२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

बैंकमा थुप्रियो,करिब पौने सात खर्ब लगानीयोग्य रकम !


१० पुस २०८१, बुधबार  



देशको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ। स्वदेशी उत्पादन र लगानी क्रमश ठप्प बन्दै गएको छ, भने उता बैक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा ६ खर्ब ७१ अर्बबराबर कर्जा लगानीयोग्य रकम थुप्रिएको छ । यसरी दिनदिनै तरलता थुप्रिँदै जाँदा बैंक ब्याजदर घटेर न्यून विन्दुमा पुगेको छ ।

ब्याजदर घटे पनि कर्जाको माग भने बढ्न सकेको छैन । बैंकिङ प्रणालीमा कर्जाको माग नबढ्दा अधिक तरलताको अवस्था छ । हाल करिब ४ खर्ब हाराहारी अधिक तरलता रहेको छ । अहिले तरलतालाई सदुपयोग गर्ने राम्रो अवसर रहेको भन्दै सरकार त्यसका लागि अग्रसर हुनुपर्ने अर्थविद्हरुबताउँछन् । सरकारले आन्तरिक ऋण उठाएर भए पनि खर्च बढाउन लाग्नुपर्नेमा उनीहरूको जोड छ ।

लगानीयोग्य रकम थुप्रिँदै जाँदा लगानी भने बढ्न सकेको छैन । यसको मूल कारण निजी क्षेत्रको मनोबल बढ्न नसक्नु भएको उनीहरु बताउँछन् । निजी क्षेत्रले पनि अहिले ब्याजदर कम हुँदा पनि लगानीका लागि विश्वस्त हुने आधारहरू नदेखिँदा समस्या सिर्जना भइरहेको बताउँदै आएको छ । उपभोग्य वस्तुको माग नै कम हुँदा समस्या सिर्जना भएको उद्यमी तथा व्यवसायीहरू बताउँछन् । जसकारण उद्योगहरूले आफ्नो आधा क्षमतामा मात्रै काम गर्दै आउनुपरेको छ ।
निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले काम गर्नुपर्ने जानकारहरू बताउँछन् । पछिल्लो समय बैंकरहरूले पनि सरकारले जसरी हुन्छ, निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल भन्छन्, “राष्ट्र बैंकले सबै नीतिहरूमा लचकता अपनाएको छ। यहीकारण मौद्रिक नीतिको समीक्षा यथावत् आएको हो,सरकारले खर्च बढाउने र निजी क्षेत्रको मनोबल उकास्ने काम गर्न अग्रसर भए अर्थतन्त्र फेरि पुरानै लयमा फर्कन सक्छ।”

नबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले अहिलेलाई सरकारले निर्माण व्यवसायीको रकम भुक्तानीमात्रै गरे पनि सहज वातावरण सिर्जना हुने बताउँछन । उनी भन्छन्, “निर्माण व्यवसायीको भुक्तानी सकेसम्म छिटो गर्नेतर्फ सरकार लाग्नुपर्छ । त्यसले एक किसिमको भाइब्स सिर्जना हुन्छ ।’ विभिन्न समयमा अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्रै निर्माण व्यवसायीलाई भुक्तानी गर्छौं भने पनि भुक्तानी भने हुने गरेको छैन । निर्माण व्यवसायीहरू सरकारसँग रुष्ट छन् ।”
अहिले निर्माण क्षेत्रतर्फ लगानी हुनसमेत नसकिरहेको अवस्थामा सेयर बजारमा भने लगानी बढिरहेको छ । सेयर बजारमा मात्रै लगानी बढेर अर्थतन्त्र चलायमान नहुने भएकाले घरजग्गा तथा निर्माण क्षेत्रतर्फ लगानी बढाउनुपर्नेमा जानकारहरू जोड दिन्छन् ।स–साना परियोजनामा सरकारले लगानी बढाउने र सडक विस्तारको काम निजी क्षेत्रलाई दिने हो भने पनि अर्थतन्त्रमा सुधार आउन सक्छ । थोरै खर्चमा बन्न सक्ने घर वा हाउजिङ निर्माणमा जोड दिन सकिएमा धेरै रोजगारी सिर्जना हुने र अर्थतन्त्र चलायमान बन्ने अवस्था आउँछ ।

पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अहिले लगानी नभएको अवस्थामा वातावरण अनुकूल बनाउनका लागि स–साना परियोजनामा केन्द्रित हुनुपर्ने बताउँछन् । उनी भन्छन्,”ठूला परियोजनामा एकैपटक काम हुँदैन । साना परियोजनालाई छिटो सकाउने अवस्था सिर्जना भएमा अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छ । प्रभावकारी ढंगबाट साना उद्योगधन्दालाई प्रश्रय दिएर अगाडि बढ्नुपर्छ ।”

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : २४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित