२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

विदेशी स्याउ विस्थापित गर्दै कर्णालीकाे स्याउ


२५ आश्विन २०८१, शुक्रबार  


कर्णाली प्रदेशका हिमाली जिल्लाबाट स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको विक्री बन्द भएको छ ।

कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको विक्री बन्द भएको हो ।

भारत र चीनबाट भित्रिएका महंगाे स्याउले बजार लिएपछि समयमै कर्णाली प्रदेशबाट ल्याइएको स्याउ सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जमा सस्तोमा पाउन थालेपछि अन्य स्याउको विक्री बन्द भएको छ। 

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा अहिले कर्णालीको स्याउले जताततै बजार लिएको छ । 

भारतीय स्याउ प्रतिकिलो १५० देखि २५० रुपियाँ र चीनको स्याउ प्रतिकिलो १६० रुपियाँभन्दा बढिमा विक्री भइरहेको बेला कर्णालीको अर्गानिक स्याउ सुर्खेत र नेपालगञ्जमा प्रतिकिलो ९० देखि १२० रुपियाँसम्ममा पाइन थालेपछि अरू स्याउको विक्री बन्द भएको हुम्लाबाट स्याउ विक्रीका लिँदै गरेको व्यवसायी लक्ष्मण मल्लले बताए। 

उनले केही दिन अगाडि मात्र एक ट्याक्टर स्याउ सुर्खेत पुर्‍याएर चार घण्टा मै बिक्री भएको जनाए। भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ। 

नेपालगञ्जमा भारत सीमापारिबाट आउने भारतीयले समेत कर्णालीको स्याउ किनेर लग्ने गरेका छन् । बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा पनि अहिले ठुलो परिमाणमा कर्णालीको स्याउ बिक्री भइरहेको छ। 
यश केन्द्रले बताए अनुसार जुम्लाबाट व्यापारीले कर्णालीका स्याउ कोहलपुर र नेपालगन्ज पठाउने गरेको र त्यसको व्यापार कोहलपुर र नेपालगन्जमा निकै फस्टाएको छ। 

कर्णालीको स्याउ बजारमा आएपछि अरू सबै स्याउ हराएको स्थानीयले जनाएका छन्। नेपालगन्जमा मात्र नभई भारतको रुपैडिहा, नानपारा र बहराइचसम्म पनि कर्णालीका स्याउ विक्री भइरहेको पाइएको छ।

कर्णालीको स्याउ मिठो र सस्तो दुवै हुने भएकोले भारतमा पनि अत्यधिक रुचाइएको छ। कर्णालीबाट यो सिजनमा हालसम्म छ सय टन स्याउ आएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ४ : २२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित