनी सार्वजनिक जग्गामा बस्दै आएको बताए पनि स्थानीयका अनुसार उनले प्रयोग गर्दै आएको जग्गा चार रोपनीहाराहारीमा छ । हाल सो जग्गामा वडाध्यक्ष गुरुङले स्थानीय शीतला अधिकारीसँगको साझेदारीमा मन्टेस्वरी स्कुल पनि सञ्चालन गर्दै आएका छन् । यसअघि यश जग्गामा वडाध्यक्षले रेस्टुरेन्ट सञ्चालन गरेका थिए । उनले प्रयोग गर्दै आएको जग्गामा टिनका टहरासँगै एउटा एक तला ढलान र त्यसमाथि टिनको छानासहितको दुईतले घर छ ।ही ढलान घरको तलामा उनी बस्दै आएका छन् ।
स्थानीयका अनुसार तत्कालीन अवस्थामा उनले आफ्नो नाममा भएको जग्गा बिक्री गरी सार्वजनिक जग्गा कब्जा गरेका हुन् । हालको पोखरा–२३ पन्चासेस्थित सिदानेबाट ०३२ मा आमाबुबा र तीन दाजुभाइसहित पोखरा झरेका गुरुङ परिवारले त्यसको केही समयपछि भण्डारढिकमा ६–७ रोपनी जग्गा खरिद गरेका थिए । खरिद गरेको जग्गा भागबन्डा लगाउँदा उनको भागमा एक रोपनी परेको थियो । आफ्नो नामको जग्गा उनले २०४३ मा बिक्री गरी त्यसको केही समयपछि उनीसँगै नौजना स्थानीयले खेल मैदानका रूपमा प्रयोग गर्दै आएको जग्गा कब्जा गरी बसेका थिए । स्थानीयका अनुसार तत्कालीन अवस्थामा भण्डारढिकमा गुरुङले नै खाली जग्गामा मान्छेहरू ल्याएर बसाल्न सुरु गरेका थिए ।
वडाध्यक्ष श्रीप्रसाद गुरुङले २०४८ सालदेखि साढे दुई रोपनी जग्गा प्रयोग गर्दै आएको स्विकारेका छन् । पछिल्लो समय यही स्थानमा मन्टेश्वरी स्कुल पनि चलाएको बताए ।








