२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

आज र भाेलि वर्षाकाे सम्भावना: माैसम विज्ञान विभाग


१७ कार्तिक २०८१, शनिबार  



जल तथा माैसम विज्ञान विभाग ,माैसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज शनिबार र भाेलि आईतबार हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको थियोे । 

मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाईटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए ।

‘आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,’ उनले भने, ‘तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।’

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : ०९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित