जब बिहानीले कोल्टो फेर्छ, तब एक हुल मानिसहरू पैदल यात्रामा हुरूरू निस्किन्छन्। बिहानी उषा किरणको उज्यालोसंग लुकामारी खेल्दै उनीहरू एउटा अग्लो टाकुरोमा पुग्छन् ।

पैदलयात्रीहरूको त्यो हुल हरेक बिहानी यसैगरी प्रकृतिसंग साक्षात गर्न पु्ग्दछ, त्यही डाँडोमा। हरेक दिन बिहान यस्तो कर्म नियमित रूपले चल्छ। कुनै स्वार्थ, लोभ,लालसा, वैरभाव र वैमनस्यता देखिन्न कतै पनि उनीहरूको चेहरामा । बरू देखिन्छ, मित्रभाव,सद्भाव,समभाव, एकता,बन्धुत्व आतिथ्यता, विनयशीलता अनि सिर्जनाशीलता ।
पौरख, परिश्रम र प्रयत्नको गतिशील सोचाइ र गराइ देख्दा जो कोही पनि उत्साहित र प्रभावित हुन्छ होला, सायद । प्रकृति जति निश्चछल देखिन्छ , उति उनीहरू पनि त्यस्तै निश्चछल देखिन्छन् । मनका पीर, व्यथा र वैराग होईन। सामाजिक तथा वातावरणीय चेतना, मनोरञ्जन र दायित्वबीचको संयोजन गर्दै बिहानी परेड खेल्छन् उनीहरू । हर दिन मुस्कुराउँदो उज्यालो पनि छक खान्छ, होला ।प्रकृति प्रेम अनि यो मानवीय सद्भाव र सत्कार देखेर ।

यस्तो स्वगर्गीय आनन्द कहाँ होला भन्ने तपाईं पाठकलाई लागिसक्यो होला। तपाईंलाई जिज्ञासा या काउकुति लाग्नु पंक्तिकारले पनि स्वभाविक ठानेकाे छ। किनकि, हामी मुक्ति खोजिरहेका छौ, जुक्तिको लागि घोत्लिएका छौ। हामी मानिसलाई खुशी चाहिएको छ। तनावको ऐठनबाट छुटकाराको खाँचो छ।यसैकारण दु:खकाे निवारणका लागि मानिस भौतारिरहेको छ। त्यसको विश्राम बनेको छ, एउटा क्लब।
मानिसले सम्पन्नता होईन, शान्ति खोजेको छ। सम्पत्ति होईन प्रकृति रोजेको छ। वास्तविक जीवन चाहेको छ। विरक्तलाग्दो शहरको जिन्दगीले वाक्क दिक्क छ। अन्त्यहिन निजी व्यवसाय अनि त्यसैले सिर्जना गरेको तनावबाट मुक्ति चाहान्छ। यी आदि इत्यादिबाट हर मानिस दिक्दार छन् । यस्तो दिक्दारीको उपचार गर्ने एक थलो बनेको छ, दाङ जिल्लाको घोराही उपमहानगर पालिका वडा नम्बर १८ मा पर्ने बयालडाँडा चौतारी क्लब।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण भुसाल हुन यसको अगुवा । उनै भुसालको अगुवाइमा बयालडाँडा चौतारी क्लब गठन गरिएको हो।यही क्लबले अतिथि सत्कारदेखि प्रकृतिसंग साक्षात् गराउँदछ यहाँ पुग्ने हर पाहुनालाई । घोराही बजारदेखि करिब ५ किलोमिटर दूरीको हाराहारीमा छ, यश क्लबको स्थल ।अम्बिकेश्वरी मन्दिर दर्शन गरि पैदलै पुग्न सकिन्छ यहाँ ।
जहाँ तन, मन र मस्तिष्कलाई प्राकृतिक थेरापीे उपचार गराउँदछ । घोराही वडा नम्बर १८ मा पर्ने अम्बे सामुदायिक वन क्षेत्र हो, यो। यही सामुदायिक वन करिब २२५ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ। यही सामुदायिक वनको करिब ३ हेक्टर वन क्षेत्रमा प्राकृतिक थेरापी हुने गरेको छ।

जहाँ पुगेपछि हर मानिसले सबै दुःख पीडा भुलिदिन्छ। किनकि वातावरण त्यस्तै छ। मान्छेले प्रकृतिसंग साक्षात गर्छ, वातावरणमा रमाउँछ, मनोरञ्जन गर्छ,अनि अतिथि सत्कारले उसलाई सन्तुष्ट बनाउँछ , स्वर्गीय आनन्द दिन्छ।
यस्तो सत्कर्मको प्रारम्भ भएको लगभग दुई वर्ष भयो होला।यश अवधिमा ४ सय बढी इभेन्ट भएको क्लबका अध्यक्ष नारायण भुसाल बताउँछन् । क्लबको इभेन्टमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा, महावीर पुन र गायक पशुपति शर्माले अनुभव गरिसकेका छन् । यस्तो अनुभव गर्नेहरूको विवरण निकै लामो छ।एकपटक पुगेपछि पुनः दोहोरिने संख्या उल्लेख्य छ।

यश क्लबमा ४ सय ७७ सदस्य छन् । ६३ जना आजिवन सदस्य बनेका छन् । यहाँ सत्कार र संस्कार मात्रै होईन, संस्कृति पनि प्रदर्शन हुन्छ।सांस्कृतिक नाँचगान हुन्छ। नेतृत्व विकास सम्बन्धि तालिम,व्यामदेखि हाइकिङ अनि भजन कृतन हुन्छ।
क्लबले सरसफाइ सचेतना फैलाउने मात्रै गरेको छैन , फोहोर व्यवस्थापनमा हरेक सदस्य सचेत छन् । क्लबको स्थल मात्रै होईन, आफ्नै गाउँ -ठाउँ अनि छिमेकमा पनि उनीहरूले सरसफाइ सम्बन्धि सचेतना फैलाउने गरेका छन् । मुखले होइन व्यवहारले देखाउँछन् ।

यहाँ त के बुढाबुढी ! के तन्नेरी या बालबालिका सबै -सबै रमाउँछन्। नयाँ ज्ञान र अनुभव सिक्छन् अनि सिकाउँछन् पनि । नयाँ पुस्तालाई पुस्तकसंग मात्रै होईन प्रकृतिको हर चिजसंग साक्षात गराउने गरेको अध्यक्ष भुसालले मिठो अनुभव सुनाउँछन् ।
पाकालाई प्रकृतिमैत्री जीवनशैलीको ज्ञान ,चेतना र अभ्यास अनि बालबालिकालाई त्यस्तै अभ्यास र अनुभव गराउने गरेको उनको भनाइ छ।








