विज्ञानले विकास गरेको प्रगतिमा हामीले हाम्रो कुखुरे छाति निकै फुलाउँछौ, अनि गौरव गर्दछौ । प्रकृतिमाथिको यो दिग्विजय हो भन्ने भाष्य निर्माण गर्दैछौ र गरेका छौ । यो मानव जातिको अहंकारी स्वाभिमानको प्रतिक्रिया पनि हो । आफूले आफूलाई सर्वश्रेष्ठ प्राणी भनेर घोषित मानव समाजको यस्तो प्रवृत्ति हुनुलाई अन्यथा लिन भने मिल्दैन ।
प्रकृतिमाथिको विजयलाई विज्ञानले विकास मानेको छ, आधुनिक समाजले उन्नति ठानेको छ। यही भाषा र भष्यकोबीचमा पारिस्थितिक प्रणालीहरु लोप हुँदै गएका छन्। मान्छेले आफ्नो अस्त्विको लागि लाखौ प्रजातिहरुको विनाश गरिरहेको छ। सासदेखि गासको जोहो गरिदिने प्रकृतिमािथ उसको दोहन र विध्वंशकारी विकासले एकल राज गरिरहको छ। एकातिर हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण’ भन्ने नारा लगाइरहेको छ, भने अर्काेतिर विनाशका श्रृंखलाहरु अविछिन्न, निरन्तर चलिरहेका छन् । वार्षिक कर्मकाण्डको रुपमा हरेक वर्ष फे्रब्रओरी २ का दिन विश्व सिमसार दिवस मनाउने गरिन्छ। तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो दिवस मनाइएको हो ।
सन् २०२१ अगष्ट ३० मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।
संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।
अहिले नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।
सिमसार क्षेत्र भन्नाले प्र्राकृृतिक अथवा कृृत्रिम रूपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो ।
नेपालको सन्दर्भमा नदी, कुण्डा, ताल, जलसाय, धाप र धानखेत गरी ६ प्रकारका सिमसार छन्। अन्टार्टिकाबाहेक सवै महादेशमा सिमसार क्षेत्र पाइन्छ भने दक्षिण अमेरिकाको अमेजन नदीको तटिय क्षेत्र विश्वको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो। यो लगभग ६ लाख बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। विश्वको कुल क्षेत्रको ९ प्रतिशत जमिन सिमसारले ओगटेको छ भने नेपालमा ५.५७ प्रतिशत क्षेत्रफल सिमसारको छ।
अझ वर्गिकरण गर्दा खोलानाला नदीले ४८.२ प्रतिशत, धान खेतले ४८.६ प्रतिशत, धापले १.५ प्रतिशत, पानीका पोखारी, कुवा वा कुण्डाहरुले ०.९ प्रतिशत, मानव निर्मित तथा प्राकृतिक तालहरुले ०.६ प्रतिसत र विद्युत उत्पादनका लागि निर्मित ठूला जलसायले ०.२ प्रतिशत भाग ओगटेको छ। यीमध्ये तालहरुको मात्रै अभिलेख राख्न सफल भएको छ । सामान्यतय सीमसार क्षेत्रलाई ताजा पानी र नुनिलो पानीमा बर्गिकरण गरिएको छ भने नेपालमा पाइने ताजा पानीको सिमसार हो।
सिमसार क्षेत्रको महत्व किन ?
सिमसार जैविक तथा अजैविक हिसाबले महत्वपूर्ण छ। उदाहरणको लागि पिउने पानी, खाद्यान्नको आपूर्ति, इन्धनलगायत लुगाफाटको आपूर्ति, सांस्कृतिक सम्पदाको स्रोत, स्थलीय तथा जलीय वृहत पारिस्थितिक प्रणालीको गतिशील पक्ष, जैविक विविधताको वासस्थान, जलवायु परिवर्तन प्रभाव न्यूनिकरण गर्ने एक संरचनालगायतलाई लिन सकिन्छ। मानिसलाई दैनिक रुपमा आवश्यक पर्ने ताजा पानीको प्रमुख स्रोत सिमसार हो।
विश्वको कुल पानी आयतनको तीन प्रतिशत ताजा पानीको हिस्सा छ भने अधिकांश जमेको अवस्था छ। मानिसलाई पिउन, खाना पकाउन, सरसफाइका लागि प्रतिदिन लगभग २० देखि २५ लिटर पानी चाहिन्छ। यसले भूमिगत जलभण्डरणलाई पनि पुर्नभरण गर्दछ। जुन खानेपानीको मुख्य स्रोतमध्ये एक हो। विश्वभरका लगभग दुई अर्ब एसियाली र ३८ करोड यूरोपेली मानिस भूमिगत जलस्रोतमा निर्भर छन्।
यो खाद्यान्न आपूर्तिको स्रोत पनि हो। खासगरी माछा, पाहा, भ्यागुता, गंगाटो, सर्पलगायत विभिन्न खाद्यान्नको आपूर्ति यही सिमसार क्षेत्रबाट भइरहेको छ। विश्वभर सरदर एक जना मानिसले एक वर्षमा १९ किलो माछा उपभोग गर्छ। अधिकांश माछा आपूर्ति समुन्द्र तटीय क्षेत्रबाटै हुन्छ। विश्वका अधिकांश मानिसको प्रमुख खाना भात नै हो, जुन सिमसारमा नै उत्पादन हुन्छ। यसबाहेक मानिसलाई आवश्यक पर्ने जैविक तथा गैरजैविक इन्धनको स्रोत पनि सिमसारबाट प्राप्त हुन्छ।
सिमसार संस्कृतिको स्रोत पनि हो। संसारका बृहत् मानव सम्यताको विकास नदी किनार वा सिमसार क्षेत्रबाटै शुरुआत भएको अभिलेखहरु पाइन्छन्। मानव जीवनको महत्वपूर्ण सामाजिक कार्यहरु, जन्मदेखि मृत्युसम्मका धार्मिक कार्य, विशेष गरि हिन्दूधर्ममा आधारित प्रमुख चाँडपर्वहरु जस्तै साउने सोमबारहरु, जनै पूर्णिमा, कुसे औसी, छठ, माघे संक्रान्तिजस्ता पर्वहरुका लागि सिमसार क्षेत्रहरु धर्म तथा आस्थाका केन्द्र मानिन्छन्। साथै माछा मार्ने, पौडी खेल्ने, नौका विहारलगायतका विभिन्न मनोरञ्जनात्मक गतिविधि खोला, नदीनाला, ताल, पोखरीजस्ता सिमसार क्षेत्रमै केन्द्रित हुन्छन्।
अर्को जैविक विविधताका लागि महत्वपूर्ण वासस्थान पनि हो, सिमसार। यसले पारिस्थितिक प्रणाली कायम राख्ने गहन भूमिका खेलेको हुन्छ। विश्वभर लगभग एक लाख प्रजातिका प्राणी ताजा पानीको सिमसार क्षेत्रमा पाइन्छन्। अमेजन क्षेत्रको सिमसार क्षेत्रमा २५७ प्रजातिका नयाँ प्राणी पत्ता लागेका छन्। रैथाने तथा अन्य जंगली प्रजातिका सजीवहरुको अनूवंशिक स्रोतको रुपमा पनि सिमसार क्षेत्रलाई मानिन्छ।
सिमसार क्षेत्र पारिस्थितिक प्रणालीको एक अंस पनि हो। स्थलीय वातावरणमा बृहत् पारिस्थितिक प्रणाली परिचालन गर्न खासगरी परागसेचन, मिचाह प्रजाति कायम राख्न, जलवायु नियमगन गर्न, पानी शुद्धिकरण, प्राकृतिक विपत न्यूनिकरण गर्न, किरा तथा रोगव्याधी नियन्त्रणका लागि सिमसारले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। सिमसार क्षेत्रले स्थालिय वातावरणमा वृहत पारिस्थितिक प्रणाली परिचालन गर्न सघाउँछ भने जलीय पारिस्थितिक प्रणालीभित्रको प्राथमिक उत्पादन खासगरी जलीय वनस्पतिहरुका लागि आवश्यक पौष्टिक तत्वहरु परिचालन, माटो निर्माणलगायत अन्य पारिस्थितिक प्रणालीहरु कायम राख्नेलगायतका कार्यहरु परिचालन गरिरहेको हुन्छ।
विपत् न्यूनिकरणमा पनि सिमसार क्षेत्रले सहयोग गर्छ। सिमसार क्षेत्रसित प्राकृतिक विपत खासगरी बाढी र सुख्खा थेग्न सक्ने अथाह क्षमता हुन्छ। वर्षा याममा नदी तटीय क्षेत्रका सिमसार तथा घाँसेमैदानले बाढीको वहावसँगै आएको पानीलाई सोस्छ भने सुख्खा याममा सिमसार क्षेत्रको पानी स्थानीय समुदाय तथा सजीवहरुको लागि आपूर्तिको प्रमुख स्रोत बन्छ। यसरी सिमसार क्षेत्र बाढी र सुख्खा जस्ता प्राकृतिक विपतका लागि सुरक्षा कवचको रुपमा कार्य गरिरहेको छ।
