स्थानीय तहमा चर्चित र स्थापित जनप्रनिधि हुन्, बालेन्द्र साह, रेणु दाहाल र हर्क साम्पाङ । २०७९ को स्थानीय तहको निर्वाचनबाट नगर सरकार प्रमुख बनेका यीनीहरु अब संसद र सरकारमा देखा पर्नेछन् ।
बालेन्द्र र हर्क स्वतन्त्रबाट पार्टी प्रवेश र पार्टी खोलेर दलीय संगठनमा जोडिएका हुन् भने रेणु दाहाल नेकपाको सिफारिसमा फागुन २१ पछि संसदमा प्रवेश गर्ने सुरसारमा छिन्।
आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरु चुनावी भिडन्त गर्ने गरी अघि बढेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गरेका छन् । पुस १३ गते आइतबार बिहान भएको सात बुँदे सहमति अनुसार बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव अघि सार्ने भएको छ ।
यसका लागि उनी मेयर छाडेर संसदीय राजनीतिमा बालेनले हाम फाल्न लागेका हुन् । दुई साताभित्र मेयर पदबाट राजीनामा दिएर बालेन प्रतिनिधि सभाको सदस्यका लागि अघि बढ्नेछन् । यसैगरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई नेपाली कम्युनिस्ट पार्टीले चितवन–३ बाट उम्मेदवार सिफारिस गरेको छ । उनी संसदीय राजनीतिमै लाग्नेगरी तयारीमा छिन्।
उता, धरानका उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि निर्वाचनमा भाग लिने उद्देश्यका साथ श्रम संस्कृति पार्टी खोलेका छन् ।
उनले अहिले उपमहानगरको काम भन्दा पनि पार्टीको गतिविधिमै ध्यान दिइरहेका छन् । उनी पनि संसदका लागि भिड्न मेयर पदबाट राजिनामा दिनुपर्ने हुन्छ । अहिलेको योजना अनुसार बालेन, रेनु र हर्क तीनै जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन चाहेमा बहालवाला पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को उपदफा (ख) अनुसार राज्यको कुनैपनि तहमा बहाल रहेको व्यक्ति निर्वाचनमा उठ्न अयोग्य रहने व्यवस्था रहेको छ । त्यही कानुनी व्यवस्था अनुसार उनीहरुले हालसालैको पदबाट मुक्त हुनुपर्नेछ । काठमाडौका मेयर साहले राजीनामा दिएपनि रेणु र हर्क भने यस विषयमा मौन छन् ।
हर्क साम्पाङ यतिबेला धरान उपमहानगर बनाउन भन्दा पार्टी बनाउने देश दौडाहमा छन्।जेनजी विद्रोहपछि प्रधानमन्त्रीको लालसा देखाएका उनी कुनै पनि अवसर नपाएपछि आफ्नै अध्यक्षतामा पार्टी खोलेका छन् । जेनजी सरकारमा उनको उपस्थिति नभएपछि कुलमान, बालेन र रविमाथि उनको प्रहार निरन्तर जारी छ ।
सामाजिक सन्जालमै अभ्यस्त साम्पाङ स्वच्छ छवि भएपनि आफ्नै अभिव्यक्तिका कारण सधै विवादमा तानिन्छन् । श्रमपिताको रुपमा स्थापित भएपनि अरुको विचारलाई नसुन्ने शैली उनीमा छ । उनको कार्यशैली र अभिव्यक्तिकै कारण विवादमा आउने हर्क निश्कलंक पात्र भने अवस्य हुन् । ००००








