२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

तिर्थाटनको नयाँ गन्तव्य, ‘सरजु उत्तरबाहिनी’


२८ पुस २०८१, आइतबार  



आहा ! सरजु नदीको मनोरम दृष्य, शान्त अनि निरन्तर यात्रामा बगिरहेकी। पहिलो नजरमै लोभिन्छ मन सरजुको यो सुन्दरता बहाव देखेर । चुरेको माथिल्लो खण्डबाट जागा भएर सागर भेट्न हिँडेकी सरजु उत्तर मोडिएकी छिन्।


सुक्रबार भन्ने स्थानमा नदी उत्तरतर्फ करिब एक किलोमिटर बहेकोले यस स्थललाई उत्तरबाहिनी भनेर भनिन्छ। धार्मिक ग्रन्थ अनुसार नदी उत्तरतर्फ बगेको स्थललाई निकै पवित्र मानिन्छ । धार्मिक तथा प्राकृतिक हिसाबले पनि उत्तिकै रमणीय यस स्थल भने अझै ओझेलमा परेको छ।

विश्वका हिन्दुहरुको आस्थाको नयाँ तिर्थाटन बन्ने प्रवल सम्भावना भएपनि सिँहदरबारको धुरीबाट निकै दूरमा छिन् पवित्र सरजु नदी अनि उत्तरबाहिनी क्षेत्र । यही नदी भारतमा पुगेपछि जति धेरै महत्व पाउँछिन्, त्यत्ति महत्व गरिएको छैन नेपालमा ।


हिम्वत खण्डमा पूर्वीय सभ्यता र संस्कृतिको जननी नेपाल भएपनि पनि यसको महत्व नबुझ्दा ओझेलमा परेको हो । संस्कृत विद् डा.जगमान गुरुङले नेपाल ध्यान, ज्ञान र तपस्याको पावन भूमि भएको बताउँछन्। हजारौ ऋषिमुनिहरुले यहाँ तपस्या,ध्यान, साधनाबाट ज्ञान प्राप्त गरेका थिए। तर, ज्ञानभूमिमा अवस्थित धार्मिक महत्वका सम्पदाहरुको संरक्षण र प्रवद्र्धन नभएको उनी बताउँछन्। त्यस्तै एउटा धार्मिक गन्तव्य हो, सरजु उत्तरबाहिनी । यस पवित्र स्थल नयाँ संरचना अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुक्रबारमा अवस्थित छ ।


लामो समयसम्म गुमनाम जस्तै भएको उत्तरबाहिनीको पछिल्लो समयमा केही चर्चा हुन थालेको छ। विस्तारै यसको महत्वको उजागर हुँदै गएपछि स्थानीय सरकारले पनि पहल गर्न थालेको छ। उत्तरबाहिनीको धार्मिक तथा सांस्कृतिक महत्वको प्रवद्र्धन गर्न गुरुयोजना अनुसार अघि बढ्ने बताउँछन् वडा नम्बर ७ का वडाध्यक्ष खोपीराम चौधरी । उनी भन्छन्, “पालिकाको सहयोगमा गुरुकुल संचालन गर्न केही पूर्वाधारहरु निर्मण भएका छन्। अब पितृकार्य गर्ने स्थलदेखि अन्य धार्मिक कार्यका लागि आवस्यक संरचना गुरुयोजना अनुसार निर्माण हुनेछन्।”

उत्तरबाहिनी क्षेत्र सुक्रबारमा रहेको यस क्षेत्रमा गुरुकुल शिक्षा संचालनमा छ। माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय योगी नरहरिनाथको सक्रियतामा क्षमकान्त धितालको परिवारले २०२२ सालमा २६ विगाह चार कट्ठा एक धुर जग्गा दान दिएका थिए। करिब २३ वर्ष संस्कृत पढाइ भएको यस विद्यालयमा २०४५ सालदेखि बन्द भएको थियो । माओवादी द्वन्द्वको बेला यहाँका ऐतिहासिक सम्पदाहरु पनि चोरी भए। यहाँको धार्मिक संरचनाहरु पनि तहसनहस बनाइयो । शान्ति प्रक्रियाको लामो समयसम्म पनि यसको खोजी कसैले गरेनन्। माओवादी द्वन्द्व शान्तिमा रुपान्तरण्ण भएको करिब १७ वर्षपछि बल्ल यहाँ विद्यालय गुरुकुल बनेको छ। गएको डेढ वर्षदेखि संस्कृत पढाइ सुरु भएको विद्यालयका प्रबन्धक प्रकाश भट्टराईले बताउँछन् ।

गोरक्ष रत्ननाथ पात्रदेव चौघेरामा अध्ययन गरिरहेका विद्यार्थीहरू २०८० साल जेठ २० गते उत्तरबाहिनी क्षेत्र सुक्रबारमा रहेको माता पवित्रादेवी संस्कृत विद्यालय (गुरुकुल)मा स्थानान्तरण भएका हुन् । हाल यस विद्यालयको स्वामित्वमा करिब १६ विगाह जमिन रहेको छ।


सरजु नदी भारतमा पुगेर घाँगरा अर्थात कर्णालीमा मिसिन्छन्। नेपालमा दुई सय किलोमिटर लम्बाइ भएको सरजुको कुल लम्बाइ चार सय किलोमिटर हो। यस नदीको जलाधार क्षेत्र ३५ सय वर्गकिलोमिटर रहेको छ। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलटाराको मालझांक्री वनभित्र उद्गम स्थल हो। त्यहाँ पनि भगवान रामको मन्दिर निर्माण गरी सरजु नदीको प्रवद्र्धन गर्ने कार्यहरु भइरहेका छन्। दाङ र बर्दिया भएर भारतमा पुग्ने सुरजु नदीको नेपालमा पर्ने अधिकांश स्थानहरु अत्यन्तै पवित्र स्थलको रुपमा बुझिन्छ। कतै बबइ कतै भादा त कतै के भनेर नाम गरिएपनि प्राचीन नाम सरजु भएको प्राचीन ग्रन्थहरुमा उल्लेख छ।

यस क्षेत्रलाई ज्ञान र ध्यान केन्द्र बनाइने भएको छ। राष्ट्रियता, मानवता, धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्य हो । यसलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने सोच अनुसार अघि बढेको प्रबन्धक प्रकाश भट्टराई बताउँछन्।
यहाँको शैक्षिक उननयन मात्रै होइन, पर्यटकीय महत्व अझै विशाल सम्भावना छ, घोराही बजारदेखि करिब १० किलोमिटर दक्षिणतिर अवस्थित यस पावन भूमिमा पुग्न त्यत्ति असहज पनि छैन । अटो चढेर पनि यस पवित्र स्थलको अध्ययन तथा अवलोकन गर्न सकिन्छ। यहाँको अध्ययन भ्रमण गर्न सके आध्यात्मिक ज्ञान मात्रै होइन, प्रकृतिको मनोरम दृष्यमा रमाउन पनि सकिन्छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ३५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित