“म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ,
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू,
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी,
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि ।”
हो, कवि शिरोमणि लेखनाथ पौड्यालको यी माथिका पंक्तिले अभिव्यक्त गरे जस्तै छ,योे आधुनिक दुनियाँ । निजी स्वार्थबाट दासी छ,अभिशप्त छ, समाज । यही भाष्यबाट संक्रमित छ। भगवान गौतम बुद्धले भने जस्तै मानिस आफ्नै कारण(लोभ र अहंकार)ले दुखि छ। दुखको निवारण पनि उसै भित्र छ। हामीले आधुनिक भनेको विद्यमान समाज आफैमा दुखि छ। सामूहिक भावनाको चिहानमा उभिएर यहाँ विज्ञान र प्रविधिको उथलपुथलकारी वर्णन गर्दछ, उसले । आधुनिक समाजले जतिसुकै यस्ता उथलपुथलकारी उपलब्धिको वर्णन गरेपनि,विज्ञानले सुख र सम्वृद्धि दिएपनि, मुलभूतरुपमा दया,करुणा र मानवता भने बेस्सरी खण्डित छ, हाम्रो समाज ।

यस्तो,अकल्याणकारी यो समाजभित्र बसेर वैदिक साम्यवादको चर्चा गर्दा विशेष गरी भौतिकवादी अर्थात माक्र्सवादीहरुका लागि मिथ्या, अलौकिक, इश्वरीय,अनौठो र आश्चार्य पनि लाग्न सक्छ। ।कसैलाई त यो पाखण्डता र रुढ पनि लाग्न सक्छ। तर,यति भनिरहँदा वेदका विषयमा माक्र्सवादी चिन्तक मोहन वैद्य ‘किरण’ले हिमाली दर्शन(पृष्ठ३०)मा वेदको विषयमा चर्चा गरेका सन्दर्भहरु जोड्नु वाञ्छनिय नै होला । उनी आफ्नो हिमाली दर्शनमा भन्छन्, “वेदमा दार्शनिक चिन्तनका झिल्काझिल्कि देखिन्छन्।” उनको यो स्वीकारोक्तिले वेद एउटा दर्शन हो, दर्शन त्यो हो, जसले समाजको अस्तितत्व र ऐतिहासिकताको पदार्पण गर्दछ। हो, प्राचीन हिमाली दर्शनमा पनि वैदिक काल र यसको विकासक्रमको चर्चा गरिएको छ। माक्र्सवादी चिन्तक, वैद्यले आफ्नो हिमाली दर्शनमा मदनमणि दीक्षितको भनाइलाई पनि उदृत गरेका छन्। जहाँ मदनमणी दीक्षित भन्छन्,“आदिम व्यवस्थाको ‘ऋत’ आदिम समाजको जीवन आचरण र आदर्श थियो,ऋत मानव समाजको सामूहिक जीवन पद्धती समेत थियो । ” यही कुराले पनि यो प्रष्ट पार्दछकी, वैदिक समाज सामूहिकतामा विश्वास गर्दथ्यो। जुन कुरा आश्रय खोज्दै जाँदा आश्रमको विकास भयो । ऋषिमुनिहरुबाट विकास गरिएका ती आश्रमहरु आज पनि उत्तिकै जीवन्त छन्। ती जीवन्त आश्रमहरुभित्रको सामूहिकता नै वैदिक साम्यवादको अभ्यास थियो र हो पनि ।

त्यस्को ऐतिहासिक विकासक्रम र उपक्रमहरु गुफाबाटै प्रारम्भ भएको पाइन्छ। जब मानव गुफाबाट निस्कियो, तब उसले आश्रयस्थल बनाउन थाल्यो। चेतना जब उसमा विकास भयो, तब ज्ञानको खोजी गर्न थाल्यो, यही चेतनाले उसलाई सामूहिक हितका लागि पनि सोच्ने बनायो । यही ज्ञानको खोजीको पहिलो दस्तावेज नै वेद थियो। वेद शब्द संस्कृतबाट आएको हो । वेद शब्द संस्कृत भाषाको “विद्“ धातु बाट बनेको हो। जसको अर्थ होः जान्नु, ज्ञान इत्यादि । यही ज्ञानको संग्रहले संसारको व्याख्या ग¥यो,जीवन र जगतको चर्चा र वर्णन ग¥यो। वैदिक ज्ञान र वैदिक समाजको यहाँ यति चर्चा गरिरहँदा यो पंक्तिकार भने कुनै त्यस्तो सिद्धहस्त विद्धान होइन, विद्धत पनि होइन। तर, सोसियल इन्जिनियरिङको मदानीलाई मथ्दै जाँदा वैदिक साम्यवाद के हो ?माक्र्सले भने जस्तै आदिम साम्यवाद र वैदिक साम्यवादबीचको समानता र भेद के हो ? भन्ने मुल प्रश्न लिएर उभिएको भने पक्का हो । त्यो मुल प्रश्नको विर्काे खोल्ने गरी तर्कसंगत र विवेकपूर्ण तरिकाले वैदिक साम्यवादको विषयलाई उदाहरणसहित छ्याङ्गै उघार्ने एउटा दुस्साहसपूर्ण कोशीस हो, पंक्तिकारको ।
आश्रम बाहिरको समाज अभिजातवादी छ, विद्रुपीकरणले ग्रसित छ। नश्लवादी चिन्तन र प्रवृत्ति छ। मनुवादी प्रवृत्तिले मानिसले मानिसमाथि हेय र विभेद कायम गरेको छ। यस्तो सोच र चिन्तन प्रवृत्तिबाट समाजलाई बाहिर ल्याउनका लागि वैदिक साम्यवादी समाज निर्माण किन नगर्ने?पक्कै पनि गर्ने। जहाँ सामाजिक न्यायमा आधारित समाज र त्यस्तो समाजिक व्यवस्था होस् । निर्भयकारी समाजले मात्रै मानव जीवनमा चैन, सुख, शान्ति र सन्तोष दिन्छ, पंक्तिकारले इश्वरवादको वकालत गर्न खोजेको भने होइन, यहाँ । न त चार्वाकको अति भौतिकवादी दर्शन र व्याख्यालाई खोतल्न खोजेको हो । तिनीहरुको विषय, सन्दर्भ र विश्लेषणको पाटो र बाटो फरक छ। यहाँ उठान गर्नु असान्दर्भिक हुन्छ। यहाँ मानवीय आचरण र चिन्तनधाराको चर्चा र परिचर्चामा मात्रै गर्न खोजिएको हो, वैदिक साम्यवादको अभ्यासको सम्भावनाको उत्खनन्को कोशीस हो ।वैदिक सनातन र मानवको सहअस्त्वि र अपनत्वको खोजी भने अवस्य हो । वैदिकताभित्र समानता र सहभागिताको यथार्थता पहिल्याउनु हो । आफ्नै माटो र मौलिकताको आधार भूमिमा उभिएर संसारलाई वैदिक ज्ञान र विज्ञानको सन्देश प्रवाह गर्नु पनि हो ।
वैदिक साम्यवादको विषयमा त्रिभुवन विश्वविद्यालयका संस्कृत विभागका विभागाध्यक्ष सह प्राध्यापक डाक्टर माधवप्रसाद उपाध्याय भन्छन्, “वैदिक मानवीय चिन्ततनले मानवमात्रको कल्याण नभइ समस्त प्राणीको कल्याण सोच्दछ, चिन्तन गर्दछ। यही चिन्तनधाराबाट समाज र राष्ट्रको अभ्युदय र निशेषको उपलब्धि हुन सक्ने अवस्था वैदिक मानवीय चिन्तन र सामाजिक अभ्यासबाट हुन सक्छ । समस्त प्राणी जगतको कल्याण चाहने वैदिक साम्यवाद नै विश्वको पहिलो र असली साम्यवाद हो ।”(२०७९ असार १६गते रामानन्द अनुसन्धान केन्द्रमा प्रस्तुत कार्यपत्र । यति मात्रै होइन, उनले निर्भयवादी समाजको परिकल्पनाका लागि वैदिक मानवीय चेतनाको खाँचो भएको पनि औल्याएका छन्। त्यसैगरी योग र तन्त्रका अध्येता कमलेश दवाडी तर्क गर्दछन्, “आजको विश्रृखलित समाजलाई वैदिक योग चिन्तनका माध्यमले पुनः संयमित र संयोजित गर्न सकिन्छ ।”हो यी विचारहरुलाई संश्लेषितढंगले मन्थन गर्दा यस्तो निचोड निकाल्न सकिन्छकी, वैदिक साम्यवाद जीवनको उच्चतम सुख र आनन्द हो । जुन अभ्यासको प्रारम्भ हजारौ वर्ष पहिलेदेखि भएको थियो, जुन आज पनि अविछिन्नरुपमा यथावत छ, देशभरका वैदिक आश्रमहरुमा । जहाँ सामूहिक हितसंगै सामूहिकतामा विश्वास गरिन्छ र वर्गविहीन समाजको अस्त्विको अस्तु जोगिएको पाइन्छ।

हुन त यति भनिरहँदा यो आधुनिक पूँजीवादी दुनियाँमा सामूहिकता सम्भव होला र ? के सामूहिकता भन्ने भावना अझै जीवित छ ? यदि सामूहिक भावना जिवित छ, भने, वैदिक आश्रमहरुमा यस्को अविछिन्न अभ्यास भएको अवस्य हो । त्यसको एउटा गतिलो र ओजिलो उदाहरण हो, तनहुँको गलेश्वर आश्रम । जहाँ आदि अनादिकालदेखि वैदिक साम्यवादको अभ्यास भइरहेको छ।वैदिक श्रृतीहरुले मानव धर्ममा जताततै तीन वटा अक्षरको माहात्म्य छ भनेका छन्। जसलाई दान, दया र दम(इन्द्रिय दमन) भनिन्छ। मानव जीवनलाई सफल र सन्तुष्ट बनाउन यी कुराको महत्वपूर्ण भूमिका रहन्छ भनिएको छ,तीवैदिक श्रुतीहरुमा । यही भावनाबाट ओतप्रोत भइ यहाँ साम्यवादी अभ्यास भइरहेको हो भन्न कठिन नहोला । किनकि देशकै नमूनाको रुपमा देवघाटमा सञ्चालित वैदिक अभ्यास भइरहेको छ। जुन कुनै कम्युनिस्ट पार्टीको जनकम्युन होइन, नत यो दार्शनिक कार्ल माक्र्सले परिकल्पना गरेको जस्तो आदिम साम्यवाद नै हो । माक्र्सले व्याख्या गरे जस्तै आदिम साम्यवाद भए नभएपनि वैदिक साम्यवादको अविछिन्न र निरन्तरताको सेतु भने पक्का हो।
वैदिक आलोकको दुनियाँमा उभिएर अध्ययन र अवलोकन गर्दा या भौतिक चिन्तनकै कोणबाट हेर्दापनि साम्यवादी जीवन पद्धति अभ्यास देखिन्छ यहाँ । जहाँ पुगेका तिर्थालु भोकै बस्नु पर्दैन ।सात्विक भोजन, आवास अनि उपचार हुन्छ, निशुल्करुपमा । शिक्षा समेत निशुल्क हुने यस स्थलमा कुनै पनि तिर्थालुले भोक, ओत र रोगको सामना गर्नुपर्दैन । जातपात, वर्ग र लिंगको कतै गन्ध हुन्न। तल्लो, माथिल्लो, होचो र अग्लोको कुनै गुन्जायस अनुभव हुन्न।बरु, सह भोजन हुन्छ, देवघाटमा । भोकाहरु निर्धक्क पेट भर्छन्, आनन्दले निदाउँछन्, धनीहरु दान दातव्य गर्दछन्,आफ्नो क्षमता अनुसार । दान दक्षिणा दायाँ हातले दिएको बायाँ हातले चाल पाउन्न। किनकी लोभ स्वार्थ र क्रोध छोडेर मानिसहरु आध्यात्मिक बन्छन्। यही चिन्तनधाराले लालायित उनीहरुको एक सुत्रीय योजना हुन्छ। त्यो भनेको धेरै भन्दा धेरै दान दक्षिणा गरेर मानव कल्याण गर्नु हो ।

यही साम्यवादी दृष्तिकोण, सोच र अभ्यासको श्रृंखलाको चक्र निरन्तर चलिरहन्छ, अनि घुमिरहन्छ,यही सामूहिकतावादी विशेषतामा चल्दै आएको छ, भन्छन्, आश्रमका कार्यालय सचिव महेन्द्रराज प्याकुरेल । उनी भन्छन,“ स्थायी अन्नक्षेत्र हो, देवघाट । यहाँ भोकाएकालाई खाना छ, तिर्खालुलाई पानी छ, छाना नभएकालाई बास छ,अनि बिरामीका लागि धर्मार्थ औषधालयमा उपचार ।” हो,पक्कै पनि गलेश्वरमा सामूहिक खानपान र आवास अनि विद्याको अभ्यास छ। जुन कुरा यहाँको सामूहिक हितकारी अभ्यासबाट झल्किन्छ । यस्ता आश्रममा चलेका साम्यवादी अभ्यास गलेश्वर आश्रममा मात्रै होइन, अन्य आश्रममा पनि छन्। यद्यपि गलेश्वर आश्रममा चलेको सामूहिक जीवन जिउने कला भने एक आध्यत्मिक चैतन्यको उदाहरण हो ।
यो साम्यवादी अभ्यास मात्रै होइन। यो त, पुर्खाले हजारौ वर्ष पहिले, वैदिक कालदेखि अभ्यासमा ल्याएको एउटा सांस्कृतिक निरन्तरताको कडी पनि हो । जुन न्यायमा आधारित, समानतामा वितरित, सामाजिक र सांस्कृतिक भावनाले जोडिएको एक पृथक सामाजिक कोशीस हो ।

यद्यपि यस भित्र पनि केही जडता र रुढता हुन सक्छन्, जसलाई समयसापेक्ष बनाउदै लैजानुपर्छ। जसको बारेमा संस्कृतिविद् दिनेश पन्त खरो टिप्पणी मात्रै गर्दैनन्, उनी अस्वीकार गर्दै भन्छन्, “यो अनपढहरुले गरेको अपव्याख्या हो, यो भ्रम, ढोङ र अन्धता हो ।” डाक्टर पन्तको पूरै अनसुनारुपी तर्क एक हदसम्म तार्किक हुन सक्ला । जुन कुराले वैदिक साम्यवादको शीर्षक र यसको गहिराइको विषयमा मत मतान्तर भएको बुझ्न सकिन्छ।बौद्धिक मत विभाजित भएपनि यो द्धन्द्धवादी कोणबाट स्वभाविक पनि हो । हरेक विचारहरुको गुरुत्व र गहिराइ आ -आफ्नै हुन्छन्, तर्कको टेकोमा उभिएर विचारलाई परिभाषित र पुर्नपरिभाषित गरिन्छ र गरिनुपर्छ पनि । तर, निषेधको निषेधबाट स्वीकार्य र अस्वीकार्य भन्दा पनि यो अभ्यास आदि -अनादि कालदेखि निरन्तर र अविछिन्न हुँदै आएको विषयमा कदापि द्धिविधामा हुनुहुन्न, कदाचित नकार्न सकिन्न।किनकी यो अनुभव सिद्ध वास्तविकता हो ।

यहाँ आस्तिक होउन् या नास्कितक नै किन नहुन्, या आधुनिक र भौतिकवादी भनिएको दुनियाँले आफ्नो जीवनकालमा अनुशरण गर्नुपर्ने गतिलो र ओजिलो उदाहरण भने गलेश्वर आश्रमको साम्यवादी जीवनपद्धती र आचारणको अभ्यास हो । व्यक्तिकेन्द्रीत र आत्मकेन्द्रीत अहिलेको समाजको केही तप्काले मिथ्या, ढोङ, रुढ र अन्धविश्वासको रुपमा अथ्र्याएपनि शाश्वत सत्य यो होकी, अन्तिममा गलेश्वर आश्रम मै वास्तविक जीवन र जगत भेटिन्छ । मै हुँ भन्ने अति भौतिकवादीहरु पनि आध्यामिक चिन्तन र भावमा तैरिने गरेका छन्, यहाँ । मै खाउँ , मै लाउँ, मै मोज मस्ती गरुँ भन्ने प्रवृत्तिबाट मुक्त हुँदै सार्थक जीवनको खोजीमा पुग्छन् जहाँ ।