२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

को बन्दैछ, राष्ट्र बैंकको गभर्नर ?


२३ पुस २०८१, मंगलबार  


राष्ट्र बैकको नयाँ गभर्नरमा कसले बाजी मार्ला भन्ने चासो बढ्न थालेको छ। मौद्रिक नीतिको मुख्यकर्ता भएकाले पनि सरकारको आर्थिक कार्यक्रमलाई प्रभावित पार्ने भूमिका गभर्नरको हुने गर्दछ। अर्थमन्त्री र गभर्नरबीच केमिष्टी मिलेन भने सरकारले आफ्ना उदेश्य पनि पूरा गर्न मुश्किल हुन्छ। यही प्रतिष्ठा र प्रयोजनका लागि आफू अनुकूलको गभर्नरको खोजीमा हुन्छन् ,हर सरकार प्रमुखहरु ।

यतिबेला निवृत्तको बाटोतिर सोझिदै छन् , गभर्नर महाप्रसाद अधिकारी । उनको यो कार्यकाल सकिन पुग – नपुग तीन महिना अवधि छ। अधिकारी बाहिरिएसंगै गभर्नर बन्ने दौडमा धेरै देखिएका छन्। योग्यता,क्षमता र व्यवसायीकता भन्दा पनि कृपा, आशिरवाद र चाकडीको मानकमा गभर्नर जस्तो पदमा नियुक्ति गर्ने गलत प्रथा छ। यही प्रथाको विरासतलाई कायम राख्ने गरी आकांक्षीहरुको शक्तिकेन्द्र दौडधुप शुरु भएको हो । आकांक्षीहरुले आवेदन दिएर कुनै पद आफूलाई नचाहिने प्रतिक्रिया दिए पनि भित्रभित्रै गभर्नर बनेको सपना देख्न भने थालिसकेका छन् ।

गभर्नर बनेर नोटमा हस्ताक्षर गरेको सपना नै देखिसकें सरकारले जिम्मेवारी दियो भने देशको अर्थतन्त्र ट्र्याकमा ल्याउने प्रष्ट खाका भएको पनि भन्न थालिसकेका छन्। यसले के इंगित गर्दछ भने नयाँ गभर्नर चयनको लिगलिगे दौड सुरु भइसकेको छ । गभर्नरको यो लिगलिगे दौडमा हालका डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटीहरु, राष्ट्र बैंककै हाल पदाशीन र निवृत्त कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा काम गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञ आदि इत्यादिहरुको दौडधुप भएको हो ।

राष्ट्र बैकको गभर्नर पद निकै आकर्षक मानिन्छ । मुलुकको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार पनि भएकोले यसप्रति आकर्षण बढ्नु स्वाभाविक भएको जानकारहरु बताउँछन्।

प्रधानमन्त्री, अर्थमन्त्रीलयात उच्च पदस्थ व्यक्तिहरुसँग नियमित छलफल, बजेट निर्माणदेखि मौद्रिक नीति तर्जुमासम्मको कार्यमा गभर्नर प्रत्यक्ष संलग्न हुन्छन् । यसैगरी देशविदेश भ्रमण, मौद्रिक निकाय तथा केन्द्रीय बैंक प्रमुखको रुपमा मिल्ने सम्मान र पहुँचजस्ता कारण राष्ट्र बैंकको गभर्नर सरकारको सबैभन्दा आकर्षक नियुक्तिमध्ये एक हो ।

अर्थतन्त्रको एउटा सग्लो पाटो सम्हालेर बस्ने, नीतिगत हेरफेरमार्फत् आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने र नियामकीय सुधारमार्फत् वित्तीय क्षेत्रसँगै अर्थतन्त्रमा टेवा पुर्‍याउन मिल्ने भएकाले पनि राष्ट्र बैंकको गभर्नर पद सबैको चासो हुनु स्वाभाविक पनि हो। गभर्नरलाई प्राप्त हुने त्योभन्दा पनि ठूलो अवसर हो, देशको नोटमा हस्ताक्षर गर्न पाउनु पनि ।

पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्याउन राजीनित दल र स्वार्थसमूह निकै सक्रिय छन् । सत्ता समीकरकणबाट आफू बाहिरिँदा पनि स्थायीरुपमा अर्थतन्त्रको एउटा बागडोर सम्हाल्ने भएकाले राज्यका नीति, संरचना र सम्भावित व्यवस्था हेरफेरमा गभर्नर पद फेरो बन्न पुग्छ । पछिल्लो समय गभर्नर पद राजनीतिक यात्राको नयाँ गोरेटो बनेको छ भने सत्तामा विपक्षी दल हुँदा पनि बार्गेन गर्न सक्ने बलियो आधार बनेको छ । यी र यस्तै कारण पनि केन्द्रीय बैंकको गभर्नर पदको चासो बढेको हो ।तत्कालीन नेकपा नेतृत्वको सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत अन्तिम साता सकिँदैछ ।यतिबेला फेरी उनै ओलीले सत्ताको बागडोर सम्हालेका छन्। गभर्नर कसले लिने भन्ने विषयमा पनि सत्तारुढ एमाले कांग्रेसभित्र रस्साकस्सीको सम्भावना उत्तिकै छ।

कानुनः नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि तयार सिफारिस समितिले नेपाल सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नु पर्दछ । नाम सिफारिस गर्ने कार्यविधि स्वयं समितिले निर्माण नै गर्छ । आवेदन माग गरेर ३ जनाको नाम छनोट गर्ने कि दाबेदार र सक्षम व्यक्ति सिधै पहिचान गरेर मन्त्रिपरिषदमा नाम पठाउने भन्ने अधिकार समितिलाई नै दिइएको हुन्छ ।समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने ३ नाममध्ये एकजना केन्द्रीय बैंकका २ डेपुटी गभर्नरमध्ये १ हुनैपर्ने व्यवस्था छ ।

गभर्नर नियुक्तिको पछिल्लो सिलसिला केलाउने हो भने डा युवराज खतिवडा कार्यकारी निर्देशक र महाप्रसाद अधिकारी केन्द्रिय बैंकको डेपुटी गभर्नर भइसकेका व्यक्ति हुन् । खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदारहँदै पनि गभर्नर बनेका हुन् भने अधिकारीलाई लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत रहेका बेलै गभर्नरमा नियुक्ति दिइएको हो,भने राष्ट्र बैकका पूर्व गभर्नर डा चिरिञ्जिवी नेपालमात्रै राष्ट्र बैंकको अनुभव नभएका गभर्नर हुन् ।

अधिकारीले तत्कालीन डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्वसचिव केशव भट्टराईलाई पछि पारेका थिए । डा.नेपाल गभर्नर बन्दा तत्कालीन डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र अधिकारीलाई उछिनेका थिए ।

पछिल्ला उदाहारण हेर्ने हो भने सत्तापक्ष र त्यसमा पनि प्रधानमन्त्री जुन राजनीतिक दलका हुन्छन्। त्यही दल बाहेकका व्यक्ति गभर्नर बनेको उदाहरण भेटिएको छैनन् । खतिवडालाई तत्कालीन नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले, नेपाललाई नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र अधिकारीलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गभर्नर बनाइएको हो । खतिवडा एमाले निकट, नेपाल कोइरालाको आर्थिक सल्लाहकार र अधिकारी २०७३ सालदेखि नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य हुन् ।

गभर्नर छनोट समिति अर्थमन्त्रीको संयोजकत्वमा बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । राष्ट्र बैंक ऐनमा त स्पष्टै भनिएको छ। सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने उल्लेख गरिएको छ । तर, पछिल्लो समय अन्तिम घडीमा मात्र गभर्नर नियुक्त गर्ने गलत प्रथाको विकास भएको छ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

यसमानेमा जोकोहीलाई गभर्नरमा सिफारिस हुन सजिलो छैन, नियुक्ति त टाढाको कुरा भो । ३ मध्ये एकजना डेपुटी गभर्नर हुनैपर्ने भएकाले बमबहादुर मिश्र वा नीलम ढुंगाना तिम्सिनाको नाम सिफारिस सूचीमा पर्ने पक्का छ अर्थात् दुवै डेपुटी गभर्नर पनि सिफारिसमा पर्न सक्छन्। यसबाहेक सत्ता निकट, त्यसमा पनि प्रधानमन्त्री र पूर्वगभर्नरसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडाको राडारमा परेकै व्यक्तिमात्र सिफारिस हुने सम्भावना बढी देखिन्छ । यसबाहेक कांग्रेस एमाले सत्ता गठबन्धनसँग समदुरीमा रहेका व्यक्ति वा कुनै स्वार्थ समूहको रोजाईको व्यक्ति पनि गभर्नरको अवसर पाउने सम्भावना पनि उत्तिकै रहेको छ ।

साधारणतया राष्ट्र बैकको गभर्नर बन्न सक्ने सम्भावना बोकेका पात्रहरुमा हाल राष्ट्र बैकमा कार्यरत डेपुटी गभर्नरहरु बमबहादुर मिश्र र नीलम ढुंगाना तिम्सिना हुन्। यीनीहरु सम्भवतः पहिलो सूचिमा पर्दछन्। निलम ढुंगाना गभर्नर भएमा राष्ट्र बैकको इतिहासमा नौलो घटना पनि हुन सक्छ। अहिलेसम्म पुरुषहरुको मात्रै बर्चश्व रहेको राष्ट्र बैकमा उनको आगमनले समावेशीतासंगै परिवर्तनको पनि आभास दिन सक्छ।
त्यसैगरी राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा उक्लिएका थिए डेपुटी गभर्नर बमबहादुर मिश्रम । मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकीमात्रै होइनन् नेकपा एमाले निकट व्यक्ति समेत हुन्। तीक्ष्ण बुद्वि भएका मिश्र चतुर खेलाडी समेत हुन् । उनी प्रधानमन्त्रीको गृहनगर दमककै भएकाले उनी गभर्नरको बलियो दाबेदार देखिन्छन्।

डेपुटी गभर्नर ढुंगाना पनि पहुँच र प्रभावको हिसाबले कमजोर छैनिन्। उनको निकटता पनि एमालेतिरै उस्तै छ । ढुंगानाका श्रीमान विष्णुप्रसाद तिमल्सिना प्राध्यापक संघको राजनीति गर्छन् । निलम स्वयं पनि एमाले नेतृत्वहरुको निकटमा छिन् । महिला भएको नाता जोड्दै पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग भेटिरहन्छिन् । वित्तीय स्थायित्वमा जोड दिँदै कन्जरभेटिभ अर्थशास्त्रीको पहिचान बनाएकी ढुंगाना कांग्रेस परिवारकी छोरी हुन् । अहिलेका प्रधानमन्त्री ओली महिलालाई नेतृत्वमा लैजानुपर्छ भन्नेमा निकै उदार छन् । तसर्थ ढुंगानालाई आगामी गभर्नरका लागि निकै शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ ।

राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटी हाल केन्द्रीय बैंकका सञ्चालक पनि हुन् । उनले डेपुटी गभर्नर भएका बेलै गभर्नर बन्ने ठूलो आकांक्षा राखेका थिए ।सिफारिसमा परे पनि उनलाई सरकारले गभर्नर बन्न पाएका थिएनन् । स्वच्छ छविका शिवाकोटी पढाईका क्रममा अमेरिका पुगेका सहकर्मीहरु उतै भासिँदा पनि देशमै केही गर्नुपर्छ भनेर राष्ट्र बैंकको जागिरमा फर्किएका थिए । एमाले निकट रहेका शिवाकोटीले यसअघि आफ्नो पुस्तक प्रधानमन्त्री केपी ओलीबाट बिमोचन गराएका थिए । यसपालि पनि शिवाकोटी गभर्नरका बलिया दाबेदार हुन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल हाल उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक छन् । खनालको नैतिकता, बुद्धिमता र निर्णय लिने क्षमता अद्वितीय छ । अर्थ सचिवका रुपमा राष्ट्र बैंकको सञ्चालक रहँदा समेत उनले लिएका अडान आज पनि राष्ट्र बैंकको पानामा कोरिएका छन् । खुला बजार अर्थतन्त्रको पक्षधर खनाल अर्थतन्त्रका विविध पाटाको राम्रो जानकार हुन् । अर्थतन्त्रका सिद्धान्त, व्यवहार, कर नीति, मौद्रिक नीतिका साथै नेपाली समाजलाई जरैदेखि बुझेका खनाल गभर्नर पदका लागि उपयुक्त पात्र हुन् । विगतमा केन्द्रिय बैंकले लिएको कच्चा नीतिका कारण अर्थतन्त्र खराब अवस्थामा पुगेको कुरालाई मध्यनजर गर्दै सरकारले अर्थतन्त्र सुधारका लागि खनाललाई गभर्नरको जिम्मेवारी दिनसक्ने सम्भावना पनि निकै बलियो छ ।

केन्द्रीय बैंकका पूर्वकार्यकारी निर्देशक राजनसिंह भण्डारी पूर्वबैंकर पनि हुन् । सिटिजन्स बैंक स्थापना गरी उनी प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष भइसकेका छन् । राष्ट्र बैंकसँगै वित्तीय क्षेत्रको ज्ञान र अनुभवले निपुण भण्डारी पनि गभर्नर रेसका बलिया दाबेदार हुन् । कांग्रेस पृष्ठभूमिका भण्डारी हक्की स्वभावका छन् ।

लालशंकर घिमिरे पूर्वराजस्व सचिवमात्र होइनन्, केपी ओली यसअघि प्रधानमन्त्री रहँदा ताकाका आर्थिक सल्लाहकार पनि हुन् । अघिल्लो पल्टै उनलाई आकांक्षीका रुपमा हेरिएकामा यसपाली पनि दाबेदार मानिएको छ ।

रवीन्द्र पाण्डे नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक तथा वर्तमान सञ्चालक पनि हुन् । नेपाली कांग्रेस निकट पाण्डेलाई पनि सम्भावित उम्मेदवार मानिएको छ । गभर्नर कांग्रेसको भागमा परेको खण्डमा कांग्रेसले उनलाई पनि अघि सार्न सक्ने सम्भावना छ ।

राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठ र डा. गुणाकर भट्ट गभर्नरको रेसमा निकै अगाडि छन् । श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेल निकट छन् । उनले एमाले महासचिव शंकर पोखरेल हुँदा प्रदेश योजना आयोग उपाध्यक्षका रुपमा काम गरेका थिए । उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य छन् । पौडेल र पोखरेलको त्यति नजिक भए पनि श्रेष्ठ विगतमा डेपुटी गभर्नर बन्न सकेका थिएनन् । अर्थशास्त्रको राम्रो ज्ञाता भएका श्रेष्ठ यस पटक भने बलियो दाबेदार हुन् ।

अर्का कार्यकारी निर्देशक डा.भट्ट सुदुरपश्चिमका हुन् । गभर्नर कांग्रेसको पोल्टामा आए भेगीय नाताका कारण कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई गभर्नर बनाउने सम्भावना उच्च रहेको बताइन्छ । अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी सालिन र नम्र स्वाभावका छन् ।श्रेष्ठ र भट्ट दुवै राष्ट्र बैंकबाट चाँडै निवृत्त हुँदैछन् ।

