९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

कालीगण्डकी किनारा मालुंगा उत्तरबाहिनीमा लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीहरुको बैठक


१६ भाद्र २०८२, सोमबार  



गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच कालीगण्डकी किनारमा सोमबार समन्वयात्मक बैठक बसेको छ ।

गल्याङ नगरपालिका वडा नम्बर १ मालुंगा उत्तरबाहिनीमा दुई प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको उपस्थितिमा समन्वयात्मक बैठक बसेको हो ।

बैठकमा दुई प्रदेशबीचको सम्बन्ध, अनुभव आदान–प्रदान, स्रोत साधनको प्रयोग, कानुन कार्यान्वयनमा एकरूपता र कालीगण्डकी सदुपयोगका विषयमासमेत छलफल हुने छन् ।

बैठकले यसअघिको बैठकका निर्णयको समीक्षासमेत गर्ने छ । यसअघि गत साल माघ ३० गते दुई प्रदेशको बैठकले २१ बुँदे घोषणा पत्र जारी गरेको थियो ।

दुवै प्रदेशलाई जोड्ने योजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नेबारे पनि छलफल हुने लुम्बिनी सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले जानकारी दिए ।

बैठकमा कालीगण्डकी डाइभर्सनका विषयमासमेत छलफल हुने छ । गण्डकीले अहिलेसम्म डाइभर्सनका विरोद्धमा आवाज उठाउँदै आइरहेको छ । दुई प्रदेशको समन्वय र सहमतिबिना कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नसक्ने गण्डकीले अडान राख्दै आएको छ ।

कालीगण्डकी किनारका धार्मिक स्थलहरूलाई जोड्ने, कालीगण्डकीको दामोदरकुण्डदेखि देवघाटसम्मका क्षेत्रमा दुई प्रदेशलाई जोडेर समन्वय गर्ने विषयमा छलफल गरिने लुम्विनीका प्रमुख सचिव अधिकारीले बताए । दुई प्रदेशका उत्पादन, स्रोत, साधन उपयोगमा साझा कार्यक्रम बनाउनेबारे पनि छलफल हुने छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यक्षता गरेको बैठक सोमबार नै सकिने छ । यसअघि गत साल माघ ३० गते पाल्पा रानीमहलमा दुई प्रदेशबीच भएको बैठकको लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण चेतनारमयण आचार्यले र अध्यक्षता गरेका थिए ।

सोमबारको बैठकमा लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, उद्योग पर्यटन यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र गण्डकीबाट प्रवक्ता तथा अर्थमन्त्री टकराज गुरूङ, पर्यटनमन्त्री मित्रलाल बस्याल र मन्त्रालयका सचिवहरू उपस्थित छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १ : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित