पछिल्लो समय लाङटाङ तथा गाेसाईकुण्ड क्षेत्र विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ भएका छन् ।
रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकले भरिभराउ भएको हाे। गएको पाँच महिनामा यी क्षेत्रमा २५ हजार पर्यटक पुगेका छन् ।
चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए।
यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी, सार्क राष्ट्रका ५ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वनपैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको वहालबाट रु दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व संकलन गरेको जनाएको छ ।
निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा रु. चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताए ।
निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाको लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।
यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवं जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईकुण्ड जादाँ काठे–लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध पनि गरेका छन् ।
धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेदको लठ्ठी प्रयोग गरेकाले भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताए ।।