यसैगरी हालैमात्र सेवा निवृत्त भएका कार्यकारी निर्देशक देवकुमार ढकाल अर्का बलिया प्रत्यासी हुन् । ढकाल पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालका आफन्त हुन् भने सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालका दाजू हुन् । ढकालको चर्चा डेपुटी गभर्नरमा पनि थियो । एमाले निकट ढकाललाई पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा र वर्तमान गभर्नर अधिकारीले पनि ढकालप्रति सफ्ट कर्नर राखेका छन् । उनीहरूले प्रधानमन्त्री आलीलाई कन्भिन्स गरेको खण्डमा ढकाल राष्ट्र बैंकको गभर्नर बन्ने पक्का छ ।

गभर्नर बन्ने चर्चामा दुई बैंकर पनि छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका सीईओ अशोक शेरचन पनि गभर्नरका आकांक्षी हुन् । ढुंगाना नेपाली कांग्रेस निकट हुन् । कांग्रेस नेताहरुसँग ढुंगानाको राम्रो निकटता छ । देशका एकमात्र खर्बपति तथा नेपाली कांग्रेसका सांसदसमेत रहेका बिनोद चौधरीको मुख्य लगानी रहेको नबिल बैंकको सीईओ र तेह्रथुमका कांग्रेस पूर्वजिल्ला सभापति गोबिन्द ढुंगानाका भाइ हुन् उनी । यतिमात्रै होईन ढुंगाना राष्ट्र बैंककै क्याडर पनि भएकाले नियामक निजी क्षेत्र र पोलिटिकल इकोनोमी राम्रोसँग बुझेका छन् । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनी प्रष्ट वक्ता हुन् भने निर्णय क्षमतामा अब्बल मानिन्छन् । ढुंगाना बैंकर्स संघका पुर्वअध्यक्ष पनि हुन् ।

अर्का बैंकर शेरचन पनि गभर्नर पदका आकांक्षी हुन् । एमाले निकट शेरचन प्रभु बैंकका सीईओ हुन् । फाइनान्स कम्पनीलाई विकास बैंक हुँदै वाणिज्य बैंक बनाउन सफल शेरचन चतुर खेलाडी हुन् । भावी दिनमा एमालेबाट सांसदको टिकट लिएर राजनीतिमा होमिने सोच बनाएका शेरचनको एमालेका उच्च तहका नेताहरुसँग सिधै पहुँच छ । साथै उनी कांग्रेस र माओवादीका नेताहरुसँग पनि निकट छन् । तसर्थ उनी पनि गभर्नरका बलिया दाबेदार हुन् ।

यो रेसमा पूर्व बैंकर किरण कुमार श्रेष्ठ पनि छन् । राष्ट्रिय वाणिज्य बैंकमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत रहिसकेका श्रेष्ठ त्यसअघि नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर रिटायर्ड भएका थिए । नेपाल बैंकको अधिकृत छँदै सरकारको वित्तीय क्षेत्र सुधार कार्यक्रममा पनि काम गरेका थिए । श्रेष्ठ नेपाल व्यवस्थापन संघका पूर्व अध्यक्ष पनि हुन् । संखुवासभा स्थायी घर भएका श्रेष्ठ एमाले निकट हुन् भने नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठका व्यवसायीक साझेदार हुन् ।

गभर्नर बन्ने रेसमा अगाडि रहेका अर्का पात्र हुन्, सुशील भट्ट । भट्ट लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका पुर्वसदस्य तथा व्यवस्थापन संघका पूर्वअध्यक्ष पनि हुन् । इन्जिनियर भट्ट व्यवस्थापनमा अब्बल मानिन्छन् । पछिल्लो समय ठूलो शक्तिकेन्द्र बन्न सफल व्यवसायी दिपक भट्ट सुशीलका भाई हुन् ।

पूर्वअर्थसचिव डा‍ राजन खनाल, पूर्वसचिव केशव भट्टराई लगायत केही प्रशासक पनि गभर्नरको रेसमा रहेको चर्चा सुनिएको छ । भट्टराई यसअघि पनि गभर्नरका लागि सिफारिसमा परेका थिए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित