३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

ओ, साथी भन्देउ, “मेरो देश कहाँ छ ?”


२१ असार २०८१, शुक्रबार  


-शिला धिताल

उ पारीको अग्लो भ्यूटावर, अनि त्यसको फेदीमा छ, रित्तो बस्ती। जहाँ हर दिन निस्किन्छ, युवाको ताँती,भोलिको सपना बुन्दै र तुन्दै। छाति भरी गाउँको माया छ। तर, त्यो मायाले भोको पेट र नांगो शरीर भरिन्न र ढाकिन्न रहेछ। परिवर्तनको मसाल बोकेको त्यो दिन स्मरण हुन्छ, अनि आफै बेचैन हुन्छे उ। अतितको त्यो कुर्बानी झल्यास्स सम्झिदा आफैसंग आगो ओकल्न थाल्छे उसले। साँच्चिकै देशमा थिति र विधि होला र गाउँमै पाइएला पसिना बगाउन,त्यस्तै भविष्यका सुन्दर सपना सजाउन र बाआमालाई सुख र खुशी दिने,यस्तै थिए, उसका सपनाहरु, ती कलिला मन र मस्तिष्कहरुमा ।

पाखुरी र मस्तिष्ककै बलमा सुन्दर भविष्यको रेखा कोर्ने, आफ्नै माटोमा सम्वृद्धि र सुखको नयाँ राजमार्ग पहिल्याउने; यीनै थिए, योजना उसका । तर, समय घर्किदै गयो, कलिलो जोवन पनि ढल्किन थाल्यो। थिति र विधिको कतै देखिन्न छनक। बरु,यस अन्तरालमा भ्यूटावरले डाँडाहरु छपक्क छोपिए। भ्रष्टाचारले लपक्क पोतिए शासकहरु। गैरीखेत हेर्दाहेर्दै प्लटिङले मासियो।छेवैको जरुवा पानीको मुहान सुक्दै गयो। नदी किनारा मासिदै गयो। हिउँद भरमै सखाप पारिए गाउँका जीवन जिउने आधारहरु। अनि बर्खा लाग्यो, बाढी पसेर बस्ती डुबायो। पहिरोले बस्ती खसायो।

यस्तो नियती हर दिन हर वर्ष चुलिदै गयो। जति प्राकृतिक विपत्ति आयो। उत्ति जीवनमा गरिबी र अभावको बाढी आयो। आमाको फरिया च्यातियो, फेरिदिने हैसियत छैन, घरकोछानो चुहियो, टाल्ने सुको छैन। गरिबी र बेरोजगारीको आगो लप्काले उसका हृदय हरेक दिन पोल्छ, उता दिदी बहिनी सुरक्षित छैनन। कुन बेला अस्मिता लुटिने हो, जीवन रक्षाका लागि सरकारमा हे¥यो, शासकहरुको सत्ता सर्कस छ, जोकरहरुले सत्तामा मजाक गरिरहेका हरदिन अखबरमा देख्छे र सुन्छे। मुलुक जलिरहेको छ, जोकरहरु सत्ताको बाँसुरी बजाइरहेछन्।

यता हे¥यो,उता हे¥यो, कतै छैन सुख र चैनको कुनै गुन्जायस ।हुन त उसलाई राम्रोसंग यो, थाहा छकी,यो देशमा गणतन्त्र छ,तर, सरकारलाई कर तिर्दा पनि उसलाई भने सुख छैन।पहिले कमिसन अनि कर। घण्टौ लाइनमा, घुस नबुझाउँदासम्म कर चुक्ताको कागजी खोस्टो हात लाग्दिन । खाँदा –खादैको गास काटेर उसले नेता र कर्मचारी पाल्नुपर्ने,व्यवस्था धानिदिनुपर्ने भो। सबैतिर यस्तै बेथिति र विकृतिको ऐजेरु लपेटिदै गयो। यस्तो नियती दोहोरिरह्यो,चप्पल लगाएर शहर छिरेको नेता र उसको दौतरी पजेरोमा घुइकिन थाले ।पिज्जा र ह्वीस्कीमा विताउन थाले,जिन्दगी।हर क्षण बदलिदै गयो,उनीहरुको जीवनशैली शान र शौकातमा मालामाल। हिजोका संघर्षमा लागेका घाउका टाटा फेरि बल्झिन थाले।ऐया –ऐया भन्दा –भन्दै दिन र रातको चर्खा चलिरह्यो ।

दुख र दर्दका पहाडहरु थप अग्लिदै गए, उ त्यो डाँडामाथि भ्यूटावर जस्तै । एकताका त्यो रमाइलो अनि घमाइलो लाग्थ्यो उसलाई आफ्नै गाउँपाखा।तर, समयको पदचाप धेरै अघि कुदिसकेछ। रमाइला बस्तीहरु निर्जन हुदै गएछन्। हरेक दिन उज्यालो लिएर आउने सूर्यका रोषणीहरु मधुरा देखिन थाले।
सुस्केरा हाल्दै आकाशतिर उ के फर्कन्छे, उही आकाश छेड्ने भ्यूटावर देखिन्छ मात्रै। त्यो अग्लो भ्यूटावर जतिकै अग्ला छन्, दुख र दर्दका पहाड । मनभित्रको दुखको भ्यूटावरले दर्द बोध गर्न त सक्ला, तर, आँखै अगाडि अग्ला पहाडमाथि ठिंग उभ्याइएको सत्ताको भ्यूटावरले गाउँको दुख के देखोस्? किनकी त्यो गाउँको दुःख हरण गर्नका लागि बनेकै थिन, बनाइएको होइन पनि । त्यो गाउँमा भ्यूटावरको आवस्यकता पनि थिन र होइन पनि । जनताको माग स्कूल र स्वास्थ्य चौकी,रोजगारी र उत्पादन थियो,।भ्यूटावर छदै थिएन। हिजोका ती सपनाहरुको चिहानमाथि उभिएर उसले आफूलाई सोधिरही, के देश परिवर्तन नेताकै लागि थियो? के उनीहरुका नाता र दाताका लागि थियो ? यी र यस्तै प्रश्नको तीर सोझ्याउँदै उसले आफैलाई जवाफ फर्काइ, “अँह यो देश हाम्रा लागि होइन रहिछ, ती मुठ्ठी भरका लागि मात्रै रहेछ, । देश र व्यवस्था अर्कैका लागि हो, भने विदेशी भूमिमा सुइकुच्चा ठोक्नुपर्छ, किनकी त्यहाँ त कामपछि दाम त पाइन्छ,बरु गुमनाम भैयोस् ।”

दामले भोको पेट भर्न चुल्हो सल्काउने यही निष्कर्षसहित उसले गाउँकै साहु महाजनसंग ऋण काढेर भिजा हिर्काउन पाइलो बढाइ, अघि । घर छोडेर पहिलो पटक शहर छिर्दा उसलाई ऐठन नै परे जस्तै अनुभव भो। किनकी गणतन्त्र आएपछि यही गाउँमै सुन फलाउने सपना हो उसको। तर, सुन त के नुनको समेत जोहो गर्न गाह्रो हुँदै गयो, अनि देशलाई धिकार्दै शहरमा भिजा बनाउन हानिएकी हो, उ । त्यसैमा उ महिला थिइ, समाजको गलत नजर अनि जीन्दगीका अन्कन्टार जहरहरु कठिन छन्, तर, दुखको भवसागरबाट उम्पिकनुपर्छ भन्ने उसमा संकल्प छ।उ फेरी आफैलाई प्रश्न र प्रतिप्रश्न गर्दै भन्छे,कम्तीमा त्यो राहदानी पनि गाउँमै बनिदिएको भए, ऐठन पर्ने शहर धाउनुपर्ने थिएन। घरदैलोको सरकार भनिएको पालिका सरकारले उसको दुःख बोध गरेको भए, शहर जानु कुनै रहर पनि थिन । जतिबेला नयाँ संविधान जारी भयो, त्यत्तिबेला सायद जीवनमा उ औधी खुशी थिइ। तर, संविधान जारी भएको मिति गिन्ति ग¥यो भने, ९ वर्ष पुग्न आँट्यो। तर, उसका दर्द र दुःखका नौ ग्रह बरु थपिदै गए, कमी भएनन्।

सिंहदरबारको शासन सत्तासंगै पुग्यो, भ्रष्टाचारको जरा पनि वडा तहसम्म। वडामै पुगेको भ्रष्टाचारको जराले उस्तै कमिसनको बीलो मागेको देखी र भोगी उसले । अनि फेरि सुस्केरा हाल्दै उसले भनी, भन्देउ साथी, “मेरो देश कहाँ छ ?” यस्तै अनेकन उल्झन,झन्झट र यातनाले झेलिदै विरक्तिदै उसले राहदानीको चिर्कटो लिइ हातमा जेनतेन। यही राहदानीको चिर्कटो बनाउन पनि उसलाई कहाँ पो सहज भयो र? दश ठाँउमा प्रक्रियामुखी झन्झट अनि दलालको पासो। यस्ता विघ्न बाधा झेलेरै भएपनि उसले लिइ लाहुर जाने।
यति भैसकेपछि उ देश छोड्न जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हानिइ,तब आफू जस्तै हजारौ युवाहरुको ताँती देखी ।अनि फेरि सुस्केरा हाल्दै भन्यो, ए साथी भन्देउ, “मेरो देश कहाँ छ? ” यही प्रश्नको भारी बोकेर उ विमानमा चढी । उ जस्तै विमानमा चढेर फर्किदा बाकसमा आउनेहरुको कारुणीक र दारुणीक कथा र व्यथा उसले यस अघि नसुनेकी र नदेखेकी पनि होइन।तर, देशको कहालीलाग्दो अवस्था झल्यास्स सम्झिन्छे, अनि भन्छे,स्वदेशमै गरिबी र अभावसंग झेल्नु भन्दा अपमान सहेरै विदेशीतिरै मृत्युसंगै पौठेजोरी खेल्ने गरी कुद्नु नै हितकर लाग्छ, उसलाई ।

अनि फेरी, भन्छे, ए साथी भन्देउ, “मेरो देश कहाँ छ ? ” ……………….मेरो देश कहाँ छ ?????… जन्मदिने आमासंग बेस्सरी अंगालो मार्दै भन्छे, आमा तिम्रो खुशीका लागि परदेश लाग्दैछु, तिम्रो सन्तानको पीर नगर्नु । अनि आमा भक्कानिदै जवान भइसकेकी छोरीलाई विदाइ गर्छिन्, उ पनि हात हल्लाउँदै उ विमानभित्र ओझेल पर्छे। विमान उपत्यका माथिको आकाश छोड्दै विरानो भूमितिर लाग्छ।

उ पनि विमानभित्रै थन्किएर विदेशी भूमिको सपना देख्छे,आमाको न्यानो काख र जन्मभूमिप्रतिको औधि माया मनभित्रै कुँजाएर। अपितु,यो नियती र दर्द उसको एकल मात्रै भने होइन, उ जस्ता देशबाट ठगिएका र लुटिएका लाखौ युवाहरुको नियतीको साझा कथा हो। यही कथाको यथार्थता कहानी यसै गरी दोहोरिन्छ, हरेक पल, हरेक नेपाली युवाहरुको जिन्दगीमा। ००००

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ३४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित