अर्थतन्त्र शीथिल छ, भने बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थपिने क्रम निरन्तर जारी छ । पछिल्लो एकदिनमै ४ अर्ब रुपैयाँ थपिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार गएको मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६६ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । सोमबारसम्म भने ६६ खर्ब ८७ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो ।दैनिक रुपमा निक्षेप बढेको बढ्यै छ । तर, कर्जाको माग भने ज्यादै न्यून छ । कर्जाको माग नबढ्दा नै बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिदै गएको हो ।
गएको मंगलबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । एकै दिन बैंकहरुमा ३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । सोमबारसम्मको आँकडाअनुसार वाणिज्य बैंकहरुसँग ५९ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यता, वित्त कम्पनीहरुमा पनि एकैदिन १ अर्ब निक्षेप थपिएर ७ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।
यसरी समग्रमा कर्जा प्रवाहको अवस्था निकै सुस्ताएको बेलामा पनि मंगलबार भने एकै दिन ३ अर्ब रुपैयाँ प्रवाह भएको देखिन्छ । सोमबारसम्म बैंक तथा वित्तीय संस्थाले ५३ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । तर, मंगलबारसम्म आइपुग्दा यो बढेर ५३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो ।
योमध्ये वाणिज्य बैंकले मात्रै २ अर्ब कर्जा लगानी गरेका छन् । हालसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४७ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । यता, वित्त कम्पनीले पनि १ अर्ब बढाएर ६ खर्ब १३ अर्ब रुपैयाँ पुराएका छन्।
बैंकहरुबीचको आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापटीको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक अर्थात कारोबारको ब्याजदर पनि घट्दै हो । अन्तर बैंक ब्याजदर २.९२ प्रतिशतमा झरेको छ । गएको सोमबारसम्म भने यो दर ३ प्रतिशतमा(रहेको थियो ।
यता, बैंकहरुको अधिक तरलता रहेसँग कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ । कर्जाको माग नभएपछि बैंकहरुको सीडी रेसियो पनि ८० प्रतिशत कम बिन्दुमा छ । राष्ट्र बैंकका अनुसार सीडी रेसियो ७९.०५ प्रतिशतमा कायम भएको छ ।राष्ट्र बैकका अनुसार सीडी अर्थात क्रेडिट डिपोजिट औसत ९० प्रतिशतको हाराहारीमा हुनुपर्छ ।