साथै लगभग तीन प्रतिशत क्षेत्रफल रहेको अनुमान गरिएको धाप क्षेत्रसँग विश्व कार्बन संचितको लगभग ३० प्रतिसत भण्डारण गर्ने क्षमता रहेको छ। यो विश्वभरका वन क्षेत्रले भण्डार गर्ने कार्बनभन्दा दोब्बर क्षमता हो। यसले विश्व जलवायु परिवर्तनमा कार्बन उत्सर्जनले पार्ने प्रभाव न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्छ।
सिमसारलाई प्राकृतिक मिर्गौला पनि भनिन्छ। यसले मानव सिर्जित विभिन्न प्रदूषकहरु खासगरी कृषिजन्य रसायनिक विषादी, औद्योगिक प्रदूषण तथा खानी उत्खननलगायत अन्य क्षेत्रद्वारा उत्सर्जित प्रदूषित पानीलाई प्राकृतिक रुपमा शुद्धिकरण गर्छ। जल प्रदूषण खासगरी गह्रौँ धातु तथा विषादीलाई सोसेर जमिनको विभिन्न तह वा पत्रहरु, वनस्पति र सामुन्द्रिक जीवन पद्धति हुँदै मानव जीवनमा उपयोग योग बनाउछ।
विध्वंशकारी विकासले संकटमा सिमसा क्षेत्र
नेपालको जैविक विविधता संरक्षण रणनीति योजनाले पहिचान गरेको पाँच क्षेत्रमध्ये एक हो, सिमसार। तर, अहिलेसम्म भएका सरकारका प्रयासहरु परिमाणमुखी देखिएका छैनन्। तालहरुको अवस्था झनै दयानीय छ। सिमसार क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा तिव्र गतिमा मानवीय अतिक्रमणमा परेको छ।ताल वा नदीका किनारमा मानवीय अतिक्रमण गरी आवास तथा होटेलजस्ता संरचना निर्माण गरिएका छन्। उदाहरणको लागि पोखराको फेवातालको अतिक्रमणलाई लिन सकिन्छ। ३० वर्षअघिको भन्दा अहिले फेवातालको क्षेत्रफल ६० प्रतिशत घटेको छ।
त्यस्तै, अधिकांस तालहरुको जलधार क्षेत्रमा मनसुन ताका जाने बाढी र पहिरोका कारण ढुंगा, गिट्टी, बालुवाजस्ता ठोस पदार्थ थुप्रिथे क्रम जारी छ। यसको तिव्रता ५० को दशकयता ‘आफ्नो गाउँ, आफै बनाउँ’जस्ता कार्यक्रमले पहाडी भेगको भिरोलो जमिनमा उचित प्राविधिक अध्ययन तथा परामर्शलगायत वातावरणीय प्रभाव परीक्षणबिना विकासे गतिविधि व्यापक रुपमा परिचालन भएका छन्। मापदण्ड विपरितका सडक खन्ने डोजर आतंकले अकल्पनीय रुप लिन थालेको छ। जसका कारण वर्षा याममा बाढी र पहिरोलगायत भूक्षयले विद्यमान नदी नालाहरु धमिलिदै जलीय वातावरण बिग्रिनुका साथै दैनिक रुपमा बगाएर ल्याउने लेदो तथा गेग्रान थिग्रिदै जाने प्रक्रियाले सिमसार खासगरी ताल क्षेत्रहरु तिव्र गतिमा पुरिदै गएका छन्।
अहिले जल, वायु र मानव गतिविधिद्वारा सिर्जित ठोस फोहोरमैला नदी, नाला, खोला खोल्सा, पोखरी, ताललगायतका क्षेत्रमा विर्सजन गर्ने बानीले सिमसार क्षेत्र वातावरणीय प्रदूषणको चपेटामा परेको छ। मानव समुदायबाट उत्र्सजन भएका जैविक तथा अजैविक फोहोरमैला विर्सजन गर्ने थलोको रुपमा तालतलैया, नदी, खोलाहरु अधिक प्रयोग गर्ने प्रचलनले प्रदूषण बढेको छ। यसबाहेक विश्वव्यापी रुपमा फैलिएको जलवायु परिवर्तनको नकारात्मक प्रभावले अछुतो नभएकाले सिमसार क्षेत्रहरु सुकेर जमिनमा परिणत भइरहेका छन्। त्यस्तै, अधिकांश तालतलैयाहरुमा जलकुम्भिलगायत मिचाह प्रजातिका जलीय वनस्पतिहरुको बिगबिगी छ। त्यसैगरी साना तालहरु मासिँदै गएका छन्। सन् २००९ मा गरिएको हवाइ नक्सा अध्ययनले नेपालमा लगभग पाँच हजार ३५८ तालहरु देखाएको छ। यीमध्ये तीन हजार मिटरभन्दा कम उचाइमा अवस्थित र एक हेक्टरभन्दा ठूला क्षेत्रफल भएका तीन हजार १३१ वटा (६० प्रतिशत) रहेको पाइएको छ। सन् २०१६ मा सम्पन्न स्थलगत अध्ययनले ती मध्ये ४८५ तालहरु मात्र भएको प्रमाणिकरण गरेको छ। बाँकी लगभग ८५ प्रतिशत तालहरु हराएको वा मासिएको प्रमाणित भएको छ।