१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

आजदेखि जनकपुरधाममा जानकी महोत्सव शुरू, अपरान्ह ४ बजे राम कथा बाचन


१६ बैशाख २०८२, मंगलबार  


आजदेखि जानकी जन्मोत्सव शुरू भएको छ। यस अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको हो ।

जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।उनका अनुसार अखण्ड रामायण पाठ समेत नियमित रूपमा जारी रहनेछ ।

जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिने छ ।

यही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।

जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।


यही दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिए । उनका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन तीब्र तयारी गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित