नबिल बैंकले यश वर्ष ५ अर्ब बढी नाफा गरेको छ। यस चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नबिल बैंकको नाफा ५ अर्ब नाघेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा बढेपनि खुद ब्याज आम्दानी भने घटेको छ । खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भएपनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आमदानी घटेको छ । तर, बैंकको निष्कृय बढेपनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा बढेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा ७।३८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा ३ खर्ब ७३ अर्ब ५७ करोड ४२ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा ४ खर्ब १ अर्ब १६ करोड २३ लाख पुगेको छ । यस अवधिमा बैंकको कर्जा मात्रै २७ अर्ब ५९ करोडले बढेको हो । बैंकको कर्जा मात्रै नभएर निक्षेप पनि ८।६६ प्रतिशत अर्थात् ४० अर्बले बढेर ५ खर्ब २ अर्ब ११ करोड पुगेको छ ।
व्यवसाय बढाएपनि बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । गएको आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३।५७ प्रतिशतमा झरेको हो । जसले व्यवसाय विस्तार गर्दा पनि बैंकको खुद ब्याज आम्दानी ३।९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाखमा झरेको हो । यस्तै खुद फि तथा कमिसन आम्दानी २ अर्ब २२ करोड ६५ लाखबाट बढेर २ अर्ब २७ करोड ७२ लाख पुगेको हो ।
बैंकको नेट ट्रेडिङ आम्दानी ३९ करोड ४२ लाखबाट बढेर ५४ करोड ६८ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ४१ करोड ९९ लाख रुपैयाँ पुुगेपनि कुल सञ्चालन आम्दानी भने १५ अर्ब ३२ करोड ८६ लाख रुपैयाँबाट घटेर १५ अर्ब २६ करोड ५४ लाखमा घटेको हो ।
निष्कृय कर्जा बढेपसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ । गएकाे आर्थिक वर्षको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि ३ अर्ब २३ करोड ५९ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटेपनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंककको खुद सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाखबाट बढेर ७ अर्ब २२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
बैंकको नाफासँगै वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । चालू आर्थिक वर्षको चैतसम्म २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.६८ प्रतिशत छ ।
बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसाबाट बढेर २५ रुपैयाँ ५ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १९.४४ गुणा छ ।
चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ९.१२ प्रतिशत सहित पूँजीकोष अनुपात ११.७२ प्रतिशत छ । त्यस्तै निष्कृय कर्जा अनुपात ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८२.३१ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ५.९७ प्रतिशत छ ।