३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

डियर प्रेजिडेन्ट ट्रम्प अभिवादन, तिम्रो हलचलले पनि ब्युँझिएनन् हाम्रा ‘अल्छि शासक’ !


१२ फाल्गुन २०८१, सोमबार  


बिख नभएको सर्प र इख नभएको मान्छेले कहिल्यै प्रगति गर्न सक्दैनन् भनिन्छ ,नेपाली उखानमा। तर,नेपाली शासकहरूमा त्यो हुटहुटी कहिल्यै देखिएन।पछिल्लो पटक केपी ओली नेतृत्वको सरकार गठन भएको पनि २२० दिन बढी भैसकेको छ।तर, सरकारको हुती उन्नाइसबाट बीस पुगेको छैन।बरू उन्नाइसबाट अठारतिर झरिरहेको छ।

उकालो लाग्नका लागि योजना हुन्छन् ।ती योजनाहरू पूरा गर्न हुटहुटीसहित संकल्प चाहिन्छ ,हर शासकको ।तर, हाम्रो सरकारसंग हुती पनि छैन ।हुटहुटी पनि देखिन्न ।किनकि राष्ट्रप्रति जवाफदेहीता र उत्तरदायित्वको बोध पटक्कै छैन। मुलुकको राजनीति ,अर्थतन्त्र र समाजको स्थिति हरदिन बिग्रदो छ।

सरकार प्रमुख बाकावीरका कथा हालेर त कहिले टिकटकरसंग सम्वाद गरेर दिन हाल्छन् ।मानौ उनी कर्मचारी हुन्। कर्मचारीका लागि जागिर पकाउने मात्रै मुल स्वार्थ हुन्छ । हो, हाम्रा प्रधानमन्त्री पनि मामुली कर्मचारी झै दैनिक प्रशासनको घेरामा छन् । उनी प्रधानमन्त्रीको पालो कटाएर देउवालाई सत्ता बुझाउन भित्ताको क्यालेन्डर हेरेर बसिरहेका छन् । विपक्षीलाई ताछेर सधैं आफू अग्लो बन्ने सोचका धनी उनी यतिबेला सत्ताका लागि कांग्रेसका परम मित्र बनेका छन् ।

नेपाल अपराधबाट धन आर्जित गर्ने मुलुकमा सूचिकृत हुँदा पनि कुनै पछुतो देखिन्न।एफटीफले पुनः ग्रे लिस्टमा राखेपनि कोही छैनन् जवाफदेही ।तीन दलका मुखियाको अधीनस्थमा छ, राज्यसत्ता करिब १ दशकदेखि । संकट र महासंकट आईलाग्दा पनि अर्कोलाई दुत्कार्न छोड्दैनन्।यसैलाई उनीहरू दलको कार्ययोजना ठान्छन् ।दास र नोकर कार्यकर्ता जयजयकार गर्छन् ।

उता, अमेरिकी निर्वाचनपछि विश्व शक्ति सन्तुलनमा फेरबदल आएको छ। अमेरिकी सत्तामा ट्रम्प दोहोरिएपछि उनले उथलपुथलकारी निर्णय गरेर संसारको ध्यान खिचिरहेका मात्रै छैनन् । बिहान उठ्दा ट्रम्पले के नयाँ हलचल ल्याउने हो भन्ने त्रास पनि उस्तै छ। राष्ट्रपति पदको शपथ लिएको एक महिना बढी भएको छ।

यश अवधिमा उनले युक्रेनलाई गलाए भने रूससंग वार्ता अघि बढाए।उता हमास र ईजरायललाई शान्तिका लागि सहमत गराए। विश्वमा युद्ध होईन,शान्तिबाट नायक बन्ने सोचले ट्रम्प अघि बढिरहेका छन् । एक सय कार्यकारी आदेश जारी गरेर त्यसको कार्यान्वयनमा लागेका उनले चीन र भारतसंग व्यापार अनि रूससंग मित्रता बढाएका छन् ।

परम्परावादी वैश्विक संरचनामा उथलपुथल ल्याएका छन् ।अमेरिकी हित विपरीत विश्व व्यापारमा निर्ममरूपले पुनः विचार गर्दै कार्यान्वयनमा छन् ।आयातमा कडिकडाउकासाथ कर अर्थात ट्यारिफ लगाएर अमेरिकी जनताको क्रय शक्ति बढाउन उनी प्रतिवद्ध छन् ।

राष्ट्रिय ऋणले थिचिएको अमेरिकालाई मुक्त गर्न युक्रेनको दुर्लभ खनिज दिन दबाब दिइरहेका छन् ।युरोपसंगको परम्परावादी सम्बन्ध भत्काएर चीन ,भारत र रूससंग मित्रता बढाएका हुन्। देश हितको स्वार्थमा अघि बढेको हुटहुटी तुफान झै छ । उनको नयाँ सम्बन्धले विश्वमा हलचल ल्याएको छ।

त्यसको बाछिटा नेपालमा पनि परेको छ।तर,नेपाली शासकहरू बेसुरमा छन् ।उनीहरू चीर निद्राबाट बौरिएको देखिन्न। अमेरिका, चीन र भारतको नेपाल प्रभाव र दबदबा बढेको बताउँछन् पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे । बदलिएको विश्व भूराजनीतिमा नेपालले आत्मसम्मान र अडानको साथ आफ्नो कुरा राख्नु पर्ने उनी सुझाउँछन्। तर, गठबन्धन सरकार आफ्नै गन्थनमा छ।

बरू, अमेरिकी सहयोग कटौतीले सरकार छटपटिएको देखिन्छ । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत गरिबीमाथि अपमान भनेर टिप्पणी गरेका छन् । ट्म्पले केही दिन अघि युएस एडको सहयोगमा ठगी,फ्रड र भ्रष्टाचार भएको दाबी गरेका थिए।

गएको आईतबारको संसद बैठकमा पनि एमाले सांसद तथा पूर्व मन्त्री गोकुल बास्कोटाले ट्रम्पले हेपेको भन्दै आक्रोश व्यक्त गरेका थिए।देशभर सञ्चालित एनजीओ र आईएनजिओमा एमाले सम्वद्धहरू धेरै भएको अनुमान छ। विदेशी सहयोग रोकिएपछि त्यसको सबैभन्दा धेरै असर एमालेमा परेको देखिन्छ ।

पूर्व मन्त्री दीपक ज्ञवालीले एक टेलिभिजन कार्यक्रममा एमाले अध्यक्षदेखि वडाका कार्यकर्तासमेतले विदेशी सहयोगबाट लाभ लिएको दाबी गरेका थिए। त्यस लगत्तै एमाले महासचिव शंकर पोखरेलले गैरसरकारी संस्थामा एमाले अलग भएको प्रष्ट्याएका थिए।

उता, रिमेक अमेरिका भनेर पुनः सत्तामा फर्किएका ट्रम्पले पहिलो पटक भन्दा दोश्रो पटक अझ धेरै मतले जन विश्वास जिते। जनताले कुरौटे अर्थात कथनीलाई होईन करणी नेतालाई रूचाउँछन् भन्ने तथ्यको अमेरिकी राजनीतिमा देखिएको फेरबदल र त्यसको हलचलबाट पुष्टि हुन्छ। परम्परावादी धर्राबाट अमेरिकी हित छैन भन्ने कुराले अमेरिकी जनताले मत बदले।

बाईडेन शासनमा अमेरिक हर हिसाबले कमजोर भएको पक्का हो। तर, अमेरिका फेरि महाशक्तिशाली हुने ट्रम्पको उद्घोष छ। यद्यपि अमेरिकी प्रभुत्व कायम नभएको होईन।
ट्रम्पको फस्ट नेसन भन्ने मान्यता अनुमोदित भयो। त्यही जनताको अथाह विश्वास लिएर ह्वाइटहाउस छिरेका उनी बिलिनियर ईलन मस्कसंग दोस्तीमा छन् ।

पहिलो चुनाव विपक्षमा रहेका मस्क पछिल्लो निर्वाचनमा ट्रम्पलाई सघाउने मात्रै गरेनन् । ट्रम्पको शासकीय अभियानमा सरकारी जिम्मेवारी लिएर सघाइरहेका छन् । सरकारी दक्षता विभागको प्रमुख बनेर कासन दिइरहेका छन् ।

उनी सरकारी कर्मचारीलाई भनिरहेका छन् ,कि काम देखाउ,कि राजीनामा देउ। उनको यस्तो कठोर कदमलाई ट्रेड युनियनहरूले भने आपत्ति जनाईरहेका छन् । ट्रम्प सन्काह शासक भनेर केही मिडियामा उपनाम दिईएको भए पनि राष्ट्र बनाउन कठोर कदम चाहिन्छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ।यद्यपि मस्क एक नामूद व्यापारी हुन्।उनको पनि स्वार्थ पक्कै छ।


मुल कुरा राष्ट्र निर्माणको हो।सधैं भरी अमेरिकालाई साम्राज्यवादी भनेर धारे हात लगाउने नेपाली कम्युनिस्टहरूले राष्ट्रका लागि कठोर कदम चालेको कहिल्यै अनुभव छैन। बरू, उनीहरू कुलमान जस्ता उज्यालो नेपालका नायकलाई पदमुक्त गर्न थाल्छन् ।खुरुखुरु काम गरिरहेको मामुली कर्मचारीलाई कारबाही गरेर भ्रष्टहरूलाई पुरस्कार दिन्छन्।

आफ्नै साईबर सेना खडा गरेर गोयबल्स शैलीमा आक्रमक बन्छन् ।सरकारको नालायकी काममाथि प्रश्न उठाए हत्कडी लगाउने कानुन प्रस्ताव गर्छन् । सहकारी ठगी,बलात्कार मुद्दा ,भ्रष्टाचारी मुद्दा ,मानव तस्करी जस्ता अपराधमा आफ्नालाई उन्मुक्ति दिन्छन् अनि पराइलाई फसाउँछन् र हत्कडी लगाउँछन् ।

जबकी ट्रम्पले विरोधीहरूलाई आम माफि दिन्छन्।हाम्रो सरकारले भ्रष्ट ,बलात्कारी,यौनपिपासु,मानव तस्करहरूलाई संरक्षण दिँदा सरकारमाथि चरम असन्तुष्टि चुलिएको छ।तैपनि सरकार रोम जलिरहेछ,निरो बाँसुरी बजाइरहेको ताल र सूरमा छ मस्त छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ४० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित