पर्यटन क्षेत्रकाे एउटा आधार मानिएकाे केबलकारले स्वदेशी तथा विदेशी पर्यटककाे मन जितेको छ। विशेषगरी आन्तरिक पर्यटककाे राेजाइमा परेको केबलकारकाे विकास र विस्तार पनि उस्तैगरि भएको छ।
हाल देशभर ७ वटा केबलकार रहेकोमा सिद्धार्थ केबलकारमा पर्यटककाे भीड लाग्ने गरेको छ । सिद्धार्थ केबलकार प्रालिले जानकारी दिए अनुसार गएको दशैं यता मात्रै ७० हजार बढीले केबलकारकाे यात्रा गरेका छन् ।बुटवलमा संचालित यश केबलकारकाे लम्बाई २ किलोमिटर रहेको छ।
हाल सिद्धार्थ केवलकार लिमिटेडको चुक्ता पुँजी ६० करोड रुपियाँ रहेको छ । त्यसलाई बृद्धिगरी एकसय करोड पुगाइने कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारी ‘गणेश’ले जानकारी दिए। अहिलेसम्म यो केवलकारमा १ अर्ब १० करोड रुपियाँ लगानी भएकाे व्यवस्थापनले बताएको छ।
बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केवलकारको वटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भइरहेको छ । नयाँबर्ष २०८२ बैसाखदेखि यो पूर्णरुपमा सञ्चालनमा आउनेछ ।
निर्माणकै क्रममा रहेको यो केवलकार गएको दसैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । केवलकार निर्माणसँगै नुवाकोटलाई थप पर्यटकीय अकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाइ सकेएपछि आगामी २०८२ बैशाख १ गते उदघाटन गर्नेगरी काम भइरहेको पनि प्रवन्ध सञ्चालक अधिकारीले बताए ।
नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नेगरी काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले बताए। उनले भने,‘केवलकार एउटा पाटो मात्र हो’ ‘नुवाकोटको आफनै विशेषता र इतिहास छ, उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।’
यश कम्पनीले हाल प्रतियात्रु ३२५ रुपियाँ शुल्क निर्धारण गरेको छ । यसलाई थोरै परिमार्जन गरेर ३५० रुपियाँ बनाउन लागिएको पनि कम्पनीले जनाएको छ । यो केवलकारमा ५ वटा संस्थागतसहित २२७ जना प्रमोटर शेयर सदस्य रहेका छन् ।
२ किलोमिटर लम्बाइ भएको यश केबलकारमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता रहेको छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ । अहिले ४८ जनाले प्रत्यक्ष रोजगारी पाएकाे पनि कम्पनीले बताएको छ।