१० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026

कालिमाटी तरकारी बजारको सिमीमा अत्यधिक रसायन,खान अयोग्य भएपछि ‘होल्ड’


९ माघ २०८१, बुधबार  



काठमाडौ कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको हरियो सिमीमा अत्यधिक रसायन भेटिएपछि खान अयोग्य भएको भन्दै ‘होल्ड’ गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनबाट हरियो सिमी उपभोग गर्न अयोग्य भएको पाइएको हो । विभागको मोबाइल फुड ल्याब भ्यानबाट ‘र्‍यापिड रेसपोन्स टिम’ मार्फत अनुगमन गर्दा हरियो सिमीमा अत्यधिक रसायन भएको फेला परेको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार चितवनमा उत्पादित १सय १४ किलो हरियो सिमीमा ४२ प्रतिशतसम्म ‘इन्जाइम इन्हिबिसन’ रसायन पाइएको हो । अब यस सिमीलाई ३ दिनसम्म क्वारेन्टाइनमा होल्ड गरेपछि त्यसको पुनः परीक्षणपछि मात्रै बजारमा पठाइने भएको छ ।

खाद्य सुरक्षाको मापदण्ड बमोजिम इन्जाइम इन्हिबिसन ३५ प्रतिशतभन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिबिसन भएकोलाई क्वारेन्टाइनमा होल्ड गरी पुनः परीक्षण गरिने र ४५ प्रतिशतभन्दा बढी भएको पाइएमा त्यसलाई नष्ट गरिने प्रावधान रहेको छ।

विभागको टोलीले कालीमाटी बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेषबारे मंगलबार राति ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म अनुगमन र परीक्षण गरेको थियो ।

टोलीले ढुवानी गरिने साधनबाट नै नमूना संकलन गरेका थियो । अनुमगनको क्रममा आलु, प्याज, गोलभेँडा, काउली, बन्दा, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायोसाग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोडी, चम्सुर, भेन्टा, गाजर, हरियो सिमी, सुन्तला लगायत २२ प्रकारका तरकारी फलफूलहरूका १५० वटा नमुना परीक्षण गरेको थियो ।अनुगमनका क्रममा १०८ गाडीमा ल्याइएका तरकारी तथा फलफूलको स्याम्पल लिएर नमुना परीक्षण गरिएको विभागले जनाएको छ ।

फलफूल तथा तरकारीहरु नेपालको भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत विभिन्न २० जिल्लाबाट तथा एक गाडी भारतीय समेत भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : २३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित