११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

भ्रष्ट सत्ता विरुद्ध सञ्जालमा नेपो बेबी ट्रेण्ड,माइतीघरदेखि देशभर सडक प्रदर्शनमा जेनजी


२२ भाद्र २०८२, आइतबार  


‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ सेप्टेम्बर ८ अर्थात भदौ २३ गतेकोे मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ ।

केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो । उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । यो सत्ताको मनोमानीविरुद्ध छेडिएको ‘जेनजीे विद्रोह’ हो ।सत्ताको मनोमानी विरुद्ध चलेको हो, ट्रेण्ड ।

यो आफैँमा कति लामो समयसम्म जान्छ वा सामाजिक सञ्जालमा हल्ला भएजस्तो प्रभाव पार्छ÷पार्दैन त्यो समयले पक्कै पनि देखाउला । तर, सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई कम आँक्नु सत्ताधारीहरुको मति भ्रष्ट भने पक्का हो । यो आन्दोलन के हुन्छ र कसरी अघि बढ्छ, ? त्यो भोलिका दिनमा थाहा हुदै जाला । तर, सत्य कुरा यो होकी नेपालमा नयाँ पुस्तामा देखिएको यो राजनीतिक चेतना हो । देशभक्त र जनपक्षीय आवाज पक्कै हो ।


सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरेका छन् ।


न कुनै राजनीतिक दल, न कुनै संगठनको झण्डा छ । केवल देशको विद्यमान बेथिति र विसंगति विरुद्ध युवाहरुको सामूहिक आक्रोश छ । स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा लगाइरहेका छ । यही आवाज लिएर सडकमा उनीहरु सडकमा उत्रिने भएका हुन् । पछिल्ला आक्रोशलाई हेर्दा विशेषगरी सामाजिक सञ्जाल फेसबुक लगायतका सन्जालहरु बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर उनीहरू सडकमा आएका हुन् ।


यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटक हो । यो ट्रेन्ड खास गरी फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको हो । त्यसको प्रभाव नेपालमा पनि परेको छ । यस अभियानमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआराम तथा विलाशिसताको जीवनशैलीलाई उठाइएको छ ।जनताका छोराछोरी सामान्य कापी कलम किन्न पनि नसक्ने अवस्थामा हुँदा नेताका छोराछोरी महँगा र ब्रान्डेड कपडा, विदेश यात्रा र विलासी सामानको श्रोत के हो ? यति धेरै मोजमस्तीको जीवन कसरी सम्भव भएको छ भन्ने मुल प्रश्न उनीहरुले उठाएका छन् ।


सन्जालमा सार्वजनिक गरिएका भिडियोहरूमा राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइएको छ ।यस दृष्यले युवाहरूमा थप आक्रोश बढाएको छ । यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ । जसमा विभिन्न धुन र भावनात्मक रुपमा उत्तेजित गराउने संगीत राखिएको छ । नेताका सन्तानको विलासिता र जनताका छोराछोरीको विवशतालाई दर्शाइएको छ ।
सामाजिक सञ्जाल टिकटकसँगै रेडिटमा पनि यो ट्रेण्ड उस्तै बढ्दो छ । यसमा ह्यासट्याग ‘नो मोर करप्सन, वेक अप च्यालेन्ज’ जस्ता अभियान चलाइएको छ । नेताका छोरीछोरीको विदेश शयर, विलासी सामान प्रयोगदेखि अन्य ऐसआराम देखाइँदा नागरिकका छोराछोरी विदेशिइरहेको, काठका बाकसमा लास भित्रिएको, अनि गाउँघरमा दुःख पाएका दृश्य छन् । ‘हाम्रो कर कहाँ जान्छ ?’भन्दै सत्तालाई प्रश्न गरिएको छ । संसद् भवनभित्र सांसद उभिएका दृश्य राखेर ‘द स्ट्याण्डअप कमेडी सर्कस’ भन्दै हालिएको छ ।
सामाजिक सञ्जाल हेर्दा यसमा विशेषगरी टार्गेटमा देखिन्छन्, प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा. बाबुराम भट्टराई र उनीहरुका सन्तान छन् । प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवापुत्र जयवीर देउवालगातका तस्वीर पनि सार्वजनिक भएका छन् । यसबाहेक मिस नेपाल श्रृखंला खतिवडा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा देखिन्छिन् । श्रृंखला एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् ।


नेपालसम्म यसरी यो अभियान आउनुमा फिलिपिन्स र इन्डोनेसियामा चलेको अभियानलाई कारण मान्न सकिन्छ । लाइफस्टायल चेक पिएच नामक सब–रेडिटमा त्यहाँका जेनजीहरुले फिलिपिन्समा आफ्ना नेताहरुको विलासितालाई सार्वजनिक गरेका छन् । त्यसैगरी इन्डोनेसियाका पूर्वराष्ट्रपति राष्ट्रपति जोको विडोडो (जोकोवी) का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि उत्पन्न विवादले त्यहाँ उग्र रुप लिएको थियो । शक्तिको आधारमा उदाएको भन्दै आलोचना बढ्यो र सुरु भयो– नेपो बेबी ट्रेण्ड । जुन नेपो बेबी ट्रेण्डको लहरो नेपालसम्मै तानिदै आएको हो । यही लहरोले आक्रोशित बनेका युवामा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले घिउ थपिदियो । फलस्वरुप सडक संघर्षमै उत्रने संकेत नयाँ पुस्ता अर्थात् जेनजीहरुले दिइसकेका छन् ।००००

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित