४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

कोशी ग्यासबाट लाखौं उपभोक्ता ठगीमा ,प्रति सिलिन्डरमा ४ किलो कम ग्यास !


२९ कार्तिक २०८१, बिहिबार  


कोशी ग्यासका सिलिन्डरमा चार किलोसम्म तौल कम भएको पाइएको छ ।

कोशी ग्यास उद्योगले उपभोक्ताका लागि बजारमा पठाएको चारवटा सिलिन्डरमा जाँच गर्दा चार किलोसम्म कम तौल भेटिएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका नेमुवामा रहेको उद्योगबाट फिलिङ गरी कोशीले सिलिन्डर विक्रेतामार्फत उपभोक्तासम्म पु¥याउने गर्छ । तर, बिक्रीका लागि विराटनगर– ३ बुद्धचोकमा लगिएका चारवटा सिलिन्डरमा ४ किलोसम्म कम ग्यास पाइएको छ । 

विराटनगर– ३ का किशोर चापागाईंले घुम्ने व्यापारीबाट खरिद गरेको चारवटा सिलिन्डरमा ग्यासको तौल कम भएको शंका लागेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएका थिए ।उनले आफैँले वजन जोख्दा कम भएको शंका लागेपछि प्रहरीमा उजुरी दिएको बताए ।

उजुरीपछि प्रहरीको आग्रहमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको टोलीले पनि तौल जाँच गरेको थियो । उपभोक्तासम्म आइपुगेको उक्त सिलिन्डरमा भएको ग्यासको तौल १०.७४ किलो, ९.७४५ किलो, ८.८ किलो र १३.७६५ किलो मात्र पाईएको थियो । 

यसैगरी, चारवटा सिलिन्डरको कुल तौल क्रमशः २६.४०, २५.०४५, २४.१०० र २९.०६५ रहेको थियो । नापतौल नियमअनुसार हरेक सिलिन्डरको टैर तौल १५.३ किलो र सिलिन्डरभित्रको ग्यास १४ किलो दुई सय ग्राम हुनुपर्छ । 

तौल कम भएपछि कोशी ग्यास बिक्री गर्दै हिँड्ने राजकुमार मण्डल र उद्योगका प्रतिनिधि विपिन मण्डललाई समेत रोहबरमा राखेर वाणिज्य विभागले मुचुल्का उठाएको छ । साथै,  ग्यास बिक्री गर्दै हिँड्ने मण्डललाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

नापतौल तथा गुणस्तर कार्यालयका प्रमुख शम्भुकुमार झाले घटनाबारे विक्रेता र उद्योगसँग सोधपुछ गरेर अनुसन्धान थालिसकेको र प्रहरीले पनि आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको बताएका छन्  ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १२ : २७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित