
करिब ६० लाख नेपाली ज्यादै गरिब छन्, उनीहरु गरिबीमै जन्मिन्छन् गरिबीमै हुर्किएर गरिबीमै मर्न विवश छन्। लामो समयदेखि राज्य सत्ताको विभेदकारी विकासले उनीहरु सधै विकासको पीँधमै अस्तित्वका लागि भिडिरहेका हुन्। उनै गरिबहरुको नाउँमा राजनीति गर्नेहरुको उल्टो विकासको मोडलले आज डाँडै भरी भ्यूटावर त बनायो। तर, ती भ्यूटावरबाट गरिबहरुको आँसु मात्रै देखिन्छ।

देश खोज्न विदेश जान ताँती लागेका युवाहरुको दृष्य मात्रै देखिन्छ। दलाल र माफियाले उधिनेको नदी खोला किनारादेखि उर्वर खेतीहरु देखिन्छन्। घर रित्तो बनाएर, खेत बँझाएर शहरहुँदै विदेशतिर पलायन हुनेहरुको लर्काे थामिनक्नु छ। यस्तो नियतीको कारक असफल विकास मोडल र अक्षम नेता नै हुन्।नेपाली माटो र धरातल विरोधी शिक्षा नीति अर्काे कारण हो। हाम्रै पौरख, प्रविधि, सीप र जाँगरको समिश्रणमा देश बनाउ सकिन्छ,तर, शिक्षा नीति नै त्यस्तै छ, जसले हाम्रो सभ्यता र संस्कृतिको विध्वंश गरिरहेको छ, भन्छन्, डाक्टर स्वामी केशबानन्द।उनी भन्छन्, “हावर्ड विश्वविद्यालय अध्ययन गरेको मात्रै शिक्षा विज्ञ, अर्थ विज्ञ भन्ने भ्रम फैलाइएको छ, जसले विदेशी माटोमा पढेर विदेशी स्वार्थमा नेपालमा उतैको विकास मोडेल जबरजस्ती लादेका छन्, उनैबाट विकासको नयाँ सोँच खोजिनु गलत हो । हाम्रो इतिहास, सभ्यता ,संस्कृति, धर्म परम्परा नै नचिनेको मान्छेले हाम्रो विकास गर्दछ भन्ने भ्रमबाट मुुक्त हुन जरुरी छ। ”

करिब ३४ वर्षमा पनि हाम्रो विकासको हालत दक्षिण एशीयामै पुछारको सूचीमा छ। अफगानीस्तानले हामीलाई उछिन्दै ठूला ठूला मेगा परियोजनाहरु सञ्चालन गरिरहेको छ। हामी कहाँ लोकतन्त्र भएपनि विकास सुशासन शून्य छ। जसको परिणाम आज व्यवस्थामाथि नै औला उठ्न थालेको हो । यस्तो हुनुको कारण टाउको दुख्दा नाइटोमा औषधि दल्ने हाम्रो विकासको मोडेल हो ।जनतालाई विद्यालय, शुद्ध पिउने पानी, सुरँिक्षत आवास,सुरक्षित र सुविधायुक्त सडकको खाँचो छ र थियो ।तर, शासकहरुको लहडी विकास यस्तो छकी, खेतका बीचमै आकाश छुने भ्यूटावर बनाउँछन्, त्यस्को गज्जबको उदाहरण हो, झापा दमकमा उभ्याइएको भ्यूटावर। तत्कालीन प्रधानमन्त्री ओलीको विशेष रुची र योजनामा करिब दुइ अर्बको भ्यूटावर निर्माण गरिएको हो।

हाल वर्षात पछि डुबानमा रहेको यस भ्यूटावरको वरिपरि गरिब तथा सुकुम्बासीहरुको बस्ती छ। उनीहरुलाई बिहान के खाउँ बेलुकी के खाउँको अवस्था छ। तर, घर आँगनकै अघि सरकारले झण्डै दुइ अर्बको भ्यूटावर बनाइदिएको छ। धनीहरुका लागि त्यो स्वर्गै होला। तर, टावर आसपासका गरिबहरुका लागि नर्क हो । यद्यपि यो तथ्य स्वीकार्दैनन्, दलका नेता र तिनका कार्यकर्ताले। उनीहरुको तर्क हुन्छ, भ्यूटावर विकासको पूर्वाधार हो।तर, उनीहरुको तर्क विकासको पूर्वाधार भएपनि यो प्राथमिकताको विषय भने हुदै होइन। जनताको आधारभूत आवस्यकता समेत परिपूर्ति नभइरहेको बेलाम यस्ता बालहठ र लहडी विकास जनविरोधी नै हुन्।यस्तै अर्काे भ्यूटावर छ, बाँकेको कोहलपुरमा करिब ५० करोडको लागतमा बनाइएको यस भ्यूटावरको पनि कुनै उपादेयता देखिन्न।तर, स्थानीय सरकारले नगरका गरिबहरुको आयआर्जन र जीवन रुपमान्तरणमा लगानी गरेन, बरु यस्ता गगनचुम्बी भ्यूटावर बनाएर विकासको नयाँ मोडल देखाएको हो ।

उ पारीका ती अग्ला अग्ला भ्यूटावरहरु, अनि त्यसको फेदीमा रहेका गरिबी अभाव र विपन्नताको शिकार भएका रित्तो बस्ती। जहाँ हर दिन निस्किन्छ, युवाहरुको ताँती। त्यही अग्ला भ्यूटावर हेर्दै विरक्तिन बाध्य छन्। गाउँमा चाहिएको शिक्षा स्वास्थ्य, रोजगार र उत्पादन थियो, शासकहरुले घर अघि आकाश छुने भ्यूटावर बनाए । देशका डाँडाभरी भ्यूटारले छोपिएका र शासकहरु भ्रष्टाचारले पोतिएका छन्। राज्य श्रोतको दोहन गरेर पुस्तौलाई पुगने सम्पत्ति जोडेका छन्, जनता नारकीय जीवन जिउन बाध्य छन् ।यीमाथिका भ्यूटावरहरु प्रतिनिधिमूलक मात्रै हुन्, एक स्थानीय तह एक भ्यूटावर छ, देशभर। भ्यूटावर बनाउनु नै विकासको मुल सुत्र हो भन्ने भ्रमबाट शिक्षित दिक्षित स्थानीय सरकारका प्रमुखहरुले संघीय, प्रदेश र स्थानीय सरकारकै लगानीमा भ्यूटावर बनाएका हुन्। देशभर यस्ता भ्यूटावरमा डेढ खर्ब भन्दा बढी खर्च भैसकेको आँकलन गरिएको छ। यस्ता भ्यूटावरको कुनै उपादयेता देखिन्न। यी भ्यूटावर हाम्रो संस्कृति परम्परा र मूल्यमान्यतासंग पनि कुनै साइनो र सम्बन्ध छैन। यी टावरबाट गाउँको गरिबी र अभाव बाहेक अन्य कुनै दृष्य देखिन्न । पर्यटन प्रवद्र्धन गर्न भन्दै अर्बाै लगानी गरेर सिमेन्टका संंरचना बनाइएपनि तिनीहरुबाट कुनै आर्थिक लाभ लिएको पनि पाइन्न। भ्यूटावरमा गरिएको लगानीले देशभर उद्योग खोलेको भएपनि करिब एक हजार युवाले प्रत्यक्ष रोजगारी पाउन सक्थे भने, गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनको वृद्धि हुन सक्ने अर्थविद्हरुको भनाइ छ।

राज्यसत्ताको चरम दुरुपयोग गर्दै मुलुक दोहन गर्ने उदेश्यले यस्ता संरचनाहरु बनाइएका हुन्। यी संरचनाले ती ६० लाख गरिबहरुको कहिल्यै उत्थान गर्ने पनि देखिन्न। बरु यस्ता संरचना बनाएर नेता , कर्मचारी र ठेकेदार मोटाएका छन्। सुन्दर पहाडहरु यस्ता संरचनाले कूरप भएका छन्। भने, त्यहाँ बस्ने गरिब विपन्न र असाहयका लागि यी भ्यूटावर नर्कका बिम्ब हुन्। जनता सिटामल र जीवनजल पाउन मुश्किल छ। जनताको दर्दपूर्ण अवस्थालाई नजरअन्दाज गर्दै देशभर भ्यूटावर बनाएर शासकहरुले कीर्तिमान राखेको गफ चुटिरहेका छन्।