३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

वैदेशिक अध्ययनका लागि एक महिनामा करिब १५ अर्ब बाहिरियाे


२८ आश्विन २०८१, सोमबार  


यही साल २०८१ काे गएका साउन महिनामा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

गएकाे आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ३९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गएकाे आर्थिक वर्षको पहिलो महिनामा यो शीर्षकमा १० अर्ब ७४ करोड रुपैयाा बाहिरिएको थियो ।

पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । यसको सकारात्मक असर रेमिट्यान्स आप्रवाहमा पनि परेको उनीहरूको दाबी छ ।

नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता झाँङ्गिदै गएको, आर्थिक विकास लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीका नयाा अवसर सिर्जना नभएको लगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढेको सरकारी प्रतिवेदनहरूले देखाएका छन् । सरकारी तथ्यांकहरूले नै कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढ्दै गएको देखाउनुले यो पुष्टि हुन्छ ।

गएकाे आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यो २४ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा विदेशमा अध्ययनकै लागि ६७ अर्ब ७० करोड रुपैयाँ, आर्थिक वर्ष ०७५/७६ मा ४६ अर्ब ३२ करोड र आर्थिक वर्ष ०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाा बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

पछिल्लो एक दशकमा विदेश अध्ययनका लागि अनुमति लिने संख्या झन्डै तीन गुणाले बढेको मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष ०७१/७२ मा ३० हजार ७ सय ९७ जना विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका थिए । पुराना विद्यार्थीका लागि पनि केही वर्षसम्म घरपरिवारले खर्च पठाउँछन् । यसकारण अघिल्लो वर्षको तुलनामा वैदेशिक अध्ययन अनुमति (नो अब्जेक्सन लेटर –एनओसी) लिनेको संख्या घटे पनि अध्ययनकै लागि बाहिरिने रकम बढेको हो ।

वैदेशिक अध्ययनका लागि हरेक वर्ष ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिनु ठीक/बेठीक भन्ने सम्बन्धमा दुई प्रकारका धारणा पाइन्छ । एक थरीले विदेश अध्ययनमा धेरै पैसा गयो भनेर चिन्ता लिनु नपर्ने बताउाछन् । उनीहरूका अनुसार विदेश अध्ययनमा जाँदा विद्यार्थीहरूले नेपालबाट पैसा मात्र लगेका हुँदैनन्, उनीहरूले ज्ञान आर्जन गर्छन्, सीप सिक्छन्, धन कमाउँछन् र अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिन्छन् । भविष्यमा आफ्नो देशको अवस्था राम्रो भए पर्याप्त अवसर देखेपछि नेपाल फर्किन्छन् । यसकारण अहिले विदेश अध्ययन गर्नेले धेरै पैसा बाहिर लगे भनेर चिन्ता गर्नु पर्दैन।

अर्का थरीले नेपालमा अवसर नभएकाले युवाहरू बाहिरिन बाध्य भएको भन्दै उनीहरूलाई स्वदेशमै रोक्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिन्छन् । विदेश अध्ययनमा किन धेरै विद्यार्थी गए भनेर चिन्ता गर्नुपर्ने बेला भएको छ । नेपालको शिक्षा प्रणाली, पाठ्यक्रम कहाँ कमजोरी रहृयो भन्नेबारे पनि राज्यले चिन्तन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

यद्यपि विदेश गएको विद्यार्थीलाई नेपाल फर्काउन र नेपालमा रहेका स्वदेशमै बस्ने वातावरण बनाउन सरकारसँग कुनै योजना छैनन् । यद्यपि राष्ट्र बैंककै सुझावअनुसार सरकारले पछिल्ला वर्षमा विदेशी शैक्षिक संस्थाको सम्बन्धन लिन रोक लगाएको छ ।

त्यसो त नेपालमा अध्ययन गर्नकै लागि विदेशबाट विद्यार्थीहरु आउने गरेका छन् । खासगरी चिकित्साशास्त्र, इन्जिनियरिङ, साहित्य, संस्कृतिलगायत विषय अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउन गरेका छन् । तर, उनीहरुले यहाँ खर्च गरेको रकम नेपालका लागि आम्दानी हुन्छ । चालु आर्थिक वर्षको एक महिनामा विदेशी विद्यार्थीले करिब पौने १७ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांक छ । यो रकम गत वर्षको सोही अवधिको भन्दा कम हो

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ६ : ५३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित