२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

निन्दाको राजनीति अति भो , विचार र विवेकको विर्काे खोल !


२१ माघ २०८२, मंगलबार  


भनिन्छ, राजनीति नीतिहरुको माउ नीति हो । राजनीति भनेको सबै नीतिहरुको पनि नीति अर्थात् मूलनीति÷सर्वोच्च नीति हो । जसले समग्र राज्य संचालन गर्ने भूमिका खेल्छ अनि देश र जनताको भाग्य र भविष्य काँधमा बोक्छ । तर,हाम्रोमा राजनीतिको सदुपयोग होइन। बरु, राजनीतिको लिस्नोबाट सत्ताको धुरीमा पुग्ने र पुस्तौलाई पुग्ने सम्पत्ति र शक्ति थुपार्ने डरलाग्दो कुप्रथा यथावत छ । राजनीतिमा यसरी भइरहको चरम दुरुपयोगले राजनीति यतिबेला बेशरमहरुको कलाविहीन लाजनीति जस्तो भएको हो ।


आलोचनात्मक विश्लेषण यसरी गरिरहँदा निराशाको आगो सल्काएको अर्थ पनि लाग्न सक्छ । तर, यथार्थता यही हो, छिपाउन मिल्दैन र भन्नैपर्छ । इतिहासले दिएको जिम्मेवारीले पनि छुट दिदैन । सत्यलाई लुकाउन र छिपाउन पाइदैन र पाइन्न पनि । जनताको अघि तथ्यको आलोकमा उभिएर सत्यलाई दर्शाउनु नै पर्छ । यो सार्वभौम र स्वतन्त्रताको अधिकार पनि यही राजनीतिले दिएको हो । आम नेपाली जनता रैतीबाट नागरिक बनेको पनि राजनीतिकै देन हो । यही राजनीतिको कठोर र निर्मम यात्रामा प्रमुख दलका प्रमुख नेताहरु नै थिए र हुन् । उनीहरुले गरेको भीषण संघर्ष, त्याग र कुर्बानीले नै आजको यो स्वतन्त्रता प्राप्ति भएको हो । यो ऐतिहासिक सत्यतालाई कसैले कहिल्यै विर्सन सक्दैन, दुत्कार्न मिल्दैन र विवेकको तराजुलाई कैफियत गर्न पनि हुदैन ।


तर, राजनीतिक नेतृत्वले नराम्रो गरी गन्तव्य भुल्यो, सुमार्गको यात्रा विर्सिंयो । जनता र देशको सेवा गर्नुपर्ने राजनीति निमुखा, कमजोर, विपन्न र गरिबहरुको अभिभावक होइन। सीमित अभिजातवर्ग अर्थात् माथिल्लोवर्ग, तरमारा वर्ग, माफिया वर्गको संरक्षण गर्दै आयो । पावर एलाइटले सत्ताको दलिनमा बसेर राज्यसत्तामा रजगज गरिरहँदा हाम्रो नेपाली राजनीति यतिधेरै कुुरुप भएको हो । भुइँमान्छेको विशेष अभिभावक बन्नुपर्ने राजनीतिको मैदान हुनेखाने वर्गको मात्रै राइँदाँइ र हालीमुहाली भएपछि हुँदाखाने वर्ग सधै पीँधमा घुमिरह्यो र पधारिरह्यो । हुँदाखाने वर्ग त संधै उनै टाठाबाठा र तरमारा वर्गहरुको करिया,भरिया र दास–दासी मात्र बन्नुपर्ने स्थिति बन्यो र बनाइयो पनि ।

भुइँ मान्छेहरुकै मुद्दा बोकेर आएका प्रचण्ड जस्ता क्रान्तिकारी होउन्, देउवा जस्ता प्रजातनत्रवादी होउन्, या ओली जस्ता राष्ट्रवादीहरु जब उनै तरमाराको गडफादर बनेपछि राजनीति विकृत मात्रै भएन। आज उनै ओली,देउवा र प्रचण्डको विरुद्धमा ठूलो जनमत बन्दै गएको छ । निर्वाचन जनताको अभिमत प्रकट हुने वैधानिक माध्यम हो । यही जनताको मतको सार्वभौम अधिकार लिएर सत्ता र संसदमा पुग्ने उनीहरुमा अहिले पनि चेत फिरेको देखिन्न । बरु, चुनावदेखि चुनावसम्म मात्रै ध्यान ज्यादा देखिन्छ । असंगतिपूर्ण र अप्राकृतिक गठबन्धन गरेर भएपनि चुनाव जित्ने बाहेक अन्य एजेण्डै भएको पाइन्न ।

मुलुकमा झाँगिएको भ्रष्टाचार कुशासनको ऐजेरु उखाल्ने भन्दा पनि आफू सत्तामा कसरी सुरक्षित हुने भन्नेमा मात्रै ध्याउन्न देखिन्छ । राजनीतिले व्यवस्था बदल्यो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनयो । यो आफैमा युगान्तकारी परिवर्तन हो । यो परिवर्तनको सार्थकता हासिल गर्न यहाँको अवस्था बदल्नु पर्ने पहिलो शर्त हो । मुलुकको अवस्था बदल्ने नीति भनेको नै अर्थनीति हो । अर्थनीतिको विषयमा कसैलाई बहस गर्न र बोल्न पनि फुर्सद अनि चासो पटक्कै छैन । एजेण्डाविहीन चुनावी माहोल छ । नयाँ र पुरानाको नाममा कित्ताकाट भएको राजनीति उदेश्यविहीन यात्री झै छ । गन्तव्यहिन यो राजनीतिक माहोलले मुलुकलाई उज्यालोतिर होइन, बरु अध्याँरोको भड्कालोतिर जाक्न सक्छ ।


निन्दा र रखबारीको यो कुप्रचलनले सुसंस्कृति राजनीतिको निर्मम हत्या गरिरहेको छ । यो सामाजिक फाँसीवादी चरित्र र प्रवृत्तिले घृणा, प्रतिशोध र आवेगको उत्पादन गरिरहेको छ । समाजलाई सिद्धान्त र संस्कार दिने राजनीति सिद्धान्तविहीन र कुसंस्कृत राजनीतिको धुवाँमै हराइरहेको छ । निन्दाबाटै निदाउने समाज उत्पादन गरिरहेको राजनीतिले मुलुक बदल्ने योजना र सपना दिनुपर्ने थियो । तर, सामाजिक सञ्जालको एल्गोरिद्मको हुरीमै बत्ताउँदै राजनीतिक विवेक,विनय र विचारको मलामी बनिरहेको छ । यस्तो दुषित र घृणित राजनीतिले समाजलाई बर्बादीमा पुराउनु बाहेक अन्य कुनै उपलब्धि हुनेछैन । यसर्थ राजनीतिको धुरीमा बस्नेहरुबाटै राजनीतिक शैली र व्यवहारमा करेक्सन नगरे भविष्यमा राम राम भन्नु बाहेक केही नहुन सक्छ ! बेलैमा चेतको विर्काे खोल्ने की ? ००००

प्रकाशित मिति : २१ माघ २०८२, मंगलबार  ३ : ५२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित