२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

मितव्ययी ती प्रधानमन्त्री वीपी र अहिलेको भ्रष्ट कांग्रेस !


२६ श्रावण २०८२, आइतबार  


एउटा यस्तो समय थियो। जतिबेला नेपालका प्रजातान्त्रिक आन्दोलनका आदर्श पुरुष यो देशको प्रधानमन्त्री थिए । करिब दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकार उनको थियो । समाजवादी विचार दर्शनले लैस ती व्यक्तित्वको निजी आवासमा दुई भारी दाउराको बील धेरै आयो । त्यसको उनले छानविन गराए । यो यथार्थ घटनाको उदाहरणले के दर्शाउँछ भने अनियमितता र भ्रष्टाचारप्रति ती नायक निकै निर्मम थिए ।


यति भूमिका र यथार्थ घटनाको कहानीपछि तपाईलाई लागिसक्यो होला । यस्ता आदर्श राजनीतिज्ञ को थिए होलान् ? यो इतिहासको तथ्य घटना हो की काल्पनिक कथाको पात्र ? तपाई द्धिविधामा पर्नु भयो होला । तर, ती नायक कुनै त्यस्तो दन्त्य कथाको पात्र थिएनन् । त्यस्ता आदर्श व्यक्तित्व उनै वीपी कोइराला थिए । अहिलेको कांग्रेस हेरेर तपाई हामीले नाक मुख थुन्नु पर्ने अवस्था छ। यही कारण पनि त्यो वास्तविक घटनाप्रति तपाईलाई चाँडै पत्यार नलाग्न पनि सक्छ ।


अहिलेको कांग्रेस उनै आदर्श पुरुषको व्याज खाएर राज्य सत्ता दोहन गरिरहेका छ । भ्रष्टहरुको कांग्रेस अखडा बनेको छ। जहाँ भ्रष्टाचार, त्यहाँ कांग्रेस भन्ने स्थिति छ। ती आदर्श पुरुष मितव्ययीतामा कति धेरै निर्मम थिए, भन्ने अर्को उदाहरण हो, आफै प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री मन्त्रीको तलब स्वाट्टै घटाएका थिए । २०१५ सालतिरको कुरा हो । जतिबेला प्रधानमन्त्रीको तलब जम्मा पच्चिस सय थियो ।राज्यकोषमा भार पर्ने भन्दै उनले प्रधानमन्त्रीको तलब १५ सयमा झारे । मन्त्रीहरुको १५ सयको तलब घटाएर १हजार बनाए ।


जबकी यतिबेलाको कांग्रेस सम्मिलित ओली सरकारले प्रधानमन्त्री र मन्त्रीले आफ्नो तलब आफै तोक्ने भएका छन् । त्यसका लागि सरकारले कानुन बनाइसक्यो । भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएको ओली सरकारका अघि वीपीको आर्थिक मितव्ययीतताको कथा एकादेशको दन्त्य कथा झै लाग्न पनि सक्छ । किनकी कांग्रेसी कोटाका गृहमन्त्री मानव तस्करीमा आरोपित छन् । देउवा पत्नी अर्थात परराष्ट्रमन्त्री आरजु देउवा नक्कली भुटानी शरणार्थी प्रकरणको भुतले खेदिएकी छिन् । एमालेको कोटामा परेका भूमिमन्त्री अडियो काण्डमा घुस डिल गरेको घटना निर्लज्जै पचाइरहेका छन् । भ्रष्टमन्त्री बोकेर ओलीले सुशासन र समृद्धिको गीत गाइरहेका छन् ।


उता सत्ता सहयात्री कांग्रेसले अविर जात्रा गरिरहेको छ। यस्तो अवस्थामा हाम्रो लोकतान्त्रिक व्यवस्था छ। लाजले शीर झुकाएको छ, शरमले लज्जाबोध गरेको छ। यस्तो विघ्न भ्रष्टाचारको नियती राज्यले भोगीरहँदा तत्कालीन समयमा कांग्रेसका संस्थापक नेता वीपीसंग छोरीले टेप रेकर्डर किन्न आग्रह गरिन् । तर, उनले आफ्नो आर्थिक हैसियतले नभ्याउने भन्दै इन्कार गरिदिए । आफ्नो सहोदर भाइले महिना नपुग्दै जुत्ता फेरे । तलब नबुझ्दै जुत्ता कसरी किनेको भन्दै स्वकीयबाट भाइलाई हटाइदिए ।

अहिलेका प्रधानमन्त्री र मन्त्रीका स्वकीयले वार्षिक पौने आठ करोड सरकारी रकम स्वाह पार्छन् । काम न बेकामा बथान सरकारले सिंहदरबारमा थुपारेको छ। जसले राज्यको नीति,योजना र बजेटमा समेत दक्खल राख्छन् । जसको कारण ओली सरकार झन् गन्हाएको छ। उतिबेलाको समयमा वीपीले देखेको सपना र प्रधानमन्त्री भएर पनि देखाएको त्यो मितव्ययीता अहिलेका कांग्रेसीका लागि अनौठो पनि लाग्न सक्छ । तर, यो इतिहासको एक सत्य घटना हो । जसको कारण वीपी अहिले पनि कांग्रेसीले मात्रै होइन, गैर कांग्रेसीले पनि उत्तिकै श्रद्धा र सम्मान गर्दछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  १२ : ४१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित