भनिन्छ, अन्ततः पाप धुरीबाट कुर्लिन्छ। हो, यही उखानसंग ठ्याक्कै मेल खाने तथ्य बाहिरिएको छ । त्यो बाहिरिएको तथ्य हो, तत्कालीन सत्ताधारीहरुले रास्वपा सभापति रवि लामिछानेलाई फसाउन गरिएको भयानक षड्यन्त्रको यथार्थता ।
जतिबेला एमाले र कांग्रेसको गठबन्धन सरकार थियो । संसद र सत्तामा बलिया रहेका यी दलहरुको तर्फबाट केपी ओली प्रधानमन्त्री थिए । उनै ओली नेतृत्वको सरकारले सहकारी प्रकरणमा रवि लामिछानेमाथि मुद्दा लगाएका थिए ।
रविलाई सहकारी ठगको ट्याग लगाएर देशभरका अदालत घुमाएका उनीहरुलाई जनताले गएको फागुनको निर्वाचनमा सजाय त दिइसकेका छन् तर, त्यत्तिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फसाउने गरिएको ग्राइन्ड डिजाइनको एउटा तथ्यको पटाक्षेप भएको हो । यस्ता डिजाइनहरु अरु पनि हुन सक्छन् । त्यस्तै मध्येको एउटा डिजाइन गएको सोमबार खुलासा भएको हो । रवि लामिछाने करिब दुई तिहाइ मत प्राप्त शक्तिशाली पार्टीका सभापति हुन् । उनै शक्तिशाली सभापति लामिछानेले अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् ।
वेथिति र भ्रष्टाचारविरुद्ध अभियान चलाएर राजनीतिमा उदाएका लामिछानेलाई रोक्न तत्कालीन समयका कांग्रेस र एमालेले प्रत्यक्ष संलग्नता नभए पनि सहकारीमा जबरजस्ती मुछेर मुद्दा लगाएका थिए । तर ,जनताले स्वीकारेनन् । ४० लाख नागरिकले हस्ताक्षर गरेर विरोध गरे । गएको वर्ष २०८२ भदौमा जेनजी विद्रोह भयो ।
जेनजी विद्रोहले सत्ताच्यूत भएका एमाले कांग्रेसलाई सोत्तर बनाए भने, जनताले झण्डै दुईतिहाइ मत दिएर लामिछानेको दल रास्वपालाई सत्ता सञ्चालनको म्याण्डेड दिए । तर, त्यतिबेलाको मुद्दा अझै बोकेर हिँडेका छन् सभापति लामिछाने । लामिछानेले एकपटक कांग्रेस एमालेले मुद्दा हालेर गुन लगाइदिएका छन्, त्यही तिर्दैछु भनेर व्यंग्यात्मक जवाफ पनि अदालतमा तारेख बुझ्न जाँदा दिएका थिए ।
अहिले फेरि कांग्रेस एमालेले कसरी सहकारीमा जबरजस्ती रविलाई मुछेका थिए भन्ने तथ्य बाहिर आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार चितवन पुग्दा सहकारी पीडितले रवि लामिछानेविरुद्ध आफूहरुलाई जाहेरी दिन लगाएको खुलासा गरेका छन् । उनीहरुले प्रहरीले आफै मस्यौदा लेखेर ल्याएको र आफूहरुले हस्ताक्षरमात्रै गरिदिएको खुलासा गरेका हुन् ।
यी पीडितले खुलासा गरे अनुसार वास्तवमा रविमाथि राजनीतिक प्रतिशोध भएको ज्यादा देखिन्छ । सत्ता र शक्तिको दुरुपयोग गरेर कसैको राजनीतिक जीवन समाप्त पार्न खोजिएको थप खुलासा गएको सोमबार भएको देखिन्छ ।
सहकारी पीडितहरुले सोमबार मन्त्रीकै अघि बताए अनुसार रवि लामिछानेलाई मुद्दा हाल्न आइजा, मुद्दा हाल भन्ने प्रहरी देखिन्छ । राजनीतिक दबाबमा प्रहरीले मुद्दा हाल्न आइजा भनेर पीडितलाई दबाब दिएको उनको भनाइबाट प्रष्ट हुन्छ । प्रहरीले नै उजुरीको ड्राफ्ट भित्रबाट लेखेर पीडितलाई दिएर मुद्दा हालेको उनीहरु खुलस्त पार्दै भनेका छन् । तत्कालीन समयमा कांग्रेस एमालेको सरकारले कसरी प्रहरी प्रयोग गरेर रविलाई फसाएको थियो भन्ने पीडितको यो सशरीर अभिव्यक्त वयानले देखाएकोमा कुनै विमति नहोला ।
यसअघि पनि केही पीडितहरुले आफ्नो सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका थिए । रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको तर रवि लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएकोमा सार्वजनिकरुपमै आपत्ति जनाएकी थिइन् । यसैगरी प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए ।
त्यसपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी थिइन् । छलफलमा मन्त्री रावलले पुरानो सत्ताले राम्रो नियमन नगर्दा सहकारीको बेथिति मोलाएको भन्दै अब सरकारले सबैको बचत फिर्ता गराउने र सहकारी बचतकर्तालाई न्याय दिनेगरी काम गरिरहेको बताइन् ।
विगतका धेरै तथ्यले पनि कानुनको दुरुपयोग गरेर कसैमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भएको थियो । पछिल्लो समय स्वयं पीडितहरुले नै प्रहरी लगाएर आफूहरुलाई रवि विरुद्ध मुद्दा हाल्न लगाएको भन्ने भनाइले राज्य सत्ताको दुरुपयोग कति धेरै भएको रहिछ भन्ने देखाउँछ । सत्ता र शक्तिको आडमा टेकेर गरिएको मनपर्दिले अन्ततः ओली देउवाहरुको राजनीतिक करिअर समाप्त त भयो । तर, रविले उनीहरुकै कारण अहिले पनि सहकारीको नाममा मुद्दा खेप्न र आरोप झेल्न बाध्य छन् । सत्ता र शक्तिको दुरुपयोग गरेर एउटा पात्रलाई सकाउने योजना सफल भएको त देखिन्न । बरु, उनीहरुकै राजनीतिक करिअर खरानी भएको छ । पाप धुरीबाट कराउँछ भने झै पाप कराएपछि उनीहरु सत्ताबाट मात्रै लघारिएनन्, जनताबाट पनि बढारिए ।








