४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

घरेलु हिंसामा परेको भन्दै ९८ पुरुषले उजुरी दिए, जिल्ला प्रहरी परिसर काठमाडौंमा !


४ बैशाख २०८३, शुक्रबार  


घरेलु हिंसामा परेको भन्दै पुरुषहरुले पनि प्रहरीमा उजुरी दिन थालेका छन् । हिंसामा परेपछि महिलाले मात्रै उजुरी दिएको पाइएपनि पछिल्लो समय उजुरी दिनेमा पुरुषहरुको संख्या पनि उल्लेख्य बृद्धि भएको छ।

पछिल्लो विवरण अनुसार काठमाडौ प्रहरी परिसरमा ९८ जना पुरुषहरुले हिंसामा परेको भन्दै उजुरी दिएको पाइएको छ । घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको प्रहरीले बताएको छ ।

पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनका अनुसार पछिल्लो समय पुरुष व्यक्ति घरेलु हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढ्दो छ । ‘पहिला महिला मात्रै घरेलु हिंसामा भन्ने सुनिन्थ्यो । तर हामी कहाँ पुरुष व्यक्ति पनि हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढेको छ’ एसपी भट्टराईले बताए ।

९८ जना बाहेक यही अवधिमा काठमाडौंमा १३ पुरुषले पनि आफू घरेलु हिंसामा परेको भन्दै ठाडो उजुरी निवेदन दिएका छन् ।

यही अवधिमा ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् । ठाडो निवेदनको संख्या भने २९९ छ ।

यसरी आएका उजुरीहरुलाई प्रहरीले कतिपयलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेको छ । केहीलाई भने सुरक्षित आवास गृहका लागि विभिन्न संघ संस्थामा समेत पठाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ४२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित