२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ सेलिब्रेसन प्रधानमन्त्री ओलीकै शुभसाइतमा !


११ माघ २०८१, शुक्रबार  


सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–पाल्पामा पर्ने सिद्धबाबा सुरुङमार्ग आयोजना निर्माणाधीन चरणमा छ। गएको साल २०८० साल माघ ४ गतेदेखि सुरुङ खन्न थालिएको थियो । यस आयोजना पूरा हुन अझै एक वर्ष लाग्ने आयोजनाले बताएको छ।

आयोजना प्रमुख कृष्ण अधिकारीका अनुसार हालसम्म सुरुङ मार्गको भौतिक र वित्तीय प्रगति ४० प्रतिशत मात्रै भएको छ । अहिले टनेलको ढलान र लाइटिङको काम भइरहेको छ ।तर, यही निर्माणाधीन आयोजनाको माघ ११ गते शुक्रबार अर्थात आज प्रधानमन्त्री केपी शमौ ओलीले ब्रेक थ्रु गर्ने भएका छन्। आयोजनाले प्रधानमन्त्रीको समयलाई हेरेर उदघाटनको तिथिमिति मिलाएको हो । सुरुङमार्गको ब्रेकथ्रु गर्ने भन्दै प्रधानमन्त्री ओली अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायणसहितको ठूलो जम्बो टोली आयोजना स्थल पुग्दैछन् ।


सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन १ हजार १२६ मिटरको सिद्धबाबा सुरुङ मार्ग एक वर्षमा ‘ब्रेक थ्रु’को अवस्थामा ल्याइएको इन्जिनियर सविता ज्ञवालीले बताईन्। ब्रेक थ्रु गर्ने दिनको लागि एक मिटरको ब्लास्ट बाँकी राखेर अरु काम सकिएको इन्जिनियर ज्ञवालीको भनाइ छ । आयोजनाले पुस मसान्तमै ब्रेक थ्रु गर्ने गरी काम सकेको थियो, तर प्रधानमन्त्रीको समय नमिलेका कारण ढिलाइ भएको हो , सुरुङ मार्गमा आपतकालीन उद्धारको लागि दुई वटा हेलीप्याड हुने इन्जिनियर ज्ञवालीले जानकारी दिईन्।

सिद्धार्थ राजमार्गको दोभानदेखि चिडिया खोलासम्म चार किमि अत्यधिक पहिरो आउने क्षेत्रभित्र पर्छ  । यस खण्डलाई ‘मृत्युमार्ग’ का रूपमा परिचित थियो । यस अघि केपी ओली नेतृत्वको सरकारले सिद्धबाबा सुरुङका लागि २०७७ साल मंसिर १ गते बजेट सहमति प्रदान गरेको थियो । २०७८ साल जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको छ । यसको निर्माणपछि सोही कम्पनीले ५ वर्षसम्म मर्मतको कामसमेत गर्ने सर्त रहेको छ ।यस चिनियाँ कम्पनीले बुटवल नारायणगढ सडक वर्षाैदेखि अलपत्र पारेको छ। सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्ट्रक्सन (ईपीसी)मोडलमा सुरुङ मार्गको चाइना कम्पनीले ठेक्का पाएको हो । नारायणगढ(बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्गको काम गरिरहेको छ ।

नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना खेपेको कम्पनीले ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइनेछ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइनेछ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सीधै तल झार्नेछ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङ मार्ग निर्माणको निर्णय गरेको थियो ।तत्कालीन राजा महेन्द्र शाहको सरकारको पालामा २०२२ सालमा यस सिद्धार्थ राजमार्ग निर्माण सुरू भएको थियो । २०२८ सालमा पोखरासम्म पूरा भए पनि सरकारलाई २०३५ सालमा बुझाइएको थियो ।

रुपन्देहीको सिमाना चिडिया खोलादेखि झुम्सासम्मको ९ किलोमिटर क्षेत्र अत्यन्तै जोखिमपूर्ण मानिन्छ । त्यसमा पनि झण्डै चार किलोमिटर क्षेत्रमा हिउँद होस् वा वर्षा जहिले पनि ढुंगा तथा पहिरो झर्ने गरेको छ ।सडक निर्माण गर्दा कमजोर भौगर्भिक स्थानबाट रेखांकन भएकाले पनि अहिले समस्या भएको बताइन्छ । जसले गर्दा सडक मर्मतसम्भार गर्नसमेत चुनौतीपूर्ण हुने गरेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्र अन्यत्रभन्दा बढी जोखिमपूर्ण मानिन्छ । झण्डै चार किलोमिटर क्षेत्रमा पछिल्लो १४ वर्षमा ९८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा छ । यस अवधिमा ६७ दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । १८ वर्षको तथ्यांकमा तानसेन(बुटवल ३८ किलोमिटर सडकमा २०० बढीको ज्यान गएको छ । ७०० बढी घाइते र अंगभंग भएका छन् ।

तत्कालनी ओली सरकारले प्रारम्भ गरेको यस आयोजनाले धेरै प्रधानमन्त्रीहरुको अनुहार देखिसकेको छ। संसद विघटन गरेर सर्वत्र आलोचना खेपिरहेको तत्कालीन ओली र सरकार त्यसका प्रधानमन्त्री केपी ओलीको दोश्रो कार्यकालको सत्ता बर्हिगमनको एक महिना अघि टेण्डर भएको थियो । त्यत्तिबेला उनले देशभर सडक र अस्पतालको बालुवाटारबाट शिलन्यास गरेका थिए। ती शिलन्यास गरेका सडक र अस्पताल सत्ताको पासा पल्टिएसंगै गुमनाम छन् तर, यस सिद्दबाबा सुरुङमार्गको भौतिक तथा आर्थिक प्रगति ४० प्रतिशत मात्रै भएको छ । यद्यपि आयोजना पूरा नहुँदै प्रधानमन्त्री केपी ओलीले शुक्रबार उदघाटनको साइत जुराएका छन् ।

सुरुङ मार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएको छ । जसले गर्दा सवारीसाधन गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ मार्गको उत्तर र दक्षिणतर्फको बाहिरी सडकको स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ ।

आयोजना प्रमुख कृष्ण अधिकारीका अनुसार रक सेड, पहुँच सडकको निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ । बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ  । त्यसबाहेक सडकमा ९०० मिटर लामो ढुंगा रोक्ने छानो ९रक सेड० पनि बनाउनुपर्नेछ । त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिनेछ  । यस खण्डमा सडकलाई दुई लेनको बनाउने गरी काम हुने आयोजनाले जनाएको छ  ।

यस्तै सम्झौता शर्तअनुसार सुरुङ मार्गको वारेन्टी, सञ्चालन तथा मर्मतसम्भारको लागि ५ वर्ष तोकिएको छ । यो ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्ने जिम्मेवारी ठेक्का पाउने कम्पनीकै हुनेछ । निर्माणकै क्रममा रहेकाले यो सुरुङ मार्ग प्रयोग गरी सवारीसाधन गुडाउनेले शुल्क तिर्नुपर्ने वा नपर्ने विषयमा अहिले मोडालिटी तयार भएको छैन । सुरुङ मार्गमा ६० किलोमिटर प्रतिघण्टाको दरले सवारीसाधन गुडाउन पाइने व्यवस्था छ ।

यर्सैगरी शुक्रबार प्रधानमन्त्री ओलीले सडक शिलन्यासमै दिन विताउँनेछन्। उनले शुक्रबार रुपन्देही र कपिलवस्तु जोड्ने मुख्य राजमार्ग स्तरोन्नतिको प्रधानमन्त्री ओलीबाट शिलान्यास गरिने भएको छ । प्रधानमन्त्री ओलीले गोरूसिंगे–चन्द्रौटा सडक खण्डको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।
सडक आयोजनाका प्रमुख कुशलता न्यौपानेले प्रधानमन्त्री सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सेलिब्रेसन गर्न आउँदा त्यही मौकामा सडकको औपचारिक शिलान्यास कार्यक्रम राखिएको बताइन् । बुटवल जीतगढीमा सडक शिलान्यास कार्यक्रम रहेको उनले बताइन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ७ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित