‘
गणतन्त्रको स्थापनापछि विद्या भण्डारी यो मुलुकको दुई पटक राष्ट्रपति भईन्। गणतान्त्रिक नेपालको यो सुन्दर पक्ष हो भने ऐतिहासिक अवसर पनि हो। दुई कार्यकाल अभिभावकीय भूमिकामा रही उनी पुनः आम नागरिक भएर फेरि सक्रिय राजनीतिमा फर्किन र कार्यकारी पदमा पुगेर मुलुकलाई सम्हाल्ने उनको उदेश्य देखिन्छ। उनको उदेश्य स्वभाविक मात्रै होइन, नैसर्गिक अधिकारको प्रश्न पनि हो । संविधानले उनी राष्ट्रपति रहेका बेलामा अभिभावकीय भूमिका रहन भनेको हो।
राष्ट्रपतिका कार्यकाल सकिएर आम नागरिक भैसकेपछि पनि त्यही मान्यता र मर्यादाहरु अक्षरस पालना हुनुपर्छ। अर्थात राष्ट्रपति भैसकेको मानिस फेरि सक्रिय राजनीति गर्न हुन्न भन्ने कुरा कतै भनिएको पनि छैन, भनिन्न पनि । यो संसारलाई थाहा भएकै कुरा हो। त्यसैगरी कुनै पनि व्यक्ति सक्रिय राजनीतिमा आउँछु भन्न र गर्न पाउने उसको राजनीतिक अधिकार हो, नैसर्गिक अधिकार हो। यसलाई जबरजस्ती रोक्न खोज्नु यो आफैमा चरम निरंकुशता र अधिनायकवादी ओलीगार्की खतरनाक शैली हो। यद्यपि एमालेजनहरु अहिले पनि विद्या भण्डारी राष्ट्रपति पदमै बहाल रहेकी छिन्, झै गरेर उनीहरुले मर्यादाको पाठ खुबै सिकाइरहेका छन्।ओलीलाई रिझाउँछन् अनि विद्यालाई मर्यादा सिकाउँछन्, एमाले नेता खिमलाल भट्टराई । पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु मयार्दा र संविधान विपरीत भएको कुतर्क गछन्।
ओली उपासकहरुले जे जस्तो तर्क गरेपनि सत्य कुरा के हो भने, हिजो भरतमोहन अधिकारी, बामदेव गौतम र माधव नेपालहरुलाई रोक्न ओलीले ७० वर्षे र दुई वर्षे कार्यकालको मापदण्ड लागू गरे। आज ओलीका लागि त्यही मापदण्ड बाधक भएपछि उनले एमाले भित्र सारा आफ्नै भक्तहरुलाई संगठित गरेर त्यो मापदण्ड हटाए। आर्यघाट नपुगुन्जेल पार्टी र सत्ता राजनीतिको नेतृत्वमा रम्ने ओली प्रवृत्तिको उदेश्य यही देखिन्छ। पार्टी भित्र सबैलाई अनुशासनको भुत देखाएर तर्साउने र ओलीको आमनेसामने भएमा भीम रावल बनाएर डाँडा कटाउने ओलीको स्टालिनवादी शैली हो। त्यसले एमाले जस्तो विशाल लोकतान्त्रिक पार्टीका लागि ठूलो नोक्शानी हो भने मुलुकका लागि दुर्भाग्यपूर्ण हो।कुनैपनि लोकतान्त्रिक शक्ति भित्र व्यक्ति हाबी हुने र विधि मर्दै जान थाल्यो भने त्यस शक्तिले लोकतान्त्रिक मूल्य, मान्यता,सिद्धान्त र आदर्श गुमाइसकेको हुन्छ। आज एमालेभित्र यही प्रवृत्ति झाँगिएको छ। ओलीको बोली नै पाटीको विधान र विधि बन्ने गरेको छ। यस्तो हुनु स्वयं एमालेका लागि मात्रे होइन, लोकतान्त्रिक व्यवस्थाका लागि पनि चिन्ताको विषय हो।
विचार सिद्धान्त, दर्शन आदि इत्यादिबाट च्यूत पात्र हुन्, ओली। उनीमा अहंकार, प्रतिशोध, दम्भ र घमण्ड बाहेक अरुथोक केही छैन। यस्तो प्रवृत्तिलाई पनि टुलुटुल हेरेर बस्ने ओलीजनहरु आधुनिक दास हुन् भने आलोचनात्मक चेतनाविहीन मानिस हुन्। पार्टीभित्रको ओली अधिनायकको विकल्पमा मदनपन्ती विद्या भण्डारीले नेतृत्व लिन खोजेकी छिन्। उनकोे कमव्याकले एमालेभित्र मौलाएको ओलीगार्कीको अन्त्य गर्दै लोकतान्त्रिक सुसंठित पार्टी बनाउने विद्या भण्डारीमा त्यो संकल्प र हुटहुटी देखिन्छ। यो उनको विरासत मात्रै होइन, अधिकार पनि हो । यति मात्रै होइन, राष्ट्रपतिय भूमिकामा रहेको अनुभवले पनि टुक्रिएका बामपन्थीहरुलाई जोड्नका लागि पनि उनको भूमिका र आवस्यकता दुबैको खाँचो छ। यसैमा पनि अहिलेसम्म एमाले जस्तो ठूलो दलको नेतृत्व महिलाले गर्नु आफैमा पनि एक ऐतिहासिक अवसर, गौरव र सन्देश हो। त्यसका कारण विश्व राजनीतिक इतिहासका तथ्यहरुलाई बंग्याएर ओलीजनहरुले जे जस्ता मिथ्या तर्क गरिरहेका छन्। त्यो आफैमा हास्यासपद मात्रै होइन लज्जास्पद कुतर्क होे ।
सिंगो देश नै अन्योल, विचलन र स्वार्थको दलदलमा डुबिरहेको छ। यस्तो बेलामा विद्या भण्डारीले पुनः सक्रिय राजनीतिक यात्राको आरम्भ गर्नु कुनै व्यक्तिगत पद वा लाभको आकांक्षा होइन र हुनुहुन्न । राष्ट्र र जनताको चिन्ताबाट जन्मिएको ऐतिहासिक र सैद्धान्तिक जिम्मेवारीको खाँचो भएको सत्यवादी दृष्टिकोण हो। राष्ट्रपतिजस्तो गरिमामय पदबाट अवकाश लिएर सेवासुविधा त्याग्दै सडक र जनताको बीच फर्किनु नै उनको मूल्य, मान्यता, आदर्श र निष्ठा प्रतीको गहिरो प्रतिबद्धता हो भन्न कन्जुस्याँइ गरिरहेका छन् ओलीजनहरु ।
यो कुनै अकल्पनीय संयोग होइन । बरु राष्ट्रको स्वभाविक आवस्यकता हो। मुलुकले स्पष्ट मार्ग र नेतृत्व खोजिरहेकै घडीको क्षण हो। राष्ट्रको अभिभावक भएर विचार र सिद्धान्तमा आधारित राजनीति पुनः स्थापित गर्ने जिम्मेवारी बोकेर फर्किनु ऐतिहासिक आवश्यकता हो । व्यक्तिको होइन, विचार र सिद्धान्तको जितका लागि उठेको यो पाइला हो। जुन स्वार्थ र पदको परिधि भन्दा धेरै माथि छ!!पूर्व राष्ट्रपति निष्क्रिय रहँदा मात्र संविधानको रक्षा हुन्छ भन्ने तर्क आफैमा कुतर्क हो ।सैद्धान्तिक विचलनको पराकाष्ठा र अल्पज्ञान हो । आज ओलीजनहरुको एउटै स्वर छ, संविधानको रक्षक, पालक र अभिभावक भएको व्यक्तिको मर्यादाका रेखाहरु छन्, ती रेखा पार गर्न हुन्न, यस्ता कुतर्क गरिरहेका छन्, ओलीजनहरु। पार्टीबाट कम्पनीमा रुपान्तरण भैसकेको एमालेभित्र मदनद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद होइन, ओलीको एकमनावादको राज छ।
जबजको भावना, सपना र योजनाको गला निमोठेर ओलीको स्वेच्छाचारिता व्यक्तिवादी प्रवृत्तिलाई उनका उपासकहरुले ताली बजाइरहेका छन्। व्यक्ति पूजामा रमाइरहेका यी पात्रहरु या आधुनिकता दास हुन्। या ओली भन्दा अरु पात्र छन् भन्ने कुरा पनि सोच्न नसक्ने यान्त्रिक जड हुन्। कुनै पनि कम्युनिष्ट पार्टीमा यस्तो प्रवृत्ति हुुनु भनेको माक्र्सवादी चिन्तन धाराको बर्खिलाप हो। पार्टीको विधान भन्दा व्यक्ति शक्तिशाली हुनु स्टालिनको जन्म हुनु हो । स्टालिनवादी शैली स्वयं पार्टीका लागि मात्रै खतरनाक हुँदैन। सिंगो लोकतान्त्रिक व्यवस्थाका लागि पनि उत्तिकै जोखिममा पर्न सक्छ। यसको बेलैमा सचेततापूर्वक प्रतिरोध गर्दै अन्त्य गर्न सकिएन भने भोलिका दिनमा एमाले जस्तो शक्तिशाली पाटी पनि नरहन सक्छ। यसर्थ यतिबेला ओलीको विकल्पमा विद्या पुनरागमनलाई मनोगढन्ते तर्क गरेर पन्छाउन खोज्नु संसारको इतिहास र अनुभवलाई नपढ्नु र नबुझ्नु हो। आफूलाई माक्र्सवादी भन्नेहरुले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको गहिरो अध्ययन गरेको हो भने ओलीको एकमनावादी र स्वेच्छारी प्रवृत्तिको विरुद्धमा उभिन विवेकपूर्ण चेतको खाँचो छ। त्यसको नेतृत्व विद्या भण्डारीले गरिरहेकी छिन्। उनको नेतृत्वमा सवल र सक्षम जनपक्षीय एमाले बनाउन ढिला गर्नु हुदैन ।








