३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

असाेजकाे तेस्रो सातासम्म पनि मनसुनी वायूकाे प्रभाव कायमै,पूर्वी तथा मध्य नेपालमा आज मध्यम वर्षा


१८ आश्विन २०८१, शुक्रबार  



दशैले छपक्कै छाेप्दै गएपनि मनसुनी वायूकाे प्रभाव यथावत रहेकाे छ। यही असाेज ११ र १२ गतेकाे भीषण वर्षाले छेदविच्छेद गराएकाे पूर्वी तथा मध्य नेपालमा शुक्रबार मध्यम वर्षाकाे अनुमान गरिएको छ।


पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ, भने मनसुनको समेत प्रभाव कायम रहेकाले आज पूर्वी र मध्य भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएकाे हाे।

आज हिजोको तुलनामा धेरै ठाउँमा प्रभाव देखिने मौसमविदले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका आज र भोलि वर्षाको सम्भावना छ । तर ,लगातार वर्षा हुने छैन । यद्यपि यसको असर यात्रुहरुलाई पर्न सक्ने उनको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ ।

साथै कोशी प्रदेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ

यो खबर तयार पार्दासम्म ८ घण्टायता कोशी, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा राम्रै वर्षा भएको देखिएकाे छ ।

एक घण्टायता भने गण्डकी प्रदेशमा पर्ने पूर्वी नवलपरासीको दुम्कौलीमा भारी वर्षा मापन भएको छ । त्यहाँ एक घण्टाको अवधिमै ३१.८ मिलिमिटर वर्षा मापन भएको छ ।

बढी वर्षा भोजपुर, मकवानपुरको हात्तीसुढे, ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुपाल्चोकको चन्द्रखु लगायतका स्थानमा भएको देखिन्छ ।

त्यतिबेला हात्तीसुढे, मकवानपुरगढी र त्यस आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरिएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ४२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित