२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सात वर्षपछि पर्यटन बाेर्डकाे कार्यविधि स्वीकृत,अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा बाटो खुला !


१३ मंसिर २०८१, बिहिबार  



नेपाल पर्यटन बोर्डको विदेशमा कार्यक्रम तथा खर्च गर्ने कार्यविधि ७ वर्षपछि बल्ल स्वीकृत भएको छ ।

बोर्डको कार्यविधि स्वीकृत नहुँदा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने बाटो राेकिएकाे थियोे । कार्यविधि स्वीकृतपछि अब बोर्डलाई विगतमा भएको असहजता हट्ने भएको छ।

पर्यटन बोर्डले ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ ७ वर्ष अगाडि नै तयार पारेर सार्वजनिक खरिद अनुगमन कार्यालयको सहमतिका लागि पेश गरेको थियो । खरिद अनुगमन कार्यालयले सहमति नदिँदा गएकाे आर्थिक वर्ष २०८०/८१ मा पर्यटन बोर्डले विदेशमा प्रवद्र्धनको कामै गर्न सकेन ।

बोर्डले पटक पटक गरेका प्रयासपछि दुई साता अगाडि मात्रै ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ स्वीकृत भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार बोर्डको कार्यविधि स्वीकृत भएपछि अब अन्तर्राष्ट्रिय प्रवद्र्धनका गतिविधि सञ्चालन गर्नमा सहज हुने भएको उनको भनाइ छ ।

कार्यविधि स्वीकृत भएर आएकोले गएकाे वर्ष जे कारणले बोर्डको प्रवद्र्धनको काम हुन नसकेको थिएन् त्यो समस्या यो वर्षदेखि हटेको नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताउँछन् । लामिछानेका अनुसार बोर्डले पेश गरेको कार्यविधिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सहमति दिएपछि कार्यान्वयनमा अगाडि बढेको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६७ ले गरेको व्यवस्थाअनुसार पर्यटन बोर्डले विदेशमा हुने कार्यक्रमका लागि कार्यविधि बनाएको हो । सार्वजनिक खरिद ऐन २०७३ मा संशोधन भएर आएलगत्तै बोर्डले पनि अन्य संस्थानसरह नै कार्यविधि स्वीकृत गरेरमात्रै कार्यक्रम गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार २०७४ मै बोर्डले उक्त कार्यविधि बनाएर सर्वजनिक खरिद अनुगमन कार्यालयमा पेस गरेको थियो ।

बोर्डले २०७४ मा पठाएको यस कार्यविधि खरिद अनुगमन कार्यालयमै रोकिदै आएको थियो । कार्यविधि ३ वर्षसम्म स्वीकृत नभएको र कुनै प्रतिक्रिया पनि नआएपछि बोर्डले पुनः २०७७ मा पर्यटन मन्त्रालयमार्फत् कार्यविधि दोहोर्याएर पठाएको थियो । पहिले पर्यटन बोर्डले सोझै पठाएको कार्यविधिलाई कुनै वास्ता नगरिएपछि फेरि आवश्यक संशोधनसहित पर्यटन मन्त्रालयमार्फत पठाएको पर्यटन बोर्डको भनाइ छ ।

बोर्डले २०७४ पछिका हरेक बजेटमा सार्वजनिक खरिद कार्यालयमा पठाएको कार्यविधि स्वीकृत भएर आएपछि कार्यान्वयन गर्ने व्यवस्था उल्लेख गर्दै आएको थियो । कार्यविधि स्वीकृत नहुँदासम्म अन्तर्राष्ट्रिय प्रवर्धनको कार्यक्रममा विगतमा गरिएका राम्रा अभ्यासअनुसार कार्यक्रम सञ्चालन गर्दै जाने व्यवस्था राख्दै प्रवद्र्धनको कार्यक्रम र खर्च गर्दै आएको थियो ।

बोर्डले स्थापनादेखि गर्दै आएको वर्षेनी लन्डनमा हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) बजेट नहुँदा र गएकाे वर्ष कार्यविधि स्वीकृत नहुदा हुन सकेन । बोर्डले इतिहासमै पहिलोपटक डब्लुटीएमको कार्यक्रम गएकाे वर्ष २०८०/८१ को कार्यक्रममा कार्यान्वयन गर्न नसकेको हो ।

अन्तर्राष्ट्रिय कार्यक्रममा जान कार्यविधिबिना कुनै पनि खर्च नहुने हुँदा गएकाे आर्थिकमा भएको ससस्याबाट पाठ सिकेर पनि बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट स्वीकृत हुनु अगाडि कार्य विधि ल्याउन सफल भएको छ । बोर्डले १ अर्ब ८१ करोड रुपैयाँको बजेट चालु आर्थिक वर्षको लागि ल्याएको छ । यसमध्ये ६० प्रतिशतको बजेट प्रवद्र्धनमा खर्च गर्ने भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ६ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित