३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

घरजग्गा काराेबारमा ४० प्रतिशतले वृद्धि !


५ पुस २०८१, शुक्रबार  



घरजग्गा काराेबारमा केही वृद्धि भएको छ। गएकाे आर्थिक वर्षको तुलनामा यश चालू वर्षमा करिब ४० प्रतिशतले वृद्धि भएको देखिन्छ ।


भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गएकाे मंसिर महिनामा मात्रै घरजग्गाको कारोबारको मुख्य सूचक मानिने नामसारीको सङ्ख्या करिब ४५ प्रतिशतले बढेको देखिएको हो । 

विभागका अनुसार मंसिर महिनामा देशभरमा ४ हजार ६९४ वटा घरजग्गा नामसारी भएको छ । अघिल्लो वर्षको मंसिर महिनामा ३ हजार २२४ वटा मात्रै जग्गा नामसारी भएको थियो । 

मंसिरको कारोबारसँगै यो अवधिमा कारोबारको कुल सङ्ख्या १८ हजार ९४१ पुगेको छ । यो अघिल्लो वर्ष पाँच महिनाको तुलनामा करिब ४० प्रतिशतले बढी हो । यसअघि कात्तिकमा ३ हजार ३६२ असोजमा २ हजार ८३५ भदौमा ३ हजार ८८८ र साउनमा ४ हजार १६२ पटक घरजग्गाको नामसारी भएको थियो । 

अघिल्लो वर्ष चार पाँच महिनामा १३ हजार ६८६ कारोबार भएको थियो । त्यसमध्ये मंसिरमा ३ हजार २२४ यसअघि कात्तिकमा १ हजार २२३ असोजमा ३ हजार २३७ भदौमा २ हजार ८४३ र साउनमा ३ हजार १५९ पटक घरजग्गाको नामसारी भएको थियो । 

त्यसैगरी,विभागका अनुसार पाँच महिनाको अवधिमा १ लाख ५९ हजार ३९० पटक जग्गा रोक्काको काम हुँदा १ लाख २४ हजार ५५९ वटा फुकुवा भएका छन् । जग्गा रोक्कालाई ऋण लिएको र फुकुवालाई ऋण तिरेको मान्ने हो भने यो अवधिमा जग्गा धितोमा करिब ३५ हजार वटा नयाँ ऋण गएको देखिन्छ । अघिल्लो वर्ष रोक्का र फुकुवाको सङ्ख्या क्रमशः १ लाख ५३ हजार ६९० र १ लाख १९ हजार २१० रहेको थियो । जसमा खुद रोक्का ३४ हजार ४८० वटा रहेको देखिन्छ । 

विभागका अनुसार यो मंसिर महिनामा मात्रै ३५ हजार १४६ पटक जग्गा रोक्का हुँदा २७ हजार ४९५ पटक फुकुवा भएको छ । अघिल्लो वर्षको मंसिरमा २९ हजार ६२६ पटक रोक्का हुँदा २५ हजार ४५४ पटक जग्गाको फुकुवा गरिएको थियो । 

त्यस्तै, कात्तिक महिनामा यो वर्ष २५ हजार ३० पटक रोक्का र २१ हजार ८०५ पटक फुकुवा भएको थियो जबकि अघिल्लो वर्ष यो सङ्ख्या क्रमशः १८ हजार ५९३ पटक र १५ हजार १५९ रहेको थियो । 

असोजमा यो वर्ष ३२ हजार ७३६ वटा रोक्का र २० हजार ९२३ वटा फुकुवा हुँदा अघिल्लो वर्ष यो सङ्ख्या क्रमशः ४१ हजार ९०५ वटा र २८ हजार १६० वटा रहेको थियो । 

भदौ महिनामा यो वर्ष ३६ हजार ८१९ वटा रोक्का र २५ हजार २६१ वटा फुकुवा भएको छ  । अघिल्लो वर्ष एक महिनामा ३५ हजार ४३६ वटा रोक्का र २४ हजार १४ वटा फुकुवा भएको थियो । 

साउनमा भने यो वर्ष २९ हजार ६५९ वटा रोक्का हुँदा २९ हजार ७५ वटा फुकुवा भएका छन् । अघिल्लो वर्ष २८ हजार १३० वटा जग्गा रोक्का र २६ हजार ४२३ वटा फुकुवा भएका थिए । 

घरजग्गा काराेबारमा केही सुधार आएपछि राजश्व संकलनमा पनि प्रभाव परेको छ।यद्यपि निश्चित अवधिमा कति बराबरको जग्गा कारोबार भयो भन्नेबारे मालपोत कार्यालयहरूले तथ्यांक प्रकाशित गर्ने गरेका छैनन् । जग्गाको न्यूनतम मूल्यांकन र कारोबार गरिएको मूल्य फरक फरक हुने र कतिपय अवस्थामा वास्तविक कारोबार मूल्य र घोषित कारोबार मूल्य समे फरक फरक हुने गरेको छ । सरकारले भने न्यूनतम मूल्यांकनभन्दा कम नहुने गरी जग्गा कारोबारमा राजश्व संकलन गर्ने गरेको छ । 

मंसिर महिनामा मात्रै जग्गाको कारोबारबाट कुल ३ अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये सबैभन्दा धेरै रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब ६३ करोड, पुँजीगत लाभकरबापत १ अर्ब ३१ करोड, सेवा करबापत २६ करोड संकलन हुँदा ३७ करोड रुपैयाँ बराबरको छुट दिइएको छ । 

अघिल्लो वर्षको मंसिर महिनामा जग्गाको कारोबारबाट कुल २ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ९५ करोड, पुँजीगत लाभकरबापत ९६ करोड, सेवा करबापत २२ करोड संकलन हुँदा ३१ करोड रुपैयाँ बराबरको छुट दिइएको छ ।

काठमाडौँ उपत्यकामा अहिले कलंकी, चाबहिल, साँखु, लगनखेल, भक्तपुर, डिल्लीबजार, साँखु, टोखा र गोटीखेलमा मालपोत कार्यालय रहेका छन् । ती कार्यालयहरूमा अघिल्लो वर्ष कुल ३४३ वटा नामसारी भएकोमा यो वर्ष उक्त सङ्ख्या ४०४ वटा पुगेको छ । यो महिनामा भक्तपुर मालपोत जग्गाको सबैभन्दा धेरै नामसारी गर्ने कार्यालयको रूपमा अगाडि आएको छ । 

भक्तपुरमा घरजग्गा कारोबारमा संलग्न अनुप बस्नेत पछिल्लो समय जग्गाको मूल्य घटेको र आर्थिक अवस्था सुधारोन्मुख रहेका कारण यसअघि जग्गा किन्ने योजना बनाएर पनि स्थगित गरेकाहरूले अहिले किन्न सुरु गरेको बताउँछन् । खासगरी सुविधा पुगेका तर, मुख्य राजमार्गभन्दा टाढाको तुलनात्मक रूपमा सस्तो जग्गामा अहिले आकर्षण देखिएको उनको अनुभव छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित