२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

एनआइसी एशिया बैंकको अवस्था फेरि खराब,नाफामा अत्याधिक गिरावट,लाखौ बचतकर्ताको निक्षेप जोखिममा !


१० माघ २०८१, बिहिबार  


बैंक पनि साथी पनि भन्दै विज्ञापन बजारमा आक्रमक बनेको एनआइसी एशिया बैंकको बैकिङ अवस्था पुनः खराबतिर उन्मुख देखिन्छ। २०५५ सालमा स्थापना भएको यस बंैकको पछिल्लो अवस्थाले लाखौ निक्षेपकर्ताको बचत रकम पनि जोखिममा पर्ने देखिन्छ।

गएको आर्थिक वर्षको दोश्रो त्रैमासिकमा १ अर्ब ९० करोड ३८ लाख बढी नाफा गरेको यस बैकले यस चालू आर्थिक वर्षको दोश्रो त्रैमासको यही अवधिमा १५ करोड १७ लाख ३० हजार नाफा गरेको छ। यसरी एकै वर्षमा बैंकको नाफामा देखिएको ठूलो गिरावटले बैंकको वित्तीय स्थिति जदै खराबको बाटोमा गएको प्रष्ट हुन्छ।

झण्डै १५ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको नाफाको स्थिति हेर्दा अब बैंकले लगानीकर्ताको विश्वास टिकाइराख्ने स्थिति देखिएको छैन । पुष मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९८.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात १८५.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिशेयर आम्दानीमा ७८ प्रतिशतले गिरावट आएको छ । यद्यपि यो पुस मसान्तसम्मको रिपोर्टका आधारमा हो ।

आर्थिक वर्ष २०७९÷८० मा बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेकोमा पछिल्लो वर्ष २०८०÷८१ मा सो घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ । बैंकको प्रतिफलमा ७६ प्रतिशतमाथिको गिरावटले लगानीकर्ताहरु निरुत्साहित हुने खतरा बढेको छ । थप, पछिल्लो समय बैंकको बढ्दै गरेको खराब कर्जाको ग्राफले पनि निक्षेपकर्ताको विश्वास समेत गुमाउने स्थिति बनेको हो ।

बिैकिङ सुशासन भद्रगोल हुादा यस बैमाथि राष्ट्र बैकले कारबाहीको डण्डा चलाएको छ। नियामक नेपाल राष्ट्र बैंकले केहीँ कारबाहीको डण्डा समेत चालाएको हो आर्थिक वर्ष २०७२÷७३ को प्रथम त्रैमासमा केन्द्रीय बैंकले बैंकलाई एक लाख ६५ हजार ६६७ रुपैयाँ १२ पैसा बराबरको नगद कारबाही गरेको थियो ।

यस्तै २०८०÷८१ को प्रथम त्रैमासमा यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ को बुँदा नं.३ को (८) मा उल्लेखित व्यवस्था विपरीत हुने गरी ग्राहकहरुसँग बढी लिएको ब्याज लिएको भन्दै सम्बन्धित ग्राहकको खातामानै रकम फिर्ता गर्न केन्द्रीय बैंकले लगाएको थियो । तर, बैंकले कतिपय ग्राहकको खातामा पैसा फिर्ता नगरेको एवं आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा पुनः निर्देशन विपरीत ब्याज बढाएको, नियम विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको भन्दै केन्द्रीय बैंकको कारबाहीमा परेको थियो।

यसैगरी आर्थिक वषर्ए २०८१÷८२ को दोस्रो त्रैमासमा पनि एनआईसी एशिया बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको आरोप लागेको छ। बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको आरोप बैंकमाथि लागेको थियो ।

जतिबेला केन्द्रीय बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल तथा संचालक रामचन्द्र संघाइलाई नगद कारबाहीसहित चेतवानी दियो ।एनआईसी एशिया बैंकबाट पटकपटक कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पूँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदर सम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । बैकिङ सुशासनमा निकै कमजोर देखिएको यस बैक सम्भवतः सबैभन्दा केन्द्रीय बैंकको राडारमा परेको बैक हो ।

यसैगरी यस बैकका ऋण असुली न्यायाधीकरणमा मुद्दाका चाङ रहेका छन्।पछिल्लो समय एनआईसी एशिया बैंक ऋणीसँग धेरै मुद्दा मामिला गर्ने बैंकको रुपमा समेत परिचित बनेको छ । २०७९ कात्तिक ४ गतेदेखि हालसम्म बैंकको ऋण असुली सम्बन्धी १४४ वटा मुद्दा परेका छन् । यसअवधिमा ऋणीसँग बैंकले ३ अर्ब ५२ करोड ९२ लाख २६ हजार ३७६ रुपैयाँ बराबरको बिगो दाबी गर्दै ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गरेको हो ।

ऋण नउठेपछि छुट अफरको फण्डा पनि यस बैकले चलाएको छ। ऋण असुली न्याधीकरणमा मुद्दा दायर गरेपनि असुली हुन नसकेपछि यस बैकले छुट अफर समेत ल्याउनु परेको थियो । २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैंकले अफर गरेको थियो ।बैंकले भाखा नाघेको ९१ दिनदेखि १८० दिनमा चुक्ता भुक्तान गरेमा साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भएमा ३५ प्रतिशत छुट पाउने योजना ल्याएको थियो । तर पनि बैंकको ऋण असुलीमा खासै सुधार आउन सकेन ।

यस्तै गरी यस बैकले लाभांश वितरणमा पनि रोक लगाएको छ। बैंकले आर्थिक वर्ष २०६९÷७० मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसयताका आर्थिक वर्ष २०७६÷७७ सम्म बैंकले निरन्ततर रुपमा शेयरधनीलाई लाभांश वितरण गर्दै आएको थियो । तर, आव २०७७÷७८ र २०७८÷७९ को लाभांश वितरणमा भने राष्ट्र बैंकले रोक लगाएको थियो । राष्ट्र बैंकले शेयरधनीले गरेको लगानी भन्दा बैंकले लिएको दायित्वको अनुपात बढी भएको भन्दै एनआईसी एशिया बैंकलाई केन्द्रीय बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।

प्राथमिक पुँजीकोष भनेको शेयर धनीको लगानी पनि हो । जसमा चुक्ता पुँजी, जगेडा कोष र सञ्चित मुनाफा समावेश भएको हुन्छ । अर्को पुरक पुँजीमा भने ऋणपत्रलगायत समावेश गरिएको हुन्छ । उक्त पुँजीको आधारमा बैंकले कतिसम्म व्यवसाय गर्न सक्छ भन्ने निर्धारण हुने गरेको छ ।राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार न्युनतम प्राथमिक पुँजी तथा पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तर, एनआईसी एशिया बैंकले भने उक्त पुँजीकोष कायम गर्न नसकेपछि उक्त वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरणमा रोक लगाएको थियो ।

पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्युनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । एनआईसी एशिया बैंकको २०७८ असार मसान्तको कुल पुँजीको १२.४१ प्रतिशत भए पनि प्राथमिक पुँजीकोष भने ७.५१ प्रतिशतमात्रै रहेको थियो । जबकि राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार प्राथमिक पुँजी कोषको अनुपात ८.५ प्रतिशत हुनुपर्ने थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ११ : ४३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित