सुनिता बास्कोटागएको भदौ २३ गते इतिहासको कालो दिन । जवाफदेही र पारदर्शी सरकारको लागि आवाज उठाउँदा सत्ताको बन्दुकले युवाहरुको भौतिक शरीर समाप्त पारिएको क्षण। नयाँ वानेश्वरमा कलकलाउँदा युवा ढालिएको,धेरै आमाहरुको काख रिक्तिएको र बाउको भरोसा ढलेको आततायी पूर्ण त्यो घटना ।
एकै दिनमा गोलीद्वारा १९ युवाको ज्यान लिइएको त्यो अध्याँरो पल । भ्रष्ट र तानाशाहको आदेशमा युवाहरु विरुद्ध गोली ठोकिएको घटना । राज्य आतंक र बर्बरतापूर्ण क्रूरताको उदाहरण । देशभक्तहरुको हृदय छियाछिया बनाउने नरसंहारको भयानक राष्ट्रिय दुघर्टना । युवा हत्याएको कहालीलाग्दोे दृष्य । बर्बर र क्रुरताले सीमा नाघेको त्यो त्रासदी पूर्ण घटनालाई इतिहासले कहिल्यै विर्सने छैन र संलग्नहरुलाई छोड्ने छैन र छोड्नु हुन्न पनि । तर, नरसंहारको छानविन गर्न बनेको सरकारी आयोगलाई एमाले अध्यक्ष केपी ओलीले नक्कली आयोग भएको उल्टै आरोप लगाउँछन् ।
फत्तुर र झुठका गफ दिएर दुनियाँ बेकृुफ बनाउने शैली अझै गएको छैन, उनीहरु उस्तै गरी उपदेश र अर्ती दिइरहेका छन् । दल विशेष भन्दा पनि जनता र देश विशेष अभूतपूर्व बलिदानी थियो तर, मजाक बनाउन खोजिएको छ । कुनै आवेग र सनकमा उठेको विद्रोह थिएन।संसारलाई चकित पार्ने रहस्यमय जेनजी विद्रोहको जगमा बनेको हो, अन्तरिम सरकार । देशको अवस्था परिवर्तनका लागि गरिएको यो बलिदानको रगत बीजमा बनेको सरकारले पनि करिब एक महिना विताउँदै छ।
देशमा मौलाएको भ्रष्टाचार र बेथिति विरुद्ध सचेतपूर्ण जेनजीहरुले गरेको त्यो विद्रोहबाट भ्रष्ट शासकहरु लखेटिएपनि भ्रष्टाचारीहरु अझै कानुनी कठघरामा आएका छैनन् । अवस्था परिवर्तनको लागि गरिएको सचेतपूर्ण विद्रोहमा भएको घुसपैठले ऐतिहासिक र प्रशासनिक केन्द्र खरानी भएर जल्यो। अहंकारी शासकको कुर्सी पनि ढल्यो । तर, भ्रष्टहरुको अखडा ढलेन । देशभर युवाहरुको रगत बगेर आएको परिवर्तनमा पनि उनै भ्रष्टहरु अझै उत्सव मनाइरहेका छन् ।
सन्जाल र सुशासनको पक्षमा डिजिटलबाट एकीकृत भएको त्यो आन्दोलनलाई सत्ता गुमेको झोकमा डिफेमिङ गर्न खोजिदै छ। युवाको आन्दोलनलाई बदनाम गरेर आफ्नै शासन ठिक थियो भन्ने न्यारेटिभ बनाउन हजारौ कुतर्कहरुका स्कृप्ट लेखिएका छन् । संघीयता र समावेशीताको मर्मलाई ठीक ठीक ढंगले लागू गर्न सकेको भए, यति ठूलो विद्रोह उठ्ने थिएन। संविधान र व्यवस्था अग्रगामी भएपनि उनै बुढ्यौली नेताको केन्द्रीकृत मानसिकता र भ्रष्ट आचरणले यस्तो विषम परिस्थिति बनेको हो, भन्नेमा अझै पनि सहमत नहुनु अर्काे डरलाग्दो खतरा हो ।
युवाहरुले उठाएको जायज मागलाई सम्बोधन गरेर मुलुकलाई सकसबाट बाहिर निकाल्ने जुक्ति निकाल्नुपर्ने जिम्मेवार नेताहरुले आफ्नै कुप्रचार गरिरहेका छन् । सरकारलाई चुनावी वातावरण निर्माण गर्न सिर्जनतात्मक दिनुको साटो प्रतिरोध र प्रतिशोधको भाषा बोलिरहेका छन् ।सरकारले निर्वाचनको वातावरण नबनाएको आरोप माओवादी नेता माधव सापकोटा बताउँछन् ।
सत्ता गुमेको एकमहिनामै कोकोहोलो शुरु भएको छ । दशकौदेखि खाइपाइ आएको गुम्दा औडाह भएको छ, भने परिवर्तनलाई अस्विकार गर्ने अहंकारी र पाखण्डी सोच उस्तै छ। संसारभर विद्रोह र आन्दोलन हुन्छन् । प्रजातान्त्रिक मुलुकहरुमा विद्रोह र आन्दोलनलाई जायज मानिन्छ । तर, सत्तामा बसेर गरेको कुकर्मप्रति प्रयाश्चित, पछुतो र ग्लानी भन्दा पनि निशेषध र निशेष बनाउने धम्की र उर्दी आफैमा घातक हुन सक्छ ।
दुई चार हजार वफादार कार्यकर्ता बटुलेर सिंगो आन्दोलनको भावनालाई कुप्रचार गर्नु आफैमा परिवर्तन विरोधी हर्कत हो, भने अर्काेतिर अराजकता, असहिष्णु र असंवेदनशीलता हो । यसर्थ मुख्य दल कांग्रेस, एमाले र माओवादी बढी गम्भीर र जिम्मेवार बन्नुपर्छ । मुलुकको परिवर्तनमा अभिभावकीय भूमिका खेलेका दलहरुमा सुधार, रुपान्तरण र पुस्तान्तरलाई अक्षरस लागू गर्दै राष्ट्रिय एकता र मेलमिलापको भावना लिएर अघि बढ्न ढिला गर्न हुदैन ।००००








