मानिस जुन विचार, आचरण र धारणा धारण गर्छ, त्यो नै धर्म हो । त्यसैले मानव समाजमा अनेक धार्मिक आस्थाको विकास भएको हो ।
धर्मलाई परिभाषित गर्नु आफैमा कठिन विषय हो । किन भने यो शब्दको लामो र अनेकताले भरिएको इतिहास पाइन्छ र यसले अनेक किसिमका अभिव्यक्ति जनाउने गरेको पाइन्छ ।
यसर्थ धर्म आफैमा बहुआयामिक मात्रै होइन, बृहत र जिउँदो मानव सभ्यतासंग अन्योन्याश्रितरुपमा जोडिएको पक्ष हो ।
धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो । उसको आफ्नै स्वभाव , स्वत्व र अस्तित्व हो । आगोको धर्म तातो हुनु हो । पृथ्वीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भने जस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो ।
धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानव नै हुन धर्मको खाँचो पर्दछ। धर्म कुनै इश्वरी शक्ति पनि होइन, यो त जिउँदो र सभ्य समाजको एक आचरणीय कला हो ।
धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु यी र यस्ता सद्गुणहरू नै मानवीय धर्म हुन् ।
सनातन धर्म के हो ?
सनातन धर्म भनेको आदि अनादि कालदेखि चलिआएको प्रकृतिमा आधारित मानवीय सद्गुणरूप धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म पनि होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । सनातन धर्म विश्वको सबैभन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ ।
हिन्दु धर्म र सनातन धर्ममा के फरक छ ?
वैदिक सनातन धर्मलाई नै अचेल हिन्दु धर्म भनिन्छ । वेदमा सिन्धु भनिन्थ्यो भने कालिका पुराण, मेरुतन्त्र, शार्ङ्गधर पद्धति आदि ग्रन्थहरूमा हिन्दुशब्दको प्रयोग गरिएको पाइन्छ । सनातन धर्मलाई हिन्दु धर्म भन्नुका खास पाँच कारण यी हुन् । हिंसाबाट दूर टाढा रहने भएको हुनाले हिन्दु भनिएको हो ।हीन आचरण र हीन विचारलाई दोष दिने भएकोले हिन्दु भनिएको हो ।कठोर साधनाबाट शरीरका र मनका दोषलाई हिंसित (नष्ट)गर्ने भएकाले हिन्दु भनिएको हो । हिंकारको शब्द गर्ने गाईलाई दुहुने वा सम्मान गर्ने भएकोले हिन्दु भनिएको हो र । हिमालयदेखि इन्दुसरोवरसम्मको सदाचार पद्धति भएकोले हिन्दु भनिएको हो ।
को हुन् त हिन्दू ? हिन्दू ती हुन्। जसले ॐ कारलाई मूल मन्त्र मान्ने, सदाचार (राम्रो आचरण) मा रहने, पिता, माता र गुरुजनलाई श्रद्धा गर्ने, वेदशास्त्रको वचन पालन गर्ने, गाई, गङ्गा, तुलसी र देवमूर्तिको पूजा गर्ने, ईश्वरमा आस्था राख्ने व्यक्तिलाई हिन्दु भनिन्छ । हिन्दुधर्ममा जाति वर्ग र समुदायको पक्षपात छैन । यो सबैका लागि समान रूपले सम्मान गर्न सिकाउने धर्म हो ।
धर्म के हो ?
धर्म धारणा हो, देखावटीपन होइन । यो अनुशासनमा बाँधिएको आस्था हो । यहाँ इश्वरीय अनिश्वरीय भन्ने हुँदैन । तपाई प्राकृतिक रुपमा स्वन्त्र र सार्वभौम हुनुहन्छ । इश्वरलाई विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ ।तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो, परिवर्तन गर्न मिल्दैन । धर्म जीवनको आधार हो ।आडम्बर, अहंकार र अन्धविश्वास होइन ।
हाम्रा पूर्वजहरूको लामो इतिहास छ । हाम्रा थर गोत्र ती इतिहासका साक्षी प्रमाण हुन् । हाम्रा चाड पर्व, रीति रिवाज भाषा, कला, साहित्य, संस्कृति हाम्रा पहिचानका आधार हुन् । धामीले धर्म छोड्दा विस्तारै हाम्रा ती सबै पहिचानका आधारहरू छुट्दै जान्छन् । अनि हामी पनि समाप्त हुन्छौँ । त्यसैले हामी कसैले पनि आफ्नो धर्म छोड्नुहुँदैन । धर्म आमासमान हो । आफूलाई जन्म दिने जस्तो भए पनि आमा नै हुन् । फेर्न सकिँदैन । त्यस्तै धर्म जीवनको आधार हो परिवर्तन गर्न मिल्दैन ।
धर्म आफ्नो पहिचान हो, अस्तित्व पनि हो । त्यसैले धर्म छोड्न हुँदैन । आफ्ना पूर्खाले मानिआएको धर्म छोड्दा अफ्नो पहिचान हराउँछ । अस्तित्व हराउँछ । धर्म हराउँदा संस्कृति हराउँछ, संस्कृति हराउँदा हाम्रोपन हराउँछ । हाम्रोपन हराउँदै जाने हो भने एकदिन हाम्रो देश पनि हराउँछ । किनभने धर्म र संस्कृतिविनाको देश प्राणविनाको शरीरजस्तै हो । प्राण नभएको शरीरलाई मूर्दा भनिन्छ । त्यो धेरै दिन टिक्दैन । त्यस्तै धर्म र संस्कृतिविनाको देश धेरै दिन टिक्दैन ।
जब धर्मको विषयमा चर्चा गरिन्छ । तब तब धेरैजसो मानिसहरुको ध्यान एउटा प्रसिद्ध भनाइतर्फ जान्छ । धर्म अफिम होू। यो भनाइ जर्मन दार्शनिक कार्ल मार्क्सले सन् १८४३ तिर लेखिएको आफ्नो एकप्रसिद्ध रचनामा उल्लेख गरेका थिए। उनले भनेका थिए । उनले धर्म जनताको अफिम हो। यसले तत्कालीन युरोपेली समाजमा धर्मद्वारा मानिसलाई संवेदना र कष्टबाट छुटकारा दिने भ्रामक आश्वासन दिइन्थ्यो भन्ने तर्क प्रस्तुत गरिएको छ, उनको पुस्तकमा । तर के साँच्चै मार्क्सले भने जस्तै धर्म केवल अफिम मात्र हो ? कि त्यो मानव चेतना, सभ्यता र सत्यको उत्पत्ति गर्ने शक्ति पनि हो ?
मार्क्सले यो भनाइ कृटिक्स अफ हेगल्स फिलोसफी अफ राइटू नामक लेखमा उल्लेख गरेका थिए । जहाँ उनले आफ्ना गुरु हेगेलको आदर्शवादको आलोचना गर्दै द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई अघि सारेका थिए । हेगेलका अनुसार विचारले नै सबै वस्तुहरुको आधार तय गर्दछ। विचारप्रतिको तर्कसंग आलोचना र समर्थनको समिश्रणबाट नयाँ चेतना जन्मिन्छ। तर, मार्क्सले विचारभन्दा पहिला वस्तु हो भन्छन् । वस्तुले विचार जन्माउँछ, अनि त्यो वस्तुले पनि द्वन्द्वात्मक प्रक्रिया पार गर्छ भनी आफ्ना गुरु हेगलको आलोचना गरेका थिए। हाम्रो पूर्वीय दर्शनले पनि पहिले चेतना अनि वस्ुत भनेर परिभाष गरेको छ। तर, मार्क्सका अनुयायीहरुले पहिले पदार्थ अनि चेतना भनेर तर्क गर्दछन् । मार्क्सको यही दर्शनलाई पोपरले इतिहासको भ्रमवादी र एकङ्गगी भनेर आलोचना गरेका छन् ।
समाजको बनोट र विकासमा धेरै पक्षको प्रभाव र बहुआयामिक रहन्छ।मार्क्सले भने जस्तो मजदुर वर्गले सत्ता कब्जा गरेर अधिनायकवादी शासन सञ्चालन गर्ने कुरा यान्त्रिक मात्रै हो, यथार्थ होइन। धर्मको आलोचना मार्क्सले यहींबाट सुरु गरे उनका अनुसार धर्म एउटा कल्पनाजन्य व्यवस्थाको उत्पादन हो । जसले उत्पीडित जनतालाई राहत दिने भ्रम दिन्छ।
तर, मार्क्सको यो तर्क केवल धर्मको एक आयाममाथि केन्द्रित थियो—त्यो आयाम थियो,धर्मको संस्थागत स्वरूप, जुन सत्ताको संरक्षण गर्न प्रयोग गरिन्थ्यो। तर धर्म यतिमा मात्र सीमित छैन । धर्म केवल अफिम होइन । धर्म सत्य, चेतना, उत्तरदायित्व र मुक्ति (मोक्ष) को मार्ग पनि हो। धर्म मानव सभ्यताको जरा हो । जसले जीवनको गहिरा प्रश्नहरूमा उत्तर खोज्ने माध्यम पहिल्याइदिन्छ।
धर्म भन्नाले अहिले धेरैजसो मानिसले पंथ अर्थात् सम्प्रदाय बुझ्ने गरेका छन्। कुनै विशेष सम्प्रदाय, धार्मिक नियम, अनुयायी, पूजा–पद्धति वा संस्कारलाई धर्म मान्ने प्रवृत्ति हावी छ। तर,यस्ता सम्प्रदायहरू समयक्रममा विकसित भएका हुन।धर्मको सन्दर्भमा एउटै यथार्थमा पुग्ने विभिन्न मार्गहरु छन् । जसमा प्रत्येक पंथले धर्मको कुनै न कुनै आयाम समेट्छ । तर धर्म सम्प्रदायभन्दा धेरै व्यापक र गहिरो अवधारणा हो।
भारतमा जबसम्म शंकराचार्यको उदय भएको थिएन ।तब हिन्दू धर्मको संस्थागत रूप आजको जस्तो विकास र विस्तार भएको थिएन। त्यसबेलासम्म विविध सनातन परम्पराहरू थिए । वेद, उपनिषद्, योग, तप, अग्निहोत्र, प्रकृति पूजा आदिमा आधारित जीवनपद्धतिहरू थिए। शंकराचार्यले अद्वैत वेदान्तको दर्शन प्रस्तुत गर्दै “अहं ब्रह्मास्मि”म नै ब्रह्म हुँ, आत्मा नै परमात्मा हो भन्ने विचार दिए। उनले निर्गुण ब्रह्मको सिद्धान्त प्रस्तुत गरे। धेरैले त्यसको विरोध पनि गरे—ूयदि म नै ब्रह्म हुँ भने म पूजा किन गर्ने ? यसप्रति उत्तरस्वरूप शंकराचार्यले पञ्चदेव उपासना प्रचलनमा ल्याए ।
गणेश, विष्णु, शिव, दुर्गा र सूर्यको पूजा गर्ने प्रचलन थालनी गरियो । जसले सनातन धारालाई आजको हिन्दू धर्ममा रूपान्तरण गर्यो । यसैबेला उनले बौद्धमतको निन्दा मात्रै गरेनन्। आफ्ना चार मठहरु स्थापित गरेर भारतबाट बौद्धहरुलाई भगाउने अभियान चलाएको आरोप लाग्ने गरेको छ। बौद्ध धर्मको विनाश गर्ने शंकराचार्य भएको मानवशास्त्री विश्वभक्त दुलाल तर्क गर्दछन्। शंकराचार्यले हिन्दू धर्मको संस्थागत विकास गरेको उनको तर्क छ।
यसै गरी, जबसम्म सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेका थिएनन्, तबसम्म बौद्ध धर्मको अस्तित्व थिएन। उनले तामझामयुक्त यज्ञ र बाह्य कर्मलाई अस्वीकार गर्दै आत्मचिन्तन, मध्यम मार्ग र करुणालाई जीवनको मार्ग बनाएका थिए। पछि उनका अनुयायीहरूले उनलाई भगवानको दर्जा दिएर नयाँ धार्मिक प्रणालीको निर्माण गरे र बौद्ध धर्मको स्थापना भयो।
त्यस्तै, पश्चिम एसियामा जबसम्म हजरत अब्राहमको आगमन भएको थिएन । तबसम्म त्यहाँका मानिसहरू अनेकेश्वरवादी थिए। अब्राहमले एकेश्वरवादको अवधारणा अघि सारे । जसबाट यहूदी धर्म, पछि ईसाइ धर्म, र अन्ततः इस्लाम धर्मको जन्म भयो। प्रत्येक धर्म कुनै न कुनै युगको सामाजिक, सांस्कृतिक र दार्शनिक आवश्यकताबाट उत्पन्न भएका थियो। तर,मूलमा सबैले नै सत्य, नैतिकता, उत्तरदायित्व, र मुक्ति खोजिरहेका थिए। हरेक आ आफ्नो पंथलाई प्रस्तुत गरे । तरपनि मूल प्रेरणा धर्म थियो । त्यो धर्म जसले मानवलाई ‘सत्य र मोक्षसँग जोड्छ र जोडेको छ।
कार्लमार्क्सले गरेको व्याख्या जस्तो धर्म भन्नाले केवल सम्प्रदायलाई मात्र जनाउँदैन। प्राचीन संस्कृत साहित्य र दर्शनमा धर्मलाई ‘धृ’ धातुबाट व्युत्पन्न गरिएको छ । जसको अर्थ हो,धारण गर्नु, कायम राख्नु, सन्तुलनमा राख्नु हुन्छ । अर्थात धर्म भन्नाले कर्तव्य हो । जो हरेक मनुष्य या वस्तुले व्युत्पत्तीका साथ धारण गरेको हुन्छ। जस्तो सूर्यले ताप दिनु, नदीले बग्नु, पृथ्वीले ओजन थाम्नु यी सबै तिनका धर्म हुन्। त्यस्तै, शिक्षकको धर्म शिक्षादान गर्नु हो, न्यायाधीशको धर्म निष्पक्ष न्याय गर्नु हो, विद्यार्थीको धर्म अध्ययन गर्नु हो। धर्म भनेको यो अर्थमा कर्तव्य र जिम्मेवारीबो बोध र व्यवहार हो।
आज समाजमा कुनै व्यक्तिले भ्रष्टाचार गर्छ । अनैतिक कार्य गर्छ भने भनिन्छ—धर्म भ्रष्ट भयो । धर्मबाट च्युत भयो। त्यसको अर्थ—उ आफ्नो सामाजिक, नैतिक जिम्मेवारीबाट विचलन भयो भन्ने हो। यसले धर्म केवल धार्मिक कर्मकाण्ड वा पाण्डाकरण होइन । कुनै पण्डित राखेर गरिने यज्ञ वा पूजा पाठ मात्रै धर्म होइन, जीवनशैली र आचरण पनि हो भन्ने बुझ्नुपर्छ ।
धर्मलाई अझ गहिरो अर्थमा बुझ्दा, यो विश्वाससँग पनि गाँसिएको हुन्छ। विशेष गरी, आस्तिकहरूका लागि धर्म भन्नाले त्यो नियम हो । जसले उनीहरूलाई सत्य र निष्ठा अनि समर्पणमा विश्वास गर्न सिकाउँछ। यसको अर्थ धर्म अनुशासन हो ।जसको आधारमा मानिस जीवनमा संयम, सन्तुलन, करुणा, परोपकार र साधना अभ्यास गर्छ।कसैले भगवानको अस्तित्व लाई मान्छ, पूजापाठ गर्छ भने उसलाई धार्मिक भनिन्छ। यद्यपि यसको अर्थ केवल पूजा वा विश्वास होइन, त्यो विश्वासले उसको आचरणमा कस्तो परिवर्तन ल्याउँछ भन्ने हो। धर्मले मानिसलाई निरन्तर आत्मनिरीक्षण, आत्मसंयम र आत्मोन्नतिको मार्गमा अग्रसर गराउँछ। धर्म यति गहिरो मानवीय भावना हो कि यो विज्ञानभन्दा परको प्रश्नहरू पनि सोध्छ । म को हुँ ? किन जन्मेको हुँ ? मृत्युपछि के हुन्छ ? परम सत्य के हो ? यो दृष्टिले धर्मलाई प्रष्ट्याउँछ ।








