संघीय शासन यता गएको ९ वर्षमा रेणु दाहालको नेतृत्वमा छ, भरतपुर महानगरपालिका । उपत्यका बाहिरका महानगरपालिकाहरुको बीचमा मात्रै होइन, देशका ६ वटै महानगरपालिकामा उत्कृष्ट बनेको छ, भरतपुर । मध्य नेपालमा पर्ने चितवनको भरतपुर महानगर गएको तीन वर्षमा कार्य सम्पदान मूल्यांकनमा लगातार उत्कृष्ट भएको छ ।
९ वर्ष जति महानगरको नेतृत्वमा रहेकी रेणु दाहाल गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा माओवादी जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड पुत्री हुन् । उनै सुप्रिमो प्रचण्डका पुत्री समेत रहेकी रेणुले ९ वर्ष अघिको भरतपुर र अहिलेको भरतपुरमा ठूलो भिन्नता ल्याइदिएकी छिन् । उनको नेतृत्वमा भरतपुरमा भएको भौतिक तथा मानवीय विकास अनुकरणीय छ । प्रचण्ड पुत्री भएकै कारण भरतपुरको विकासमा उल्लेख्य प्रगति भएको तर्क उनका आलोचकहरुले गर्ने गरेका छन् ।
तर, नेताको पुत्र र पुत्रीको लिगेसी भन्दा पनि व्यक्तिको काम गर्ने हुटहुटी, प्रतिबद्धता, इमान्दारिता प्रधान विषय हो । जुन कुरा रेणुले व्यवहारद्वारा सिद्ध गरेकी छिन् । देशकै सबै भन्दा पुरानो र आर्थिकरुपले बलियो काठमाडौ महानगरलाई धेरै अंकले पछि पारेको भरतपुर महानगरकी मेयर रेणु दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि नेकपाको तर्फबाट उम्मेदवार सिफारिस भएकी छिन् । मेयर रेणुको अब यात्रा संघीय राजनीतिर सोझिने छ ।
उनै मेयर दाहालले नेतृत्व गरेको पालिकाले विभिन्न १७ वटा सूचकहरुको आधारमा उत्कृष्टता हासिल गरेको हो । १७ सूचकहरु मध्ये भरतपुरले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷ नगरेको, राजस्वको विभाजन गरे ÷नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ । समय सीमा अर्थात् भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए ÷नदिएको लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी यही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगले पालिकाहरुको कार्यसम्पादनको मूल्यांकन गर्ने गर्दछ ।
प्राप्त मूल्यांकनमा आर्थिक वर्ष २०८१÷८२ मा भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अकं प्राप्त गरेका थिए । यस्तै गरी आर्थिक वर्ष ०७९÷८० मा पनि भरतपुर देशकै पहिलो उत्कृष्ट महानगर बनेको थियो । त्यत्तिबेला भरतपुुरले ५६ दशमलव २९ प्रतिशत अंक प्राप्त गरेको थियो भने काठमाडौं महानगरपालिकाले ३९ दशमलव ०२ मात्रै प्राप्त गरेको थियो ।
यता, काम भन्दा पनि सामाजिक सञ्जालमा स्टाटस लेखेर भाइरल भएका मेयर हुन् बालेन्द्र साह । पछिल्लो समय सिंहदरबार जलाइदिन्छु भन्ने स्टाटसपछि निकै आलोचना खेपेका मेयर साहमाथि एमाले र कांग्रेसका नेता कार्यकर्ता जाइलागिरहेका छन् । मेयर बालेनकै कारण काठमाडौ जस्तो संघीय राजधानीको पालिका गुमाउनुको साथै जेनजी आन्दोलनले सरकारै गुमाएका उनीहरु बालेनमाथि आक्रमक बनेका हुन्। सरकारी श्रोत साधनको दुरुपयोग गर्ने र सार्वजनिक सम्पत्ति हिनामिना नगरेपनि कार्य सम्पादनमा बालेन नेतृत्वको काठमााडौ महानगर सधै पुछारमा छ ।
रेणु र बालेन स्थानीय सरकारमा प्रतिस्पर्धी थिए भने अब संघीय राजनीतिको प्रतिस्पर्धामा हुनेछन् । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ, भने नेकपाले रेणुलाई चितवन ३ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारको रुपमा प्रस्ताव गरेको छ । रेणुसंग विगतमा भरतपुर महानगरमा ल्याएको परिवर्तनसंगै उनको राजनीतिक लिगेसी छ भने बालेनसंग लोकपृयताको पूँजी छ । यी दुबै संसदमा प्रवेश गर्छन्, या जनताबाट अस्विकृत हुन्छन्, त्यो कुरा भने फागुन २१ पछि नै थाहा होला हैनर ?








