३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

निष्क्रिय कर्जा निरन्तर वृद्धि ,राष्ट्र बैंक दबाबमा,निक्षेपकर्ताकाे बचत जाेखिममा !


१४ मंसिर २०८१, शुक्रबार  


बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा निरन्तर बढ्दा नेपाल राष्ट्र बैंकमाथि दबाब बढेको छ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अधिकारीहरू बैंक तथा वित्तीय संस्थाको तथ्यांक सुधार हुने भन्दा पनि बिग्रदै गइरहेको बताउँछन्।

मौद्रिक उपकरण मार्फत राष्ट्र बैंकले सहजीकरण गर्दासमेत ऋणीहरूले नियमित साँवा र ब्याज चुक्ता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको राष्ट्र बैंकका अधिकारीको भनाइ छ । सेयर बजार र घरजग्गामा लगानी गर्न बैंकबाट सहजै ऋण लिन सक्ने बाटो बनाउँदा समेत बैंक तथा वित्तीय संस्थाले साँवा र ब्याज उठाउन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकले २०७९ सालमा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याउँदै चालु पुँजी प्रकृतिको कर्जा दुरुपयोग गर्नेहरूले तत्कालै ऋण चुक्ता गर्नु पर्ने व्यवस्था गरेको थियो । तर, चालु पुँजी कर्जा दुरुपयोग गर्नेहरूले व्यवसायले धान्ने भन्दा ठूलो आकारको कर्जा फिर्ता गर्न नसक्ने बताएपछि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म समय बढाएको थियो ।

यद्यपि चालु पुँजी कर्जा दुरुपयोग गर्नेहरूले हालसम्म पनि साँवा र ब्याज फिर्ता नगरेको बैंकरहरु बताउँछन् । ‘राष्ट्र बैंकले घर जग्गा वा अन्य सम्पत्ति बिक्री गरेर भए पनि कर्जा तिर्नु पर्ने बाध्यकारी व्यवस्था नगर्दा ऋण नतिर्ने क्रम बढेको छ।यस्तो निष्क्रिय कर्जा १५ प्रतिशत माथि हुने सक्ने अनुमान छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैकको निष्क्रिय कर्जा करिब ५ प्रतिशत पुगेको छ । जुन असार मसान्तमा ३.७६ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेसँग पछिल्लो समय लिलामीको सूचनाले पत्रिकाको व्यापार बढ्न थालेको देखिन्छ । पछिल्लो समय १० देखी १२ पेजमा मात्रै प्रकाशित हुन थालेका दैनिक पत्रिकाहरू लिलामीको सूचना बढेसँगै १४ देखी १६ पेज प्रकाशित हुन थालेका छन्।

उता,काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई असार मसान्तमा सरकारले भुक्तानी नदिँदा बैंकको साँवा व्याज उठ्न सकेको छैन ।

अहिले निर्माण व्यवसायीले भुक्तानी नपाएकाले निष्क्रिय कर्जा बढेको देखिन्छ।यसैमा पनि बैंकको ऋण लिने अनि उपभोगमा खर्च गर्ने विकृति ठुलो छ । जग्गाको मूल्य बढ्छ र बैंकको ऋण तिर्छु भन्ने सोच ऋणीहरू थिए। जग्गाको मूल्य नबढ्दा कयौँ ऋणी समस्यामा छन् । यति महँगो मूल्यमा जग्गा कारोबार हुन्छ र बैंकिङ क्षेत्र सहज अवस्थामा पुग्छ भन्ने आधार अहिलेसम्म कतै देखिन्न।

बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दा निक्षेपकर्ताले दुःख गरेर बैंकमा जम्मा गरेको बचत जोखिममा पुग्न थालेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन् ।

अहिले नै वित्तीय स्थायित्व समस्यामा नै परिसकेको होइन, तर सावाँ ब्याज नउठ्ने क्रम बढ्दै भयो भने बैंकसँग जग्गा हुने तर नगद अभाव हुने अवस्थामा पनि आउन सक्छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ३ : ५६